कसरी जोगाउने वन्यजन्तु ?

कसरी जोगाउने वन्यजन्तु ?

काठमाडौं : २०७७/७८ मा ३ सय ३३ वन्यजन्तुको मृत्यु अप्राकृतिक तवरले भएको छ। यो भनेको सडक दुर्घटना, चोरीसिकारी, नहरमा डुबेर, तारजाली, कुकुरको आक्रमणमा मरेकाको संख्या हो। प्रत्येक वर्ष यसरी सयौं वन्यजन्तु मरिरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकले देखाउँछ। अघिल्लो आर्थिक वर्ष दुर्घटनामा १ सय ३०, चोरीसिकारीमा ३१, नहरमा डुबेर २०, तारजालीमा परी १४, कुकुरको आक्रमणमा १ सय ६ वटा मरे। कारण नखुलेको १३ र अरू नै कारणबाट १९ वटा मरेको विभागको तथ्यांक छ।

दुर्घटनामा सबैभन्दा धेरै ४३ वटा चित्तल मरे। बँदेल १६, दुम्सी ९, अजिंगर ४, मलसाप्रो ५, नीर बिरालो ७ वटा दुर्घटनामा बिते। बाघ, गैंडा, अर्नालगायत अन्य एकभन्दा बढी संख्यामा मृत्यु भएको विभागले जनाएको छ। सुनसरी र  बर्दियामा दुईवटा हात्ती मरे। चोरीसिकारीमा पनि सबैभन्दा चित्तल नै ११ वटा परे। बँदेल ७, गैंडा ४, बाघ १, जरायो ३, झारल २, नाउर, दुम्सी, नीलगाईको संख्या एक/एक छ।
यो तथ्यांक राष्ट्रिय निकुञ्जको मातहतमा आएको ठाउँको सूचनाको आधारमा तय गरिएको हो। ‘स्थिति डरलाग्दो छ। साना जनावरको क्षति र मृत्यु यहाँ उल्लेख छैन’, वन तथा वातावरण मन्त्रालयका प्राविधिकतर्फका सहसचिव वेदप्रसाद ढकाल भन्छन्। 

वन्यजन्तु मृत्युको संख्या बढिरहेजस्तो देखिने बताउँछन्, विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल। यसका पछाडि विभिन्न कारण रहेको महानिर्देशक कँडेलको भनाइ छ। ‘पूर्वाधारको संख्या बढेको छ। मानिसको जनसंख्या बढ्दो छ। सवारी साधनको संख्या उस्तै बढेको छ’, महानिर्देशक कँडेल भन्छन्, ‘वन्यजन्तुको संख्या पनि बढेको छ। उनीहरूको वासस्थान विनाश भएको छ। मान्छेको अतिक्रमण उत्तिकै छ। जमिनको प्रयोग बढिरहेको छ। त्यसैले वन्यजन्तुका लागि जोखिम बढिरहेको छ।’ 

वनस्पति विभागका महानिर्देशक डा. बुद्धि पौडेल तथ्यांकमा देखिएको संख्या अत्यन्त कम्ती भएको बताउँछन्। ‘यो संख्याभन्दा धेरै पनि मरेको हुन सक्छ’, महानिर्देशक डा. पौडेल भन्छन्, ‘कतिपय अवस्थामा प्रशासनले पनि मृत्युका बारेमा बाहिर ल्याउँदैन।’

डा. पौडेलका अनुसार लाङटाङमा १८ देखि २० वटा रेड पान्डा मर्थे तर यो वर्ष ४० वटा मरे। भन्छन्, ‘यसले समस्या थप्न सक्छ। जहाँ पेट्रोलिङ हुँदैन त्यहाँ उनीहरूको मृत्यु धेरै भएको देखिएको छ। हिउँ चितुवा, मस्क डियर (सानो खालको मृग)को तथ्यांक पनि निकाल्न समस्या छ। यिनीहरू अत्यन्त लोपोन्मुख जनावरहरू हुन्।’ 

मन्त्रालयका सहसचिव ढकालका अनुसार समीक्षा अवधिमा निकुञ्जगत हिसाबमा हेर्दा सबैभन्दा धेरै दुर्घटना बर्दिया राष्ट्रिय निकुञ्जमा भएको देखिन्छ। त्यहाँ ४९ वन्यजन्तु दुर्घटनामा बिते। चोरीसिकारीमा १० वटा परे। दोस्रो धेरै दुर्घटना हुनेमा बाँके राष्ट्रिय निकुञ्ज पर्छ। त्यहाँ ४४ वटाको मृत्यु भयो। चोरीसिकारीमा ५ वटा परे। चितवन राष्ट्रिय निकुञ्जमा दुर्घटनामा १५ र चोरीसिकारीमा १२ वटा परे। 

पर्सा राष्ट्रिय निकुञ्जमा दुर्घटनामा ११ वटा बिते। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ९, कोसी वन्यजन्तु आरक्ष, लाङटाङ राष्ट्रिय निकुञ्जमा एक/एक वन्यजन्तुको मृत्यु भयो। ढोरपाटन सिकार आरक्ष क्षेत्रमा तीन वन्यजन्तुको चोरी भयो। 

विभागका अनुसार २ सय ४० वटाको मृत्यु भने प्राकृतिक रूपमा भएको छ। यो भनेको बिरामी भएर वा उमेर पुगेर मरेको संख्या हो। कतिपयको मृत्यु कसरी भयो भन्ने खुल्दैन। त्यसलाई पनि अप्राकृतिक मानिएको छ। पोस्टमार्टमका क्रममा कारण नखुलेकाहरूलाई पनि यसमै ‘अन्य कारण’का रूपमा वर्गीकरण गरिएको विभागका अधिकारी बताउँछन्। 

सरकारले सबै वन्यजन्तुलाई सुरक्षितको सूचीमा राखेको छ। कुनै पनि मार्न पाइन्न।

राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिले यसलाई गम्भीर रूपमा लिएको छ। समितिको हालै बसेको सातौं बैठक यही विषयमा केन्द्रित भएको थियो। 

०७६/७७ मा ५ सय ९१ वन्यजन्तु मरेकामा ४ सय ३७ वटाको कारण प्राकृतिक थियो। सडक दुर्घटनामा १ सय ८, चोरीसिकारीमा १६ वटा परे। ३० वटाको मृत्युको कारण खुलेन। ०७५/७६ मा ४ सय ९५ वन्यजन्तुको मृत्यु भयो। सडक दुर्घटनामा १ सय १९, चोरीसिकारीमा र तीनवटा परे। २ सय ६१ वटाको कारण खुलेको देखिँदैन। उक्त वर्ष २ सय ३५ वटाले अप्राकृतिक मृत्युवरण गरे।  ०७४/७५ मा ३ सय ९१ मध्ये दुर्घटनामा १ सय २४ वटा मरे। कुकुर/हुँडार/चिलको टोकाइबाट ४८, चितुवाको टोकाइबाट ४४, बाढी/घोलमा डुबेर २७, एकापसमा जुधेर २१, उपचारका क्रममा १३, संक्रमणबाट १०, बाघको आक्रमणबाट ८, मानव वन्यजन्तु द्वन्द्वका कारणले ६, नहरमा डुबेर ६ र प्राकृतिक कारणले ५७ वटाको मृत्यु भएको थियो। 

चितवनको भरतपुर महानगरपालिकामा हालै सडक विस्तारका क्रममा बनाइएको नालीछेउ खाल्डोमा फसेर मरेको अन्दाजी १२ वर्षको भाले गैंडा। तस्बिर : अनिल ढकाल

वन्यजन्तु विज्ञ डा. कञ्चन थापाका अनुसार कतिपय अवस्थामा ठूला बिपद्का घटनामा पनि वन्यजन्तुको धेरै मृत्यु भएको छ। ‘पहिला प्राकृतिक प्रकोपका घटनामा उनीहरू आफंै सुरक्षित ठाउँमा जान्छन् भन्ने बुझाइ थियो। तर, चितवनलगायत ठाउँमा बाढी आउँदा धेरै जनावर बगेका थिए। जुन तथ्यांकमा छैन। त्यस्तो अवस्थामा पनि तथ्यांकमा प्राकृतिक मृत्यु भएको उल्लेख गरिएको हुन्छ’, डा. थापा भन्छन्, ‘कतिपय अवस्थामा कसरी मरेको थाहै हुन्न। शरीर कुहिएको हुन्छ। प्राकृतिक मृत्यु भनेर लेखिन्छ।’ यस्तो अवस्थामा मानवीय अवरोध वा गोली लागेरै मरेको भए पनि कारण पत्ता लगाउन समस्या हुने डा. थापा बताउँछन्। 

उनका अनुसार राष्ट्रिय निकुन्जभित्रको कोर क्षेत्रबाट बाटो हुन्छ। जहाँ वन्यजन्तुको ओहोरदोहोर हुन्छ। ‘निकुञ्जका करिडोर र बफर जोनतिर थुप्रै जनावर मारिएका छन्।  त्यस्ता ठाउँमा पनि धेरै अप्राकृतिक मृत्यु भएको देखिन्छ’, उनी भन्छन्, ‘सरकारले सबै वन्यजन्तुलाई सुरक्षितको सूचीमा राखेको छ। कुनै पनि मार्न पाइन्न।’ एउटा मर्यो भने त्यसको असरले एकोलोजिकल ब्यालेन्स बिग्रिन्छ। नम्बर त घट्ने नै भयो।’
ढकालका अनुसार ठूला प्रजातिका वन्यजन्तुको मृत्युलाई ‘गम्भीर क्षति’ मानिन्छ। दुर्लभ वन्यजन्तु मरे त्यसको उक्त ठाउँको पहिचान र सौन्दर्य नै लोप हुने सम्भावना हुने उनी बताउँछन्। ‘बाघ मर्‍यो भने झनै ठूलो क्षति हुन्छ’, विभागका पूर्वप्रवक्तासमेत रहेका ढकाल भन्छन्, ‘समग्र इकोसिस्टमलाई व्यवस्थापन गर्ने जिम्मा बाघको हुन्छ। उसलाई इकोसिस्टम इन्जिनियर पनि भनिन्छ।’

ढकालका अनुसार बाघ अत्यन्तै बाठो जनावर हो। उसले मानवीय क्रियाकलाप हुने क्षेत्र रोज्दैन। ‘बलिया, सक्रिया बाघ बाहिर खासै आउँदैनन्’, ढकाल भन्छन्, ‘जंगलको कोर क्षेत्रमा बस्ने भएकाले बाघको अप्राकृतिक मृत्यु कमै हुन्छ। उनीहरू मान्छेलाई देख्नै चाहँदैनन्।’ तर, कमजोर, बुढो, बिरामी, घाइते बाघहरू बलियासँग जुध्न नसकेपछि कोरक्षेत्रबाट बाहिर निस्कन्छन्। त्यस्ता बाघहरू बस्तीतिर छिर्ने गर्छन्। ती प्रायः हरूवा बाघ हुन्छन्। त्यस्ताको चोरीसिकारी हुने संभावना पनि हुन्छ। 

राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले बुधबार बिहान नियन्त्रणमा लिएको बाघ। तस्बिर सौजन्य : सूर्य घर्ती मगर

मानिसले बनाएको संरचनामा परेर पनि धेरै वन्यजन्तुको मृत्यु भएको उनको भनाइ छ। ठूला जनावरले आक्रमण गर्ने क्रममा ज्यान जोगाउन तारबाहिर भाग्न पुगेका जनावर ठूलो संख्यामा बित्ने गर्छन्।  बाहिर पुगेपछि, सिकारी तथा कुकुरले मार्ने गरेका छन्। 

उनका अनुसार पूर्वबाट पश्चिमसम्म २ सय ५० किलोमिटर क्षेत्रमा वन्यजन्तुको ओहोरदोहोर हुन्छ। त्यस्ता क्षेत्रमा उनीहरूको अप्राकृतिक मृत्यु बढी भएको छ। त्यसैले वन्यजन्तुमैत्री पूर्वाधार बनाउने विषयमा छलफल भएको छ। मन्त्रालयले वन्यजन्तुमैत्री पूर्वाधार निर्देशिका दुई–तीन महिनाअघि मन्त्रिपरिषद्मा लगिएको जनाइएको छ।

वन्यजन्तु मृत्युको संख्या बढिरहेजस्तो देखिन्छ। यसका पछाडि विभिन्न कारण छन्। जसले जोखिम बढिरहेको छ । 
डा. रामचन्द्र कँडेल - महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

पहिला प्राकृतिक प्रकोपका घटनामा आफैं सुरक्षित ठाउँमा जान्छन् भन्ने थियो। तर, चितवनलगायत ठाउँमा बाढी आउँदा धेरै जनावर बगेका थिए। जुन तथ्यांकमा छैन । 
- डा. कञ्चन थापा, वन्यजन्तु विज्ञ

जनावरका लागि वातावरणमैत्री पूर्वाधार बनाउन मन्त्रालयले अन्य सरोकारवाला निकायसँग समन्वयको पहल थालेको हो। चितवनको रामनगरमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माणको एउटा सुरुवात भएको छ । नारायण बुटवलको बाटोमा पनि पाइलटिङको काम भइरहेको ढकालको भनाइ छ। ‘जनावरहरू भनेको एउटै पनि मासिनु हुन्न। त्यसैले  समन्वय जरुरी छ’, उनी भन्छन्, ‘स्थानीय, प्रदेश र केन्द्रीय सरकार सबैको भूमिका उत्तिकै आवश्यक छ।’ 

विश्व वन्यजन्तु दिवस आज
प्रत्येक वर्ष मार्च ३ मा विश्व वन्यजन्तु दिवस मनाइँदै आएको छ। यस वर्षको नारा छ, ‘पारिस्थितिकीय प्रणाली पुनःस्थापनाका लागि प्रमुख प्रजातिहरूको पुनः प्राप्ति।’ यो दिवस सन् १९७३ देखि मनाउन थालिएको हो। नेपालमा अरू देशमा नपाइने कतिपय दुर्लभ वन्यजन्तु पाइन्छन्। त्यस्ता प्रजातिको संरक्षण गर्न जनचेतना आवश्यक रहेको विज्ञ बताउँछन्। 

‘वन्यजन्तुमैत्री पूर्वाधारको खाँचो’
वन्यजन्तुमैत्री पूर्वाधार बनाउनुपर्ने बताउँछन्, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल। भन्छन्, ‘उनीहरूको सहज आवागमनको ग्यारेन्टी गर्नुपर्छ।’ वन्यजन्तुमैत्री पूर्वाधार निर्देशिकाको विषयमा टड्कारो रूपमा कुरा उठेको महानिर्देशक डा. कँडेल सुनाउँछन्। ‘यस विषयमा चार–पाँच वर्षदेखि छलफल चलिरहेको छ’, उनी भन्छन्, ‘कानुनी आधार मात्रै नबनेको हो। तर, काम धेरै भएको छ। 

अलिक बलियो खालको संरक्षण प्रणाली व्यवस्थापन गर्नुपर्ने बताउँछन् वनस्पति विभागका महानिर्देशक डा. बुद्धि पौडेल। ‘चितुवा लोप हुन्छ जस्तो देखिन्छ। पासोमा पारेर धेरै मारिएका छन्’, महानिर्देशक डा. पौडेल भन्छन्, ‘२० पटक प्रयास गर्दा मात्रै एउटा शिकार समात्छन्। एकपटक मारेपछि त्यो खाना उनीहरूले पटक–पटक खाने, लुकाउने, घिसार्ने गर्छन्। त्यसमा विष हाल्दिने गरेको देखिएको छ।’ त्यसले अन्य वन्यजन्तु पनि मर्ने प्रचुर सम्भावना रहेको उनी बताउँछन्। 

कति जनावर राख्न सकिन्छ भन्ने व्यवस्थापनमा भर पर्ने उनको भनाइ छ। ‘धेरै जनावर एकै ठाउँमा राख्दा त्यसको समस्या हुन्छ। स्वास्थ्य नराम्रो हुन्छ। बच्चा जन्माउन सक्दैन। संख्या पुनः घट्न थाल्छ। उनीहरूका लागि उचित घाँस, पानीलगायत वासस्थानको व्यवस्थापन हुनुपर्छ’, उनी भन्छन्, ‘तर, नेपालमा कति वन्यजन्तु व्यवस्थापन गर्न सकिन्छ भन्ने अध्ययन भएको छैन। अनुमान मात्रै छ। चितवनमा मात्रै ७ सय गैंडा व्यवस्थापन गर्न सकिन्छ भन्ने छ। नेपालमा हिउँचितुवा ४ सय, बाघ साढे २ सय पुर्‍याउने लक्ष्य छ। तर, त्योभन्दा बढी भए के गर्ने भनेर अध्ययन भएको छैन।’ 

उनका अनुसार केही वन्यजन्तुको संख्या एकदमै धेरै भइसकेको छ। वासस्थान, व्यवस्थापन राम्रो हुने, चोरीसिकारी नहुने हो भने बाघको संख्या चार वर्षमा दोब्बर हुन सक्ने उनी बताउँछन्। ‘अत्यन्त धेरै संख्याले पनि समस्या निम्त्याउन सक्छ। एकदमै घट्दै गए पनि त्यसको असर उत्तिकै हुन्छ’, उनी भन्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.