युक्रेनको आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाइयो
किभ : युक्रेनको आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको छ। युक्रेनको आकस्मिक सेवाले जापोरिजिया आणविक ऊर्जा केन्द्रमा लागेको आगो नियन्त्रणमा आएको पुष्टि गरेको हो।
युक्रेनले शुक्रबार बिहान रुसले पावर प्लान्टमा आक्रमण गरेको र पाँच तले प्रशिक्षण केन्द्रमा आगलागी भएको जनाएको थियो। प्लान्टमा कुनै क्षति नभए पनि आगो प्लान्टमा फैलिन सक्ने आशंका गरिएको थियो।
युक्रेनको आपतकालीन सेवाले सुरुमा उनीहरूलाई त्यहाँ जान अनुमति नदिएको बताएको छ। तर पछि उनीहरुले अनुमति पाएर एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए।
आगलागीमा कुनै मानवीय क्षति भएको छैन।
यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि ट्विट गरेर रुसी सैनिकले युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्रमा आक्रमण गरेको जानकारी दिएका थिए। उनले ट्विट गर्दै विश्वलाई सहयोगको अपिल गर्दै यो पावर प्लान्ट खतरामा रहेको बताएका थिए। यसपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जेलेन्स्कीसँग फोनमा कुरा गरे।