जिम्मेवारी दिन दाहालको आलटाल
- पार्टीका १४ पदाधिकारी चयन गर्न दुई महिनासम्म ढिलाइ
- पोलिटब्युरो र स्थायी समिति गठन गर्न पनि बेवास्ता
- केन्द्रीय समिति अपूरै, ६२ सदस्य मनोनयन गर्न बाँकी
- महासचिवमा बढी रस्साकस्सी, शर्मा र पुनको हानथाप
- दाहालले महाधिवेशनमा घोषणा गरेका थिए २३७ जनाको नाम
काठमाडौं : माओवादी केन्द्र आठौं राष्ट्रिय महाधिवेशनबाट गत पुसमा बहुपदीय नेतृत्व प्रणालीमा गयो। महाधिवेशनबाट घोषित केन्द्रीय समितिले पुष्पकमल दाहाललाई नै अध्यक्ष चयन ग¥यो। तर, दाहालले दुई महिनासम्म पनि १४ पदाधिकारी नियुक्त गर्न आलटाल गरिरहेका छन्। जसमा वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ जना छन्। पोलिटब्युरो (केन्द्रीय समितिको एकतिहाइ) र स्थायी समिति (पोलिटब्युरोको एकतिहाइ) पनि गठन भएका छैनन्।
केन्द्रीय समिति विधानतः २ सय ९९ हुनुपर्छ। काठमाडौंमा पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशनले २ सय ३७ केन्द्रीय घोषणा गरेको थियो। ६२ सदस्य मनोनयन गर्न बाँकी छ। केन्द्रीय समितिको पुस १९ गतेको बैठकले दाहाललाई अध्यक्ष चयन गरेको थियो। उनी झन्डै ३३ वर्षदेखि निरन्तर नेतृत्वमा छन्। दाहाल २०४६ सालमा नेकपा (मशाल)को महामन्त्री भएपछि पार्टी नेतृत्वमा आएका हुन्। तर, बहुपदीय प्रणालीमा जाने भनिए पनि अझै एकल नेतृत्वकै धङधङी देखिएको माओवादीकै नेता बताउँछन्।
महाधिवेशनले जनवादी केन्द्रीयता र सामूहिक नेतृत्वको अभ्यास गर्ने निर्णय गरे पनि अध्यक्षले त्यसको उल्लंघन गरेको बताउँछन् केन्द्रीय सदस्य प्रकाश पोखरेल। ‘पार्टीमा व्यक्तिवादी चरित्र हावी भयो’, केन्द्रीय सदस्य पोखरेल भन्छन्, ‘यसलाई हामी निरंकुश प्रवृत्ति पनि भन्छौं। उहाँलाई पार्टी कमिटीको संरचनाप्रति विश्वास नै लाग्दैन। ’
अर्का केन्द्रीय सदस्य गणेश साह नेतृत्वले ‘बोल्ड डिसिजन’ लिन नसक्दा पदाधिकारी छनोट हुन नसकेको बताउँछन्। ‘नेताहरू जिम्मेवारीविहीन छन्’, केन्द्रीय सदस्य साह भन्छन्, ‘तर, जिम्मेवारी दिन नेतृत्वले अग्रसरता लिन चाहिरहेको छैन। एमसीसीजस्तो राष्ट्रिय चासोको विषयमा त अध्यक्षजीले एकल निर्णय लिनुभयो। संस्थागत निर्णय गरेको भए सबैको स्वामित्व पाउनुहुन्थ्यो। ’
पार्टीको सबै तहमा नेतृत्वदेखि पदाधिकारी छनोटमा ढिलाइ भएको बताउँछिन् नेतृ ओनसरी घर्ती मगर। ‘हाम्रो कारणभन्दा पनि कोभिडले गर्दा पार्टी कमिटीलाई पूर्णता दिन ढिलो भयो’, नेतृ मगर भन्छिन्, ‘अर्कोतिर एमसीसीले गर्दा पनि हाम्रा कमिटीहरू निर्माण भएनन्। हामीले सबै कामलाई एक ढंगले म्यानेज गरिसकेपछि पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ। अब हामी फाइनल डिसिजनमा पुग्छौं। ’ माओवादी प्रमुख सचेतक देव गुरुङ अध्यक्ष सामूहिकताकै अभ्यासमा रहेको बताउँछन्।
एमसीसीमा ‘एकल निर्णय’
एमसीसीले माओवादीमा ‘परकम्प’ ल्यायो। दाहालले केन्द्रीय समितिको सट्टा पूर्वस्थायी समिति सदस्यको बैठक बोलाए। उक्त कदमप्रति असन्तुष्ट नेताहरूले त्यसलाई अवैधानिक भन्दै केन्द्रीय समिति बोलाउन माग गरे। तर, उनले वास्ता गरेनन्। बरु फागुन १५ गते पूर्वस्थायी समितिकै बैठकबाट एमसीसी अनुमोदन गर्ने निर्णय गराए। नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, देव गुरुङलगायतले त्यसलाई ‘दाहालको एकल निर्णय’ भन्दै चर्को आलोचना गरिरहेका छन्। केन्द्रीय समितिको शुक्रबार सुरु बैठकमा चार जना नेताले लिखित असहमति जाहेर गरेका छन्।
पार्टीमा प्रतिस्पर्धी नेता नरहेकाले दाहालले पेलेरै एमसीसीबारे निर्णय गराएको असन्तुष्ट नेताहरू बताउँछन्। जबकी लेखनाथ न्यौपानेलगायत युवा नेताले एमसीसीबारे निर्णय गर्न केन्द्रीय बैठक बोलाउन पटक–पटक माग गरेका थिए।
एमसीसीका विषयमा निर्णय लिन दाहालले केन्द्रीय बैठक बोलाउन आवश्यक ठानेनन्। पार्टीको सबै शक्ति आफूमा केन्द्रित गरी एकल रूपमा पार्टी हाँक्ने गरेको आरोप दाहाललाई पहिलेदेखि लाग्दै आएको थियो। यसपटक त पदाधिकारी नभएका बेला ‘कोठे निर्णय गरेको’ असन्तुष्ट पक्षको आरोप छ।
‘अध्यक्ष कमरेडले पार्टीको संसदीय दलको बैठकबाट एससीसीविरुद्ध मतदान गर्ने निर्णय गराउनुभयो। हामी त्यो निर्णय लागू हुनेमा ढुक्क थियौं’, एक नेता भन्छन्, ‘भित्रभित्रै फेरि एमसीसी कसरी अनुमोदन गर्ने भनेर नेताहरूलाई गृहकार्यमा लगाउनुभयो। पार्टीमा बहस र छलफल नगराई एमसीसीको पक्षमा एकल निर्णय गराउनुभयो। ’
संसदीय दलको फागुन ४ गते बसेको बैठकले एमसीसी संसद्मा पेस गरे सत्ता छाड्ने र एमसीसीविरुद्ध मतदान गर्ने निर्णय गरेको थियो। तर, भित्रभित्रै माओवादी केन्द्रका शक्ति बस्नेत, कांग्रेस महामन्त्री गगन थापा र एकीकृत समाजवादीका गोविन्द बन्दीले व्याख्यात्मक घोषणाका बुँदा तयार पारे। त्यसलाई नै आधार बनाएर एमसीसी अनुमोदन गराउन सफल भए दाहाल।
नेता श्रेष्ठले शुक्रबार पार्टी बैठकै नगरी एकल ढंगले एमसीसी अनुमोदन गरिएको भन्दै कडा विरोध गरे। श्रेष्ठले दाहाललाई आत्मसमर्पणवादीको संज्ञा दिए।
कसलाई बनाउने महासचिव ?
महासचिवमा धेरै नेताको आकांक्षा रहेकाले पदाधिकारी चयन नगरिएको नेताहरू बताउँछन्। महासचिवमा अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्री वर्षमान पुनबीच टक्कर छ। पम्फा भुसाल र पूर्वसभामुख कृष्णबहादुर महरा पनि आकांक्षी देखिएका छन्। आफूनिकट दोस्रो पुस्ताका नेता नै मैदानमा उत्रेकाले कसलाई छान्ने भन्नेमा दाहाल दोधारमा रहेको उनीनिकटस्थ बताउँछन्।
महाधिवेशन जारी रहेका बेला पुन चीनमा उपचारत थिए। पदाधिकारीमा आफू पनि आकांक्षी रहेकाले पछि मात्रै चयन गर्न उनले दाहाललाई पत्राचार गरेका थिए। त्यसपछि पदाधिकारी चयनपछि गर्ने भन्दै महाधिवेशन अन्त्य गरियो। तर, पुन फर्केको पनि धेरै भइसक्यो।
‘पार्टीमा भागबन्डा नमिलेरै रडाको भइरहेको छ’, एक केन्द्रीय सदस्य भन्छन्, ‘दुई महिनादेखि अध्यक्षले एकल रूपमा पार्टी चलाइरहनुभएको छ। महासचिव कसलाई बनाउने विषयको टुंगो लागेको छैन। ’
पार्टीमा व्यक्तिवादी सोच हावी भएको दाबी गर्छन् ती नेता। भन्छन्, ‘त्यसले गर्दा जोशजागर भएका अरू नेताले पनि जिम्मेवारी पाउनुभएको छैन। ’
नेताहरूमा ‘एसम्यान’ प्रवृत्ति डा. बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा, नेत्रविक्रम चन्दले पार्टी छोडेपछि दाहाललाई ‘टक्कर दिने’ नेता पार्टीमा नभएजस्तै छ। अरू नेता दाहालकै सहारामा आफूलाई स्थापित गर्न चाहन्छन्। जसकारण उनीहरू न दाहालको एकल नेतृत्वविरुद्ध जान सक्छन् न त टक्कर लिन नै। श्रेष्ठ पक्षधर नेताले बेलाबखत फरक मत राख्ने गरेका छन्। तर, संख्यात्मक रूपमा कमजोर र माओवादी संरचनाले पूर्णरूपमा स्वीकार नगर्ने स्थिति छ। त्यसैले पनि अध्यक्षले जे गर्दा पनि उनका निर्णयविरुद्ध ‘विद्रोह गर्ने वा उल्ट्याउने हैसियत’ अरू नेतामा देखिँदैन।
केन्द्रीय सदस्य पोखरेल यो अवस्था पार्टीको आन्तरिक जीवनका लागि सुखद नरहेको बताउँछन्। ‘नेतृत्वमा पार्टी रूपान्तरण गर्ने इच्छाशक्ति भयो भने मात्रै माओवादीको अस्तित्व र क्रान्तिकारी विरासत कायम रहन्छ’, पोखरेल भन्छन्, ‘नत्र पार्टीको विघटन कसैले रोक्न सक्दैन। ’
एजेन्डा छ, टुंगो छैन
शुक्रबार सुरु केन्द्रीय समिति बैठकले पदाधिकारी चयनको एजेन्डा बनाएको छ। तर, आकांक्षीबीच छलफल र गृहकार्य नभएकाले पदाधिकारी चयन हुने÷नहुने टुंगो छैन। अर्कोतिर एमसीसी अनुमोदनको निर्णयसँगै उत्पन्न विवाद पनि निरुपण हुन बाँकी छ।
तर, लामो समयदेखि पार्टीका माथिल्लोदेखि तल्लो तह पदाधिकारीविहीन हुँदा पार्टी सञ्चालन कठिन बन्दै गएको नेताहरू बताउँछन्। दाहालले चुनावी प्रक्रियाभन्दा सहमतिमै सबै तहको नेतृत्व छनोट गर्नुपर्ने धारणा राख्दै आएका छन्। ‘समानुपातिक समावेशी रूपमा पार्टीभित्र नेता छनोट गर्नुपर्ने अर्को चुनौती छ’, केन्द्रीय सदस्य साह भन्छन्, ‘सक्षम, क्रान्तिकारी र पार्टीको आवश्यकताअनुसारको नेतृत्व छनोट गर्नुपर्ने भनेर अध्यक्ष प्रचण्डले भनिरहनुभएको छ। तर, काम भने अघि बढेको छैन। ’
महाधिवेशनले केन्द्रीय समिति अपुरो मात्रै चयन गरेको थियो। बन्दसत्रमा दाहालले महाधिवेशन आयोजक समितिका तर्फबाट २ सय ९९ सदस्यीय केन्द्रीय समितिमा ६२ रिक्त राखेर २ सय ३७ जनाको नाम प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव हलले सर्वसम्मतबाट पारित गरेको थियो। बन्दसत्रले केन्द्रीय समितिलाई पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र बाँकी रहेको केन्द्रीय सदस्य छनोटको जिम्मा दिएको थियो।
‘महाधिवेशनलगत्तै पुस १९ गतेको बैठकले अध्यक्षमा प्रचण्डजीलाई छनोट गर्यौं। बाँकी अर्को बैठकबाट समिति टुंगो लगाउने कुरो थियो’, केन्द्रीय सदस्य राजु खड्का भन्छन्, ‘विभिन्न कारणले नेता छनोट गर्न समय लम्बियो। ’ जिम्मेवारी बाँडफाँट नहुँदा पार्टीले गति लिन नसकेको खड्का बताउँछन्।
शुक्रबार सुरु केन्द्रीय समिति बैठकमा संगठनात्मक विषयलाई छलफलको एजेन्डा बनाइएको प्रमुख सचेतक गुरुङ बताउँछन्। आइतबारको बैठकमा पार्टीको संगठनका एजेन्डामाथि छलफल हुने गृहकार्य भइरहेको गुरुङको भनाइ छ।
शुक्रबारको बैठकमा पदाधिकारी छनोटको कार्यसूची समावेश गरिएको थियो। तर, एमसीसी अनुमोदनको विषयमा असन्तुष्ट नेताले लिखित रूपमै फरक मत राखेपछि संगठनको विषयले छलफलमा प्रवेश नै पाएन। नेता श्रेष्ठले फरक मत राखेपछि अध्यक्ष दाहाल आक्रोसित बनेका थिए। बैठकमा तीन घण्टासम्म अध्यक्ष दाहाल र नेता श्रेष्ठले मन ‘माझामाझ’ गरेपछि पार्टीलाई एकताबद्ध बनाएर लैजाने वातावरण बनेको थियो। पार्टी फुटको संघारमा पुगेको थियो।
‘बैठकमा पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने कुरा दुवै नेताले राख्नुभयो,’ गुरुङ भन्छन्, ‘अबको बैठकमा संगठनको विषयमा छलफल हुन्छ। पदाधिकारी छनोटका लागि गृहकार्य भइरहेको छ। ’ शनिबार नबसेर बैठक आइतबार बोलाइएको छ।
- हाम्रो कारणभन्दा पनि कोभिडले गर्दा पार्टी कमिटीलाई पूर्णता दिन ढिलो भयो। अर्कोतिर एमसीसीले गर्दा पनि हाम्रा कमिटीहरू निर्माण भएनन्। – ओनसरी घर्ती मगर नेतृ, माओवादी केन्द्र
- बैठकमा पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने कुुरा दुवै नेता (दाहाल र श्रेष्ठ) ले राख्नुभयो। अबको बैठकमा संगठनको विषयमा छलफल हुन्छ। पदाधिकारी छनोटका लागि गृहकार्य भइरहेको छ। – देव गुरुङ प्रमुख सचेतक, माओवादी केन्द्र
- नेताहरू जिम्मेवारीविहीन छन्। तर, जिम्मेवारी दिन नेतृत्वले अग्रसरता लिन चाहिरहेको छैन। एमसीसीजस्तो राष्ट्रिय चासोको विषयमा त अध्यक्षजीले एकल निर्णय लिनुभयो। – गणेश साह केन्द्रीय सदस्य, माओवादी केन्द्र