त्रिवि छात्रबासको बिजोग: भर्ना एउटाको, बस्ने अर्कै
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको छात्रबास व्यवस्थित नभएको पाइएको छ। जिम्मेवार निकायले बेवास्ता गर्दा त्रिविको छात्रबास अस्तव्यस्त बन्दै गएको छ। छात्रबासमा न भौतिक पूर्वाधार पर्याप्त छन्, न खानेपानीको उचित सुविधा छ। शौचालय पनि राम्रो छैन। सुरक्षाको दृष्टिकोणले पनि छात्रबास अस्तव्यस्त देखिन्छ।
छात्रबास वरपर तारबार नहुँदा सुरक्षामा प्रश्न उठ्ने गरेको छ। समग्रमा भन्ने हो भने छात्रबास गौचरणमा परिणत भएको देखिन्छ। त्यहाँका कर्मचारीहरु नै बजेट अभावमा छात्रबासको अवस्था नाजुक भएको बताउँछन्। ‘छात्रबास रंगरोगन गर्नुपर्ने तर बजेटको अभाव छ। तारबार नहुँदा जोकोही आएर बसिदिन्छन्। झ्याल ढोकाको पनि बिजोग छ। पानी बोकेर ल्याउनुपर्ने अवस्था छ। कसैले वास्तै गर्दैनन्, भने पनि सुन्दैन,' ती कर्मचारीले भने।
छात्रबास व्यवस्थित गर्न विश्वविद्यालयले पनि पर्याप्त बजेट नछुट्याएको आरोप लाग्ने गरेको छ। कुनै समय छात्रबासबाटै कार्यालय सञ्चालन हुन्थ्यो। तर, अहिले त्रिवि प्रिन्सिपल कार्यालयबाट छात्रबास सञ्चालन हुँदै आएको छ। छात्रबास व्यवस्थित नहुँदा त्यहाँ बस्ने विद्यार्थीहरु धेरै मारमा परेका छन्। छात्रबासभित्र बस्ने वातावरण नै नभएको उनीहरुको गुनासो छ।
त्रिवि अखिल क्रान्तिकारीका इन्चार्ज अनिल केसीले छात्रबास व्यवस्थित बनाउनका लागि पटक-पटक आग्रह गरिए पनि सुनुवाई नभएको बताए। ‘छात्रबासका समस्या समाधानका लागि हामीले प्रिन्सिपल कार्यालयलाई मौखिकरुपमा ध्यानाकर्षण गरायौं। सरसफाई र सुरक्षाको माग गर्यौं। तर, उहाँहरुले बहानाबाजी मात्रै गर्नुहुन्छ,’ उनले अन्नपूर्णसँग भने।
भर्ना हुने एउटा, बस्ने अर्कै
छात्रबासमा भर्ना भएकाहरुले आफू भर्ना भएर अन्य विद्यार्थीहरुलाई राख्ने गरेको पाइएको छ। छात्रबासमा नाम नै नभएक विद्यार्थीहरु पनि बस्ने गरेको ती कर्मचारीले बताए। 'एउटाको भर्नामा अर्कै व्यक्ति बसेको आशंका लागेपछि बेला बेलामा अनुगमन हुन्छ। अनुगमनमा जाँदा ताल्चा लगाएर हिँड्छन्,’ उनले भने।
विश्वद्यालयको छात्रबास ब्लक ‘क’, ‘ग’ र ‘घ’ मा विद्यार्थीहरु बस्दै आएका छन् । ‘ख’ ब्लक भने जीर्ण अवस्थामा छ। छात्रबास कार्यालयका अनुसार ‘क’ र ‘ग’ ब्लकमा स्नातकोत्तर तहको दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु बस्दै आएका छन्। ‘घ’ ब्लकमा स्नातकोत्तर तहमा नयाँ भर्ना भएका विद्यार्थीहरु बस्छन्।
होस्टेल बस्नको लागि पिछडिएको जिल्ला हुनुपर्ने र स्नातक तहमा प्राप्त पूर्णाङकलाई आधार लिइन्छ। प्रत्येक डिपार्टमेन्टबाट विद्यार्थीहरु छनौट गरिन्छन्। त्रिबि छात्रबास कार्यालयका अनुसार नाम निस्किएमा वर्षको ४ हजार दुई सय २४ रुपैँया तिर्नुपर्ने प्रावधान छ। प्रत्येक वर्ष होस्टेल बस्नका लागि सार्वजनिक सूचना आह्वान गर्ने गरिएको र वर्षमा ८० देखि ८५ जनालाई छात्रबासमा बस्ने व्यवस्था मिलाइएको छ। हालः छात्रबासमा दुई सय विद्यार्थीहरु रहेको त्रिवि छात्रबास कार्यालयले जनाएको छ।
कर्मचारी अभाव, कार्यकक्ष अस्तव्यस्त
कुनै समय छात्रबासलाई पूर्ण अख्तियारीसहित कार्यालय नै बनाएर होस्टेलका गतिविधिहरु सञ्चालन हुन्थ्यो। २४ जना कर्मचारी रहेको छात्रबास अहिले ५ जनाको भरमा चलिरहेको छ, त्यो पनि प्रिन्सिपल कार्यालयका कर्मचारीलाई ल्याएर काम चलाइएको छ। वि.सं २०६८ अघि वार्डेन,शाखा अधिकृत, सुब्बा, कार्यालय सहयोगी, स्वीपर, पलम्बर, इलेक्ट्रिसियन, माली लगायतका पदमा कर्मचारी थिए। तर, अहिले दरबन्दी प्राप्त कर्मचारी नै छैनन्। वार्डेन एक जना, सुब्बा एक जना र स्वीपर २ जनाको भरमा छात्रबास चलिरहेको छ।
ती सबै प्रिन्सीपल कार्यालयबाट तानिएका कर्मचारीहरु हुन्। कोही कर्मचारीको अवकास भए नयाँ दरबन्दी खोलिँदैन। छात्रबासका वार्डेन नारायणप्रसाद तिमल्सेनाले छात्रबासलाई व्यवस्थित गराउन लागिपरेको बताए। ‘खानेपानीका लागि इनार पनि बनाइँदैछ। सुरक्षाका लागि पोस्ट बस्दैछ। हामी छात्रबासलाई व्यवस्थित बनाउँदैछौं।
के छ छात्रबासको इतिहास?
त्रिवि छात्रबास विसं. २०२६ सालमा स्थापना भएको हो। तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहले २०२६ साउन ८ गते स्वर्गीय श्री ५ त्रिभुवन वीर विक्रम शाहको जन्म जयन्तीको उपलक्षमा तत्कालीन श्री ५ सरकार र भारतीय सहयोग मिशनको संयुक्त सहयोगबाट छात्रबासको उद्घाटन भएको हो। छात्रबासमा २०४७ सालसम्म खानापनि गराइन्थ्यो। २ रुपैँया ५० पैसामा खाना खुवाइँदै आएकोमा ३ रुपैँया पुर्याएपछि त्यतिबेला विद्यार्थीले चर्को विरोध गरे। सो समयपछि विद्यार्थीहरुलाई छात्रबासमा खाना खुवाउन छोडियो।
प्रतिक्रिया दिनुहोस !