तत्कालीन प्रधानमन्त्री ओलीले शिलान्यास गरेको सडक कालोपत्रे योजना लथालिङ्ग

तत्कालीन प्रधानमन्त्री ओलीले शिलान्यास गरेको सडक कालोपत्रे योजना लथालिङ्ग

डोटी : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको डोटी र कैलालीमा पर्ने सडक कालोपत्रे योजना लथालिङ्ग अवस्थामा रहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल सरकारका प्रधानमन्त्री भएका बेला २०७५ फागुन ७ गतेका दिन डोटीको बिपीनगरमा आएर सहजपुर–विपीनगर–बोगटान–दिपायल सडक खण्ड कालोपत्रे गर्ने भनेर शिलान्यास गरेका थियो। तर उक्त सडक कालोपत्रे योजना हालको अवस्थासम्म आइपुग्दा शिलान्यासमा मात्रै सिमित रहेको छ।

 
कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका–५ गाणेबाँजसम्म ५० किलोमिटर सडक ३० महिनाभित्रै कालोपत्रे गर्ने भनेर पिआरएल कुमार जेभी निर्माण कम्पनीसंग सम्झौता समेत भइसकेको थियो। तर यहि फागुन ७ गते तीन वर्ष (३६ महिना) पूरा भएपनि हालसम्म साढे चार किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ। 

सडकमा पर्ने रुख काट्ने आदेश नपाएकाले, बेमौसमी वर्षा तथा कोरानाका कारण समयमा काम गर्न नसकिएको सहजपुर, बोगटान, दिपायल सडक आयोजनाका आयोजना प्रमुख उज्वल श्रेष्टले बताए। ‘२७÷२८ महिनापछि मात्रै रुख काट्ने आदेश आयो’, श्रेष्ठले भने, ‘उक्त योजना भित्र चुरे क्षेत्र पर्ने भएकाले बेमौसमी वर्षाको समस्या झेलिराख्नु परेको छ।’ २०७९ असारसम्म योजनाको म्याद थप भएको र असारसम्म ३३ किलोमिटर सडक कालोपत्रे हुने उनले दाबी गरे। दोस्रो म्याद थपका लागि समेत सिफारिस भइसकेको उनले बताए।

सहजपुरबाट साढे चार किलोमिटर कालोपत्रे भएको र १३ किलोमिटर ग्रावेल (सब बेश) भइसकेको योजना सुपरभिजन कन्सलटेन्टका पुष्प भट्टले जानकारी दिए। ‘५४ प्रतिशत भौतिक प्रगती भइसकेको र ४८ प्रतिशत आर्थिक प्रगती भइसकेको छ’, भट्टले भने, ‘२०७९ माघसम्मको समय थपका लागि फेरी सिफारिस गरेर पठाएका छौं, आउँदो माघसम्म काम पुरा हुन्छ।’ ५० किलोमिटर सडक कालोपत्रे योजना करिब २ अर्ब लागतमा भइरहेको उनले जानकारी दिए।

२०४४ सालदेखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्रयाक खोल्ने काम सुरु भएको थियो। ट्रयाक खोल्न सुरु भएको ३४ वर्ष पूरा हुँदा पनि कालोपत्रे भने साढे चार किलोमिटर मात्रै भएको छ। उक्त सडक कैलालीको सहजपुरबाट डोटीको बिपीनगर, बोगटान हुँदै दिपायलसम्म जोडिएको छ। सडक संचालन भएको वर्षौ भइसक्दासमेत कालोपत्रे नहुँदा स्थानीयले समस्या झेल्दै आइरहेका छन्। ‘तत्कालिन समयमा प्रधानमन्त्री आफै आएर शिलान्यास गरेकाले अब सडक पिच हुने भयो भनेर साह्रै खुसी भएका थियौं’, स्थानीय तेजबहादुर मौनीले भने, ‘तर तीन वर्ष भइसक्दासमेत कुनै काम नभएकाले अब पिचनै हुँदैनकी भन्ने चिन्ता बढेको छ।’ 

सडक कालोपत्रेको काम हुन छोडेर सडक आयोजना कार्यालय र ठेकेदार मिलेर पैंसा खाने काममात्रै भइरहेको उनले गुनासो गरे। समयमा काम नहुनु दुखद भएको भन्दै सम्बन्धित सबैलाई निगरायनीमा राख्नुपर्ने मौनीले बताए। अब सम्बन्धित सबै स्थानीयले चासो देखाएर काम गर्ने निकायलाई घचघच्याउनु पर्ने स्थानीय भिम बहादुर बोहराले बताए।

सडक कालोपत्रे गर्दा धेरै समस्या देखिएको पिआरएल कुमार जेभी निर्माण कम्पनीका कन्ट्रयाक्ट मेनेजर तेज भट्टले बताए। ‘करिब साढे दुई वर्षसम्म सडक क्षेत्रका रुख कटानको आदेशनै दिइएको थिएन’, भट्टले भने, ‘तत्कालिन वनमन्त्री प्रेम आलेमगर हुँदा रुख काट्ने आदेश दिएको र अहिले रुख काट्ने काम पुरा भइसकेको छ, अब काम तिब्रगतीमा अगाडि बढ्छ।’ बमौसमी बर्षाका कारण पनि काममा ढीलाई भइरहेको उनले बताए। काम हुँदैगर्दा एक्कासी पर्ने बर्षाले संरचनानै भत्काउने समस्याले काममा ढीलाई भइरहेको निर्माण कम्पनीले जनाएको छ।

२०७८ असारसम्म काम सक्नेगरी उक्त ५० किलोमिटर सडक कालोपत्रे योजनाको सम्झौता २०७५ मंसिर २२ गते पिआरएल कुमार जेभीसँग भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.