उल्टो हिँडाइ, सुल्टो गन्तव्य

उल्टो हिँडाइ, सुल्टो गन्तव्य

यसपटक उल्टो हिँडेर फेरि गिनिजमा नाम लेखाउने जमर्को गर्दैछन् ऋषि परियार। उनको अबको करिब ४० दिनमा महाकाली पुग्ने लक्ष्य छ।


लगातारको हिँडाइले खुट्टामा ठेला उठेका छन्।  शरीर थकित छ।  तर पनि उनलाई थकानको महसुस छैन।  बाटोमा हिँड्दा भेटिएका समर्थकहरूको साथले झन् ऊर्जा थपिन्छ।  खुट्टा गले पनि उनको रफ्तारमा कमी छैन।  पाइलैपिच्छे सेल्फी हान्ने र भिडियो खिच्नेको भीडले उनको थकान मेटिन्छ।  सबैलाई मुसुक्क हाँसेर बिदाइ गर्छन्। 

३० वर्षे युवा ऋषि परियार अहिले पूर्व–पश्चिम बाटोमा सेलिब्रेटी बनेका छन्। विश्वमा नेपाललाई चिनाउन पूर्व–पश्चिम यात्रा गर्न उनी उल्टो हिँडेका हुन्।  एक महिनामा उनले झन्डै ५०० किलोमिटर उल्टो हिँडेर पार गरे।  कहिलेकाहीँ बाटोमा भेटिएका समर्थकको भीड पार गरेर अघि बढ्नै उनलाई मुस्किल हुन्छ। 

झोलामा एक जोर दौरा सुरुवाल, हातमा राष्ट्रिय झन्डा बोकेर साधारण पहिरनमा उनी यात्राको थालनी गरेको स्मरण गर्छन्।  ‘एक जोर चप्पलमा उल्टो यात्राको थालनी गरें।  कुनै पनि क्षण सुल्टो हिँड्दिनँ’, उनी भन्छन्। अगाडि हिँड्ने बानी भएकाले उल्टो हिँड्न त्यति सहज छैन। तर पनि लगभग बानी परेका छन् उनी। ‘उल्टो यात्राबाट विश्वलाई देश चिनाउन खोजेको हुँ’, उनी थप्छन्, ‘यति लामो दूरी कसैले उल्टो हिँडेको छैन। इतिहास रच्नु पनि मेरो उद्देश्य हो। ’

राति अपरिचित मानिसको घरमा बास मागेर बस्छन्। कसैले उनलाई बासको बन्दोबस्त गरेर सहयोग गर्छन्। कसैले नगरे बाटोमा पाएको सहयोग रकम खर्च गर्छन्। बिहान ८ बजेपछि उनको यात्रा सुरु हुन्छ। दैनिक १५ किलोमिटर दूरी उल्टो हिँडेर पार गर्छन्। मेचीबाट हिँडेको ठ्याक्कै एक महिनामा उनी चितवन आए। माघ १५ गते उनले यात्रा सुरु गरेका हुन्।  ‘सुरुमा त किन हिँडेछु जस्तो भयो। पहिला एक्लै हुँदा अल्छी लाग्थ्यो। कसैले वास्ता गर्दैनथे’, उनी सम्झन्छन्, ‘अहिले एक्लै हिँड्न परेको छैन। बाटोमा धेरै भेटिनु हुन्छ। अहिले बाटोमा पाइने स्वागत, भेटिने साथ र मायाले यात्रा रमाइलो बन्दै गएको छ। ’

झापाबाट सुरु गर्दा उनीसँग खासै कोही हुन्थेनन्। त्यसबेला उनलाई धेरैले सही मानिस नै भनेनन्। झापा, मोरङ, सुनसरीसम्म उनलाई कसैले वास्ता गरेनन्। विस्तारै चर्चा पाउन थालेपछि सप्तरीबाट उनको स्वागत हुन थाल्यो। अहिले उनलाई एक्लै हिँड्न परेको छैन। हरेक चोकमा उनको सम्मानजनक स्वागत हुन्छ। 

फोटोका लागि त भीड नै लाग्छ। उनीसँग एक जना सुरक्षाकर्मी साथमा हुन्छन्। सम्बन्धित क्षेत्रको प्रहरी कार्यालयले एकजना प्रहरी खटाउने गरेको छ। अहिले उनी दंग छन्। उनी मुसुक्क हाँसेर साथ दिन्छन्। उनीसँगै उल्टो हिँडेर टिकटक बनाउनेको पनि संख्या पनि उल्लेख्य भेटिन्छ। अहिले उनी टिकटकमा लोकप्रिय छन्। बाटोमा पर्ने हरेक प्रहरी कार्यालयमा उनी पस्छन्। 

ऋषिको घर दाङको तुल्सीपुर हो। उनका बुवा, आमा र दुई बहिनी छन्। उनले चार महिनाअघि योजना बनाएका थिए।  पैदल यात्राको क्रममा उनी झापा पुगेका उनको पहिलो यात्रा थियो। बिरामी हुन सक्ने भन्दै घरबाट उनलाई मनाही गरिएको थियो।  उनले आफ्नो अडान छोडेनन्।  हरेक दिन साँझ घरमा फोन गरेर यात्रा अनुभव सुनाउँछन्।  उनी अहिलेसम्म बिरामी भएका छैनन्। 

गिनिज बुकको रेकर्ड्सको लोभ उनलाई होइन। दुई पटक उनले गिनिज बुक अफ वल्र्ड रेकडमा नाम लेखाइसकेका छन्।  सन् २०२० जनवरी २१ मा जम्पिङ जक्समा उनको नाम छ।  एक मिनेटमा १ सय २३ पटक जम्प गरेका थिए।  यसअघि भारतीय नागरिकले राखेको १ सय १६ पटकको रेकर्ड उनले तोडेका हुन्।  त्यस्तै, इजिप्टका नागरिकले ३० सेकेन्डमा ५४ पटक लाठी घुमाइएको रेकर्ड उनले ५७ पटक गरेर तोडे। यसपटक उल्टो हिँडेर फेरि गिनिजमा नाम लेखाउने जमर्को गर्दैछन्।  अबको करिब ४० दिनमा महाकाली पुग्ने उनको लक्ष्य छ। ३५ दिनमा उनी यात्राको मध्यभागमा पुगेका छन्। अर्थात्, ५१२ किलोमिटर हिँडेर बिहीबार मध्याह्न १ बजे उनी मध्यबिन्दु पुगेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.