लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी, उडान प्रभावित
सोलुखुम्बु : सोलुखुम्बुको तेन्जिङ हिल्लारि विमानस्थल लुक्ला नजिकैको एक वनमा भीषण आगलागी भइरहेको छ। लुक्ला नजिकैको नक्चुङ भन्ने स्थानको वनमा लागेको आगोको धुवका कारण आज बिहान करिब १ घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।
प्राधिकरण प्रमुख द्वारिका अछामीका अनुसार विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि विमानस्थल नै बन्द गरिएको हो। अहिले हावाका कारण धुवाँ अन्यत्र ड्राइभड भएकाले उडान भइरहेको उनको भनाइ छ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका- २ को नाक्चुङस्थित जङ्गलबाट गएरातिदेखि सुरु भएको आगो फैलदो अवस्थामा रहेको तारा एयर लुक्लाका स्टेसन इनचार्ज अमृत मगरले जानकारी दिए। आगो कसले र किन लगाए भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ। आगोका कारण सल्ला, उत्तिस लगायतका प्रजातिका बोटबिरुवाहरु धेरै मात्रामा नष्ट भइसकेको स्थानीयले बताएका छन्।