जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ
काठमाडौं / उदयपुर : सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलनजिकै वनमा आइतबार दिउँसोदेखि डढेलो लाग्यो। आगो निभाउन स्थानीयवासीदेखि प्रहरी र सेनासम्म खटिए। अन्ततः सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेपछि आगलागी नियन्त्रणमा आएको छ।
सिम्रिक एयरले एक वर्ष अवधिमा अत्याधुनिक प्रविधि प्रयोग गरी पाँच स्थानमा लागेको आगो निभाएको छ। नेपालमा सिम्रिकसँग मात्रै भएको बम्बी बकेटको सहयोगले सडक नपुगेको, दमकल जान नसक्ने साँघुरा गल्ली तथा उच्च पहाडी भेगमा पनि आगो नियन्त्रण गरिरहेको छ।
फायर फाइटरसहितको सिम्रिक एयरको हेलिकप्टरले सोलुखुम्बमा तीन दिनमा बुधबार आगो निभाएको कम्पनीका लुक्ला स्टेसन म्यानेजर तथा रेस्क्यु स्पेसियालिस्ट आङतासी शेर्पाले बताए। त्यहाँ हेलिकप्टरका चालक सुरेन्द्र पौडेल र आङतासी शेर्पा खटिएका थिए।
हेलिकप्टरले स्थानीय सुर्के खोलाबाट सोमबार ११७ बकेट, मंगलबार २३ र बुधबार ९० बकेट पानी ल्याएर डढेलो लागेको ठाउँमा खन्याएको शेर्पाले सुनाए। तीव्र वेगको हावाका कारण फैलिएको आगोले बस्ती जोखिममा परेको थियो। ‘हेलिकप्टरबाट पानी ड्रप नगरेको भए सायदै नजिकको गाउँ जोगाउन सकिँदैन थियो’, उनले भने। जंगलको चारै दिसाबाट आगो फैलिएकाले नियन्त्रणमा समय लागेको उनको भनाइ छ।
बुधबार मध्याहन् १२:४० बजे हेलिकप्टरको सहयोगमा डढेलो नियन्त्रणमा आएको खुम्बु पासाङल्हामु गाउँपालिका–२ का वडाध्यक्ष आङ फुर्वा शेर्पाले बताए।
वनबाट निस्केको धुवाँका कारण बिहान करिब एक घण्टा विमानस्थलको उडान प्रभावित भएको थियो। धुवाँ अन्यत्र मोडिएपछि उडान सञ्चालन गरिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ। प्राधिकरण प्रमुख द्वारिका अछामीका अनुसार धुवाँले धावनमार्ग नै ढाकेपछि विमानस्थल नै बन्द गरिएको थियो। आगो कसले र किन लगाए भनेर अनुसन्धान भइरहेको जनाइएको छ। डढेलोका कारण सल्ला, उत्तिसलगायत विभिन्न प्रजातिका बोटबिरुवा, जंगली जनावर, चराचुरुंगी नष्ट भएको उनले बताए। उनका अनुसार क्षतिको एकिन विवरण भने आइसकेको छैन।
सिम्रिककै हेलिकप्टरले केही दिनअघि तनहुँको दमौली बजारस्थित भोलेटार चोकमा लागेको आगो पनि निभाएको थियो। उक्त हेलिकप्टर काठमाडौंबाट दमौली गएको थियो। फायर फाइटिङसहितको सिम्रिक एयरको ९ एन ए जे जेड कलसाइनको हेलिकप्टरका चालकमा सुरेन्द्र पौडेल, राजेन्द्र दुवाल र आङतासी शेर्पा थिए।
पाथीभरा मन्दिर नै आगोको जोखिममा परेको थियो। नेपालमा पहिलो पटक बम्बी बकेट प्रयोग गरी आगो निभाइएको थियो।
हेलिकप्टरले स्थानीय मादी खोलाबाट ४५ पटक पानी ओसारेको थियो। दमौलीमा लागेको आगो नियन्त्रण गरिदिन गृह मन्त्रालयले सिम्रिक एयरलाई आग्रह गरेको थियो। आगो निभाएपछि हेलिकप्टर काठमाडौं फर्किएको थियो।
बालाजु औद्योगिक क्षेत्रस्थित बिस्कुट उद्योगमा गत साउन २२ गते भीषण आगलागी भएको थियो। नेपाली सेनाको बालाजुस्थित श्री नं १ बाहिनी अड्डाका सहायक बाहिनीपतिको कमान्डमा १ सय २८ जना दुई दमकलसहित खटिएका थिए। तर, स्थलगत प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको बम्बी बकेटमार्फत पानी खसालिएको थियो।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क सेवा पनि दिएको छ। शिवपुरी राष्ट्रिय निकुञ्जको वनमा लागेको आगो २०७७ चैत २९ गते सिम्रिक एयरले आफ्नै खर्चमा निभाएको थियो। त्यस क्रममा ७ लाख रुपैयाँभन्दा बढी खर्च लागेको थियो। कम्पनीका अनुसार ९ एन–एएलपी कल साइन भएको हेलिकप्टरले निकुञ्जमा लागेको आगो निभाएको हो। क्याप्टेन सिद्धार्थजंग गुरुङ र पाइलट इन कमान्ड क्याप्टेन सुरेन्द्र पौडेलको नेतृत्वमा बम्बी बकेटबाट पानी लगेर निभाएको हो। आगो निभाउन वासिखु नारायणथानमा रहेको माछापोखरी, सुन्दरी जल र सब्रिना होटलबाट पानी लगिएको थियो।
म्याग्दीको मालिका–५ देवीस्थानको भिरखर्क सामुदायिक वनमा लागेको डढेलो । तस्बिर : सन्तोष गौतम
ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको वनमा लागेको आगो ५ दिनपछि सिम्रिकले नै २०७७ पुसमा निभाएको थियो। स्थानीयवासी, सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीको प्रयास सार्थक नभएपछि सिम्रिकको हेलिकप्टर प्रयोग गरिएको थियो। पाथीभरा मन्दिर नै आगोको जोखिममा परेको थियो। नेपालमा पहिलो पटक बम्बी बकेट प्रयोग गरी आगो निभाइएको थियो। त्यहाँ जोरपोखरीको पानी लगिएको थियो।
आगलागी नियन्त्रणमा हेलिकप्टरको प्रयोग बढ्दो छ। भिरपाखा, साँघुरो ठाउँमा जान, वातावरणीय तथा मानवीय क्षति हुन नदिन पनि बम्बी बकेट उपयोगी हुने कम्पनीका कार्यकारी निर्देशक सिद्धार्थ गुरुङ बताउँछन्। देख्दा महँगो भए पनि सुरक्षाका दृष्टिकोणले हेलिकप्टरबाट आगो नियन्त्रण उपयोगी भएको पछिल्ला उदाहरणले पनि देखाउने कार्यकारी निर्देशक गुरुङको भनाइ छ।
सिम्रिकसँग भएको बम्बी बकेटमा १ हजार लिटर पानी अट्छ। नेपालको भूबनावटका कारण पनि आगो नियन्त्रणमा हेलिकप्टरको प्रयोग प्रभावकारी हुने हुँदा ठाउँ–ठाउँमा ताल वा पोखरीको व्यवस्था गर्न आवश्यक भएको उनको भनाइ छ।