पर्यटक तान्न राफ्टिङ प्याकेज

चितवन : कलकल बगेको त्रिशूली। किनार आसपासको शान्त अनि मनोरम दृश्य। ठिमुराबाट बग्दैबग्दै देवघाटको दर्शन गर्दाको क्षण बेग्लै आनन्द हुन्छ। चराचुरुंगीको आवाज सुन्दै नारायणगढसम्म राफ्टिङ गर्दा जो कोहीलाई पनि आनन्दित महसुस हुन्छ। चितवनकै लागि नौलो यो प्याकेज ठिमुरा रिसोर्टले सुरु गरेको हो।
वन्यजन्तु अवलोकनका लागि प्रख्यात चितवनको पर्यटनमा ठिमुरा रिसोर्टले राफ्टिङको प्याकेज ल्याएको छ। ठिमुराबाट देवघाट हुँदै नारायणघाट शिवघाटसम्मको प्याकेजमा पर्यटकले नयाँ जलयात्राको नयाँ मज्जा लिन सक्ने रिसोर्ट सञ्चालक डा. प्रमोद लामिछानेले बताए।
पर्यटकको बदलिँदो चाहनालाई ध्यानमा राख्दै राफ्टिङको नयाँ अवधारणा ल्याएको उनको भनाइ छ। पेसाले उनी अर्थोपेडिक्स सर्जन हुन्। पर्यटनको लयलाई समात्न रिसोर्ट खोले। पर्यटकको चाहना बुझेर प्याकेज बनाए।
नारायणगढ मुग्लिन सडकको घुमाउनेबाट ठिमुरा हुँदै पश्चिम चितवनको गुञ्जनगरस्थित गाँजिपुरसम्मको प्याकेजमा एक रातको बसाइ हुनेछ। मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा सौराहालाई लिने गरिन्छ। राफ्टिङ गराउँदै आएका ब्रदरहुड रिभर एडभेन्चरका सिर्जन शर्मा भन्छन्, ‘पछिल्लो समय यहाँ जल पर्यटनमा आकर्षण बढेको छ। र यसमा लगानी गर्ने पनि बढिरहेका छन्।’
नारायणी नदीमा जलयात्रा गर्न आउनेको चाप बढ्दो छ। नारायणगढमा मोटरबोट चढ्नेको पनि घुइँचो लाग्छ। नदीकिनारमा रहेका मोटरबोटलाई भ्याइनभ्याइ छ। घुम्न आउनेहरू नदीमा मनोरञ्जन लिन्छन्। ‘नारायणीको पुलदेखि गौरेश्वर मन्दिर पोखरा बसपार्क र बीपीनगर वनसम्म पुग्छ।
मोटरबोट एकछिन खाली हुँदैनन्,’ होटल व्यवसायी एवं चितवन उद्योग संघका पूर्वअध्यक्ष भेषराज दुवाडी भन्छन्, ‘चितवनमा जलयात्राको आकर्षण बढेको छ।’नारायणी किनारको जल यातायातको सम्भावना देखेर भरतपुर–१६ स्थित काभ्रेघाटमा क्रुजसिप बनाइएको छ। राइनो वाटर इन्टरटेन्टमेन्टले १५ करोड लगानीमा बनाएको हो। दुई सय क्षमताको उक्त क्रुजसिप सञ्चालनको अन्तिम चरणमा छ।
प्रतिक्रिया दिनुहोस !
