मुस्ताङको फल्याकमा धज्याङ पर्व मनाईदै
जोमसोम : हिमाली जिल्ला मुस्ताङ ऐतिहाँसिक, धार्मिक, सांस्कृतिक मौलिकताले भरिएको जिल्ला हो। यहाँका थकाली, गुरुङ, बिष्ट र लोहा समुदायको मानिसले आफ्नै प्रकारले सांस्कृतिक गतिविधि सञ्चालन गर्ने गरेको पाईन्छ। कला, संस्कृति र फरक प्रकारको मौलिकताले मुस्ताङको सांस्कृतिक पहिचान झल्किने गर्छ।
थकालीहरुको महानपर्व तोरन्ल्ह नजिकिदै गर्दा उता मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-५ फल्याकका गुरुङ समुदायले धज्याङ पर्व मनाई रहेका छन्। धज्याङ पर्व तारो हान्ने खेललाई लिईन्छ। यसलाई स्थानीयले धज्याङ पर्वको बुझछ्न्। वारागुङको फल्याकमा गत शनिबारदेखि धज्याङ पर्व सुरु भएको हो। पर्वको स्थानीय ७७ वर्षीय ज्येष्ठ नागरिक पाल्साङ गुरुङले तारो हानी धज्याङ पर्वको उद्घाटन गरेका थिए। फल्याकमा धज्याङ पर्व ७ दिनसम्म मनाईन्छ। शनिबार सुरु भएको त्यहाँको पर्व शुक्रबार समापन हुने वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष राप्के गुरुङले जानकारी दिए।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङका गुरुङ समुदायका मानिसहरुले वसन्तऋतुको पूर्वसन्ध्यामा फरकफरक समयमा गाउँगाउँबीच भेला भएर हर्षउल्लासका साथ धज्याङ पर्व मनाउने चलन छ। सांस्कृतिक पर्वकारुपले महत्वपूर्ण मानिएको यो पर्व सदिंयौ वर्षदेखि चल्दै आईरहेको वडाध्यक्ष राप्के गुरुङले बताए। उनका अनुसार छरिएर रहेका गाउँका युवाहरु यो पर्व मनाउन गाउँ फर्किन्छ।
धज्याङ पर्वमा गाउँका युवायुवती र ज्येष्ठ नागरिकहरु एकआपसमा भेला भएर रमाईलो गर्छन्। स्थानीय भेषभुषामा सजिएर स्थानीय भाकामा गीत गाउँदै सांस्कृतिक प्रचलन उजागर गर्छन्। गाउँका पुरैले यो पर्वको बेला खेतीपाती र घरको काम थाँती राखेर समाजघरमा जम्मा भई स्याब्रो नाच र स्थानीय भाषाको गीत गाउँछन्। यस्तै मिठो खाने, राम्रो लगाउने र एकआपसमा आत्मियता साटसाट गरी धज्याङ पर्वमा रमाउने गर्छन्।
धज्याङको अर्थनै तारो हान्ने खेल भएकाले स्थानीय युवाहरु तोरो हान्ने खेल खेल्छन्। काठको मुड्कोमा सानो गोलागार रिङलाई खोल भनिन्छ। खोल भित्र तारो भित्र छिराउने व्यक्तिलाई बिशेष पुरस्कार सम्मान गर्ने गरिन्छ। तारो खेल खेल्दा आआफ्नो समूह बनाएर तारो हान्न मैदानमा उत्रन्छन्। उनीहरु तारो हान्ने खेल र अन्य सांस्कृतिक कार्यक्रममा जनजाती पहिरनमा उपस्थिति हुन्छन्।
वडाध्यक्ष राप्के गुरुङले मौलिक कलासंस्कृतिले हिमालीक्षेत्रको मौलिकतालाई थप उजागर गर्ने गरेको बताए। उनले मुस्ताङमा आआफ्नै जाती र समुदायले फरकफरक चाँडपर्व र सांस्कृतिक पर्व मनाउने गरेको उल्लेख गरे। केही हप्ताअघि मात्र मुस्ताङमा दिन गाउँले थकालीहरुले त्युङ्ल्ह पर्व मनाए। मुस्ताङमा तीजी, यार्तुङ, धज्याङ, फालो, तोरन्ल्ह आदी पर्व सांस्कृतिक कार्यक्रम गरी मनाईने गरिन्छ।