पशुपतिमा भक्तसागर
काठमाडौं : एकनास बजिरहने शंखघण्टको धुन। ‘जय भोले’, ‘जय शम्भो’ र ‘हरहर महादेव’ जस्ता शिवलाई सम्बोधन गर्ने भजन–कीर्तन। मंगलबार देखिने पशुपतिनाथ मन्दिर क्षेत्रको वातावरणले जो कोहीलाई मन्त्रमुग्ध बनाउँथ्यो। महाशिवरात्री पर्वको विशेष महत्त्व झल्काउँथ्यो। दुई वर्षसम्म सुनसान जस्तै बनेको पाशुपत क्षेत्र यो वर्ष महाशिवरात्री पर्वमा रंगियो। नेपालका विभिन्न स्थानसहित भारतबाट आएका लाखौं भक्तले निर्वाध पूजा र दर्शन गर्न पाए। मात्रै समस्या भीड छिचोल्नको थियो। भीडमा उभिँदाको समयलाई पनि शंखघण्टको ध्वनिले भुल्याउँथ्यो।
महाशिवरात्रि आउन एकसाता अघिबाटै चहलपहल बढेको पशुपतिमा मंगलबार मात्रै १० लाख बढीले दर्शन, अवलोकन र पूजा गरेको पशुपति क्षेत्रविकास कोषले जनाएको छ। सुरक्षा उपसमिति संयोजकसमेत रहेका कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कोषले १० लाख अनुमान गरेकोमा सोचेभन्दा बढी आएको बताए। उनका अनुसार दुई वर्ष अघिको महाशिवरात्रीमा करिब ८ लाखले पशुपतिको दर्शन गरेका थिए। यहाँ नेपालको विभिन्न स्थानसहित भारतबाट सबैभन्दा तीर्थयात्री आउँछन्। साधुसन्तको पनि भीड नै लाग्छ।
कोरोना संक्रमण रोक्न मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्दै दर्शन र पूजाको व्यवस्था मिलाइएकाले संक्रमणको जोखिम पनि कम रहेको कोषको दाबी थियो। लामो समयपछि दर्शन गर्न पाउँदा तीर्थयात्री पनि हर्षित भेटिए। भक्तजनको भोलेबाबाप्रति अगाध आस्था देखियो। हिन्दू धर्मावलम्बीसँगै सम्पूर्ण सनातनीको आस्थाको केन्द्र भएर पशुपतिमा भक्तजनको घुइँचो लागेको पशुपति पुग्नेहरूको बुझाइ छ।
भीडमा नै भेटिइन् बाग्लुङकी रीता सापकोटा। उनी भन्छिन्, ‘मेरो ध्यान अन्त गएन। मन्दिरभित्र र बाहिर पनि यति धेरै सजावट पाएँ कि फूल देखेँ फूलमै रमाउँजस्तो, भित्तामा कोरिएका चित्रले उस्तै मन तान्यो। साधुसन्त र जोगीसँग भक्तजनले गरेको रमाइलो उस्तै।’ काठमाडौं नैकापका पुरुषोत्तम सिग्देलले पनि आनन्दसँग पशुपतिनाथको दर्शन गर्न पाएको बताए। ‘भीड छ तर यत्तिको व्यवस्थित नै भन्नुपर्छ। ठाउँ–ठाउँमा स्वास्थ्य सुविधा, खानेपानी, मास्क आदि वितरण गरिएको थियो।’ उनले नेपाली जत्तिकै मात्रामा भारतीय पनि आएकोमा भन्दै उनले नेपाल चिनाउने पशुपतिनाथ हुन् भनेर गर्वसमेत गरे। थपे, ‘सायद महाशिवरात्रि, तीज र बालाचतुर्दशीमा पनि यत्तिकै भीडभाड हुन्छ। तर, पनि यो महाशिवरात्रि अहिलेसम्मकै व्यवस्थित लाग्यो।’
कोषका सदस्यसचिव डा. मिलनकुमार थापा महाशिवरात्रिमा कोषले सुरक्षा, दर्शन, साधुसन्त, सरसफाइ, मेलाबजार, स्वयंसेवा, स्वास्थ्य आदि १० वटा उपसमिति बनाएर १५ दिनदेखि सबै अहोरात्र खट्दा यस वर्ष व्यवस्थित भएको बताए। उनले भने, ‘अध्यात्मभित्र अदृश्य शक्ति हुँदोरहेछ भन्ने पुष्टि आज पशुपतिनाथमा देखिएको भीड र रौनकले प्रमाणित गरिदिएको छ।’
संस्कृतिमन्त्री प्रेम आलेले दिएको निर्देशनअनुसार पाशुपत क्षेत्र सजाएको र व्यवस्थित गरेको थापाले बताए। ‘नेपालभरका मात्र होइन, खासगरी भारतका भक्तजनको उल्लेख्य उपस्थितिले पनि हौसला बढाएको छ। सँगै मलेसिया, मौरिसस, श्रीलंकाजस्ता देशबाट पनि भक्तजन आउनुले नेपालकै गर्व बढाएको पाएँ’, उनले थपे।
शिवरात्री पर्वका अवसरमा काठमाडौंको पाशुपत क्षेत्रमा विशेष मेला पनि लागेको थियो। भक्तजनहरूलाई दर्शनको व्यवस्थापनका लागि सम्पूर्ण व्यवस्था मिलाइएको थियो। पूजा र दर्शनका लागि पशुपतिनाथ मन्दिरका तीनवटा द्वाराहरू खुला गरिएको थियो। महाशिवरात्रिका लागि मंगलबार बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो। पशुपतिनाथको नियमित रूपमा दर्शन गर्ने भक्तजनले बिहान ७ बजेअघि नै दर्शन गरिसकेका थिए। बिहान ८ बजेपछि भने लाइन बढ्न थालेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। मध्याह्नसम्म आइपुग्दा पूर्वतर्फको लाइन गुह्येश्वरी मन्दिरनजिक, उत्तरतर्फको लाइन चाबहिल चोकमाथि, पश्चिमतर्फको लाइन जयबागेश्वरी घुमेर गौशाला नजिक र दक्षिणतर्फको लाइन सिनामंगल चोकसम्मै पुगेको थियो।
कोषका कर्मचारीले भक्तजनले छिट्टोमा आधा घन्टामै पशुपतिनाथको दर्शन गरेको र बढीमा अढाई घन्टासम्म लागेको जानकारी दिए। भक्तजनले भने मध्याह्न भीड बढ्दै गएपछि बढीमा चार घन्टासम्म लाइनमा रहनु परेको थियो। पूजा गर्नका लागि भारतको गोरखपुरबाट आएका राजेश शर्मा चार वर्षअघि पनि पशुपति दर्शनका लागि आएका थिए। यसपालि भने पशुपतिमा पनि भारतका मन्दिरमा जस्तै भीड भएको उनले बताए। ‘बद्रीनाथ, केदारनाथ जत्तिकै भीड भयो यसपटकको महाशिवरात्रिमा। तर, उताका मन्दिरमा यति सजिलै दर्शन गर्न पाइँदैन। निकै हम्मे हुन्छ। यहाँ दुई घन्टामा जति लामो लाइनमा भए पनि पालो आएको छ। लाइनमा पनि पानी फलफूल बाँडिराखेको पाएँ। कुनै कष्ट भएन।’
सामाजिक संघ–संस्था स्काउटलगायतका पाँच हजार जना स्वस्र्फुत सेवाका लागि स्वयंसेवामा खटिएको सुरक्षा उपसमिति संयोजकसमेत रहेका कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए। पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क रूपमा पिउने पानी, भोजन, गुर्जो चियासहित सेवा दिइएको थियो। पशुपति क्षेत्रका १० स्थानबाट निःशुल्क गुर्जो चिया र धुलो वितरण गरिरहेको भेटियो। राममन्दिर, १५ शिवालय, मृगस्थली, तिलगंगा, हंसमण्डप, उमाकुण्ड, गुह्येश्वरी, गौरीघाट, भुवनेश्वरी र मित्रपार्क क्षेत्रमा भक्तजन विशेष रूपमा रमाएका थिए।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ। झापाको दमकबाट दुई छोरीलाई दर्शन गराउन आएकी सविता शिवाकोटीलाई भारतको प्रख्यात मन्दिर दर्शन गर्न गएजत्तिकै लागेको बताइन्। उनले भनिन्, ‘दुई वर्षपछि पशुपति आउँदा कत्ति धेरै व्यवस्थित भएछ, सरप्राइज नै पाएजस्तो भयो।
कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले कोरोना संक्रमणका बाबजुद महाशिवरात्रिमा भीडभाड हुनु स्वाभाविक भएको बताए। उनले भने, ‘अब कोषले भक्तजनको मनोविज्ञान बुझेर पाशुपत क्षेत्रलाई अझै आकर्षक बनाउनुपर्छ, सेवासुविधा थप्दै जानुपर्छ। यसका लागि दोस्रो गुरुयोजनालाई कार्यान्वयनमा लैजानुपर्छ।’ उनका अनुसार, महासमुद्ररूपी शिवजी नै एक अखण्ड परतत्त्व हुन्, उनी सर्वव्यापक र सर्वशक्तिमान हुन्। टण्डनले आशुतोष भोलेबाबाको अपारशक्तिले भक्तजनलाई लोभ्याएको बताए। दर्शनार्थीको भीड थेग्न नसकेर कोषले तिलगंगा राम मन्दिरतर्फबाट समेत लाइनको व्यवस्था गरेको थियो। पशुपतिनाथ मन्दिरमा आज चारै प्रहर विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय नियम छ।
महाशिवरात्रिमा भारतीय नागरिकसमेत गरी करिब चार हजार साधुसन्त र जोगी जम्मा भएको कोषको भनाइ छ। पशुपतिनाथको दर्शन गर्नका लागि मास्क र सेनिटाइजर अनिवार्य गरिएको थियो।
साँझ सवा चार बजे राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथ पुगेकी थिइन्। उनले पूजाअर्चना गरी फर्किएपछि साढे चार बजे उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पुगेका थिए। राष्ट्रपतिसँग संस्कृतिमन्त्री प्रेम आले र संस्कृतिसचिव पनि पुगेका थिए। पाँच बजे पूर्वराजा ज्ञानेन्द्र पनि पशुपतिनाथ पुगेर पूजाआजा गरेका थिए।
शिवलाई ‘महा’ उपमा
चार रात्रिमध्ये शिवरात्रि विशेष मानिन्छ। वैदिक धर्ममा मोह, काल, सुख र शिव गरी चार रात्रिको महत्त्व विशेष ढंगले व्याख्या गरेको पाइन्छ। चारवटै रात्रिमा विभिन्न देवी–देवता विशेषको पूजा हुन्छ। मोहरात्रिमा कृष्ण, कालरात्रिमा नवदुर्गा, सुखरात्रिमा लक्ष्मी र शिवरात्रिमा शिवको पूजा गरिन्छ। शिवरात्रिलाई भने सबैभन्दा बढी महत्त्व दिएको पाइन्छ। त्यसैले शिवरात्रिलाई ‘महाशिवरात्रि’ भन्ने गरिएको हो।
प्रा. चेतोनाथ गौतम संस्कृतिविद् एवं पूर्वसदस्यसचिव, पशुपति क्षेत्र विकास कोष
शिवजीलाई मात्र ‘महा’ उपमा दिएको छ। उनको रात्रि महारात्रि भयो। महादेव महारुद्र पनि उनैलाई भनिन्छ। ‘महा’ अर्थात् सबैभन्दा ठूलो र विशेष। निर्गुण निराकार परब्रह्म तत्व साकार रूपमा प्रकट भएपछि ब्रह्मा र विष्णुले पूजा गरेको दिन हो। त्यसपछि शिवको व्रत पूजाअर्चना चलेको हो भनी शिवमहापुराणमा उल्लेख छ। ब्रतमा ठूलो व्रत मानिन्छ शिवरात्रिको व्रत। देवतामा पनि शिव महादेव हुनुको महत्त्व छ। उक्त ब्रह्मतत्व संसारको सृष्टि स्थिति र सम्हारको रुपमा छ।
सृष्टि गर्न रजोगुणका माध्यमबाट ब्रह्माका रूपमा शिव साकार भए। विष्णुका रूपमा सत्वगुणका माध्यमबाट संसारको पालना गर्न साकार भए। तमोगुणका रुपमा रुद्रले संसारका प्राणीहरूको सम्हार गर्ने भए। शिवका यी तीनबाहेक दुईवटा काम छन्। तिरोभाव शिवले मात्र गर्छन्। अर्थात् मान्छे मर्नु तिरोभाव भयो। यसपछि शिवको अनुग्रह वा कृपाबाट भएपछि मात्र संसारबाट प्राणी मुक्त हुन्छ। पाँचौं काम अनुग्रह हो। तिरोभाव र अनुग्रह शिवले मात्र गर्न सक्छन् भनी बताइएको छ।
पञ्चकृत्यमध्ये तीन काम ब्रह्मा, विष्णु महेश्वरलाई दिए। दुईवटा काम आफूले लिए। शिव देवादिदेव महादेवका रुपमा प्रतिष्ठित भए। ब्रह्मा विष्णु र महेश्वरले गर्न नसकेका काम शिवले गर्छन्। प्रत्येक महिनाको कृष्ण पक्षको चतुर्दशी भनेको शिवरात्रि हो। जसमा शिवको आराधना गर्नुपर्छ। फागुन महिनाको कृष्ण पक्षको चतुर्दशीचाहिँ महाशिवरात्रि हो। यसमा सबैभन्दा पहिले ब्रह्मा र विष्णुले पूजा गरे। त्यसपछि इन्द्र, गन्दर्भ, किन्नर, यक्ष, भूतप्रेत, पिशाच, राक्षस, मानव सबैले गर्न थाले।
तस्बिर : सरोज बैजु/पशुपतिनाथ