नदी प्रदुषणमुक्त बनाउन सडकमा धर्ना

नदी प्रदुषणमुक्त बनाउन सडकमा धर्ना

वीरगन्ज : वीरगन्जको लाईफलाईनकारुपमा रहेको सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउन माग गर्दै आइतबारदेखि फेरि सामाजिक अभियन्ताहरु सडकमा उत्रिएका छन्। सरिसवा नदी एंव वीरगन्ज प्रदुषणमुक्त अभियान नामक समूहको अगुवाइमा अभियन्ताहरु घण्टाघरमा आइतबारदेखि धर्नामा बसेका हुन्।  

झण्डै ३ दशकदेखि अतिक्रमण र प्रदुषणको चपेटामा परेको सिर्सिया नदीलाई स्वच्छ र सफा बनाउनका लागि अभियानले तीन वर्षयता देखि पटकपटक दबाबमुलक कार्यक्रम गर्दै आइरहेको छ। तर सिर्सिया नदी, अतिक्रमण र प्रदुषणमुक्त भने हुन सकेको छैन। बरु उल्टै सरिसवा नदी झनझन अतिक्रमित र प्रदुषित बन्दै गइ रहेको छ। 

जिल्ला प्रशासन कार्यालय, वीरगन्ज महानगरपालिका र यस क्षेत्रका उद्योगहरुले नदीको प्रदुषणबारे चासो नदीएका कारण सिर्सिया नदीको दुरावस्था जस्ताको त्यस्तै छ। सरोकारवाला निकायलाई झक्झक्याउन आइतबारदेखि फेरि दुई दिने धर्ना कार्यक्रम सुरु गरिएको अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मीले बताए। 

आइतबार र सोमबार दुई दिन बिहान १० देखि साँझ ५ बजे सम्म धर्नामा बस्ने उनले बताए। कुर्मीले भने,‘यसपाली हामी निर्णायक आन्दोलनमा छौ, दुई दिनको धर्नाले पनि हाम्रो आवाज सुनिएन भने हामी अब यहीँ घण्टाघरमा आमरण अनशनमै बस्ने तयारीमा पनि छौ। 

तीन दशकदेखि प्रदुषणको चपेटामा 
वीरगन्ज महानगरमा रहेको एकमात्र सिर्सिया नदी प्रदुषणको चपेटामा परेको ३ दशक भइसकेको छ। बाराको सिमरादेखि पश्चिममा पर्ने रामवनमा रहेको जंगलमा मुल रहेको सिर्सिया नदीलाई दुषित बनाउनेमा बारा, पर्साको औद्योगिक करिडोरमा रहेका साना ठूला गरी ४६ उद्योग र वीरगन्ज महानगरपालिका रहेका छन्। 

ती उद्योगहरुबाट उत्सर्जित हुने प्रदुषित रसायनयुक्त पानी र फोहोर पदार्थ प्रशोधन नगरि सिधै नदीमै उत्सर्जन हुँदै आएको छ। औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुन लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीमा मिसिइँदा दुर्गन्धित बनेको हो। 

वीरगन्ज महानगरपालिकाले पनि शहरको ढल र नालको दुर्गन्धित पानी सिधै नदीमै मिसाउदै आएको छ। वीरगन्ज महानगरपालिकाले पदमरोड, रानीघाट, आदर्शनगर, छपकैया लगायतका स्थानबाट ढलको फोहोर पानी सिधै सिर्सियामा फालिरहेको छ। 

नदीको प्रदुषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैया सहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित हुँदै आएका छन्।सिर्सिया नदीको प्रदुषित पानीका कारण नदी छेउका बासिन्दा तथा पशु चौपायामा समेत रोगको संक्रमण देखिने गरेको नदी छेउका स्थानीय बताउछन्।

प्रतिवेदन बुझाएको १२ वर्षमा पनि सफा भएन नदी 
सिर्सिया नदी अनुगमन समितिले नदी प्रदुषित बनाउने दोषिहरुको किटान गरि स्थानीय प्रशासनलाई प्रतिवेदन बुझाएको १२ वर्ष भइसकेको छ। तर स्थानीय प्रशासनले अहिलेसम्म पनि कार्वाही प्रकृया अगाडि बढाउन सकेको छैन। सिर्सिया नदी आसपासका स्थानीयले प्रदुषण रोक्न माग गर्दै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो। उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदुषणको कारक उद्योगहरु नै रहेको उल्लेख थियो। प्रतिवेदनमा नदी प्रदुषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरुको नामै किटान गरिएको थियो।

रितेश त्रिपाठी संयोजकत्वको समितिको प्रतिवेदनमा ती स्रोतमध्ये पर्सा बारा औद्योगिक करिडोरका ४६ उद्योग, बाँकी दुईमा वीरगन्ज महानगरपालिकाको फोहर र यस क्षेत्रमा सञ्चालित अवैध मदिरा भट्टीलाई किटान गरिएको थियो।

समितिले २०६७ साल मंसिर २२ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई प्रतिवेदन बुझाउँदै सिर्सिया खोलालाई प्रदूषित बनाउने ४८ स्रोत प्रस्ट रूपमा किटान गरेको थियो। तत्कालीन प्रजिअ झाले सिर्सिया नदीको प्रदुषणका लागि जिम्मेवार उद्योगहरूलाई आफ्नो कार्यकालमै कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए। तर उनको प्रतिबद्धता कागजमै सिमित भयो। 

१२ वर्षयता पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी झन्डै डेढ दर्जन भन्दा बढिले  सम्हाली सके। तर सिर्सिया नदीको पानी झै सङ्लिएको छैन। बरु झन्झन् प्रदुषित र दुर्गन्धित कालो हुँदै गएको छ। अनुगमन समितिका संयोजक रितेश त्रिपाठी भन्छन्, ‘उ बेला हामीले निक्कै मेहनत गरेर २५ पृष्ठको प्रतिवेदन तयार पारी स्थानीय प्रशासनलाई बुझाएका थियौँ, तर १२ वर्ष बितिसक्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।

सिर्सिया नदीको प्रदुषण रोक्न माग गर्दै १२ वर्ष यता विभिन्न संघसंस्था र अभियन्ताहरुले निरन्तर दवावमूलक कार्यक्रम गर्दै आइरहेका छन्। तर त्यो दवावको कुनै असर परेको छैन। पटक पटक विरोध र दवावमुलक जुलुस धर्ना गर्दा पनि नदीको प्रदुषण रोक्न सरकारी निकायबाट पहल नभएपछि आइतबारदेखि धण्टाघर चोकमै धर्नामा बस्न बाध्य भएको अभियन्ता बृजेश्वर प्रसाद कुर्मीले बताए। उनी भन्छन्,‘सिर्सिया नदी हाम्रो जीवनशैली र सभ्यतासँग जोडिएको सम्पदा हो, त्यसैले अब यसलाई सफा र संरक्षण ढिला गर्नु हुँदैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.