२७ वर्षपछि विद्यालयको जग्गा बिक्री गरेको खुलासा, २० जनामध्ये ७ प्रतिवादीको मृत्यु
काठमाडौं: विद्यालयको जग्गा गैरकानुनीरुपमा बेचेको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको शुक्लागण्डकी नगरपालिका-१६ स्थित हिमाली प्राविको जग्गा गैरकानुनीरूपमा बिक्री वितरण गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष घनश्याम बानियाँसहित २० जनाविरुद्व मुद्दा दायर गरेको छ।
विद्यालयको सरकारी सार्वजनिक जग्गा पैसा लिएर बाँडेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा हालेको अख्तियारका प्रवक्त एवं सहसचिव श्यामप्रसाद भण्डारीले जानकारी दिए।
अख्तियारले समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, सदस्य सचिव (प्रधानाध्यापक) यामबहादुर ठकुरी, सदस्यहरु घनश्याम बानियाँ, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँले तत्कालीन अवस्थामा एक लाख ६९ हजार ५१ रुपैँया लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने काम गरेको भेटिएको जनाएको छ।
तत्कालीन विव्यास अध्यक्ष यामबहादुर बानियाँ, सदस्यहरु धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँको मृत्यु भइसकेको छ। अख्तियारले प्रअ घनश्याम बानियाँ, यमबहादुर ठकुरी र हरिकुमारी महतविरुद्व एक लाख उनान्सत्तरी हजार एकाउन्न रुपैँया बिगो कायम गरी सजाय माग दाबी गरेको छ। त्यस्तै प्रतिवादीमध्ये मृत्यु भइसकेका हकमा बिगो भराउन माग गरिएको छ।
अख्तियारको अनुसन्धानमा विद्यालय व्यवस्थापन समितिको २८ वर्षअघि साविक ढोरफिर्दीमा रहेको सरकारी जग्गालाई घरसारको कागजातहरू बनाइदिने निर्णय गरेको पाइएको छ। २०५१ वैशाख ११ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णयपछि नै त्यो जग्गा गैरकानुनीरूपमा भोगचलन गर्ने, गराउने गरेको, बिक्री भएका जग्गामा पनि घरसमेतका संरचना बनाएको भेटिएको छ।
अनुसन्धानमा विद्यालयको जग्गा ३ हजारदेखि ८० हजारसम्म पैसा लिएर बाँडेको भेटिएको अख्तियारका प्रवक्ता भण्डारीले बताए। विद्यालयको जग्गा किन्नेलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।
विद्यालयको जग्गा खरिद गरी उपभोग गर्ने सन्तबहादुर सिञ्जाली मगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ, लोकबहादुर माकिम, पूर्णबहादुर विक र धनबहादुर विक पनि प्रतिवादी बनाइएको छ। उनीहरुलाई मतियारको रुपमा कार्य गरेको भन्दै जग्गा जफत गर्नुपर्ने माग दाबी गरेको छ। तीमध्ये प्रतिवादीहरु लोकबहादुर माकिम, डोलराज आचार्य र धनबहादुर विकको भने मृत्यु भइसकेको छ।