रेसुंगामा पर्यटकको चहलपहल
गुल्मी : निर्माणाधीन रेसुंगा विमानस्थलमा घुम्न जाने बढेका छन्। वैशाखदेखि सञ्चालन गर्ने योजनाका साथ विमानस्थल निर्माणलाई तीव्रता दिइएको छ। डाँडामा रहेको विमानस्थल पर्यटकीय स्थलका रूपमा परिचित बनेको छ। सामाजिक सञ्जालमा रेसुंगा विमानस्थल भाइरल बनेको छ।
स्थानीय घुम्न जाने र तस्बिर सामाजिक सञ्जालमा राख्ने गर्छन्। विमानस्थल क्षेत्रमा घुम्न जानेहरू दैनिक सयभन्दा बढी रहेको स्थानीय विष्णुमाया थापाले बताइन्। जिल्लामा पर्यटकीय स्थलमध्ये विमानस्थल पनि एक महत्वपूर्ण गन्तव्य हुने देखिएको छ। पर्यटकीयस्थल रेसुंगा, रिडीसहित तम्घास बजार नजिकै निर्माण गरिएको रुख घरसहित विमानस्थल पनि रोजाइमा परेको छ।
उडान भएपछि अर्घाखाँची, प्यूठान, बागलुङ, पाल्पा र केही भाग रोल्पाका नागरिकले समेत प्रत्यक्ष लाभ लिने देखिएको छ। गुल्मीको समग्र अर्थतन्त्रमा विमानस्थलको महत्वपूर्ण भूमिका हुने थापाले बताइन्। आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल अझै बढ्ने पर्यटन व्यवसायीको अपेक्षा छ।
९० प्रतिशत काम सकिएको विमानस्थल आयोजना प्रमुख सञ्जीव खड्काले जानकारी दिए। विमानस्थलको लम्बाइ ५ सय २० मिटर र चौडाइ २० मिटर छ। एकैपटक दुईवटा जहाज पार्किङ गर्न मिल्ने पार्किङ एप्रोनको समेत व्यवस्था गरिएको छ।