चिसा कुरा
सायद पोहोर–परारको जाडोको सम्झना नरहेर हो कि यस पटक ज्यादै जाडो महसुस भइरहेको बताइरहेका थिए सबैले। भन्थे– घाम पनि चिसो छ यसपालि। सिरकभित्र गुटमुटिँदा पनि सिरेटोले छोए जस्तो ! यतिसम्म कि हिटर बाल्दा होस् या आगो बालेर ताप्दा पनि जाडो कम भएको छैन भन्नेसम्म सुनियो। पानी छोए, चिसो। तात्तातो चिया सुर्काउँदा पनि चिसै। मानौं, तातो वस्तु अब बाँकी केही छैन संसारमा, सबैको समाप्ति भइसक्यो।
एकदिन बिहानकै कुरो। दुई साथी हुन् क्यार, एकापसमा कुराकानी गर्दै थिए। तिनको अनुहार नचिने पनि तिनका स्वर नठम्याए पनि तिनका कुरा चाहिँ प्रष्टसँग सुनें। भनूँ– सुन्न पुगें। सुन्न पुग्नुको खास कारण थियो। के थियो भने उनीहरूको वार्ताको विषय विशेष थियो। विशेष यस अर्थमा कि उनीहरूको कुरा–गराई मलाई चिसो लाग्यो। भनूँ– उनीहरूको कुराले मेरो मनमा चिसो पस्यो। यसरी चिसो पस्नुको खास कारण के थियो भने उनीहरूले गरेको कुराकानीको विषयवस्तु। जसले मनलाई चिसो बनायो। मन खिन्न बनाउने, अझ चिन्तित बनाउने खालको थियो भनेर नै भनूँ।
उनीहरूबीचको मुख्य संवाद यस्तो थियो : पहिलो : थाहा पायौं ? राजनीतिले त कोल्टे फेदै छ रे नि ! दोस्रो :तिमीले पनि सुन्यौ ? मैले पनि गाइँगुइँ सुनेको, गठबन्धन टुट्दै छ रे होइन ?
पहिलो : यस्तो गहिरो गठबन्धन ! किन टुट्न लाग्या होला ?
दोस्रो : त्यही त...। बल्ल–बल्ल देशको विकासले गति लिन थाल्याथ्यो। पहिलो :तर सजिलै टुट्ला र ? पाँच–पाँचवटाको गठबन्धन ! दोस्रो :टुटेपछि टुटिगयो नि ! एउटाले मात्रै साथ छोडिदियो भने कुरै खत्तम,
लाताकलुतुक भएर ढलिहाल्छ नि सरकार ! दोस्रो :बर्बादै हुने भो नि... !
यत्ति सुन्न भ्याएँ। उनीहरूको कुराले अनुमान गरेको थिएँ, दुवै राजनीतिक कार्यकर्ता हुन्।
वास्तवमा, अलिक कमजोर मुटु भएका कुनै कार्यकर्ताले यो कुरा सुनेको भए उसको मन भरंग हुन्थ्यो। सायद लडी नै पो हाल्थ्यो कि ! सूर्य उदाएर पनि त्यति उज्यालो नभएको त्यो वातावरणमा कमसेकम भाउन्न भएर उसको सामु पूरै अँध्यारो छाउँथ्यो। हुन पनि उनीहरूको कुराकानीको विषय थियो नै त्यस्तो। बल्ल–बल्ल गठबन्धनको बलियो सरकार बनेर देशमा सुव्यवस्था कायम हुन लागिरहेको यस्तो अवस्थामा गठबन्धन टुट्ने हल्ला के सानो कुरो हो र ? मन्त्रीज्यूहरू स्वयं कम्मर कसेर भ्रष्टाचार हटाउन लागिपर्नु भएको छ। विगतमा कुन–कुन ठाउँमा के–कस्तो अनियमितता भएका छन्, ती सबको अनुसन्धान गरेर सम्बन्धितहरूलाई कडा कारबाही गरिने घोषणा गर्नु भएको छ। सिमानामा वर्षौंदेखि विवाद भइआएकै हो, त्यसतर्फ समय बिताउनुभन्दा देशभित्रको जग्गाजमिनमा रेस्टुरेन्ट, उद्योगधन्दा स्थापना गरेर लुट्नेहरूविरुद्ध जाइलाग्नु प्रथम कर्तव्य भएको छ। यसका लागि छानबिन समिति गठन गरेर हुन्छ कि आफ्नै प्रत्यक्ष निगरानीमा तत्काल ‘फायर’ गर्ने उर्दी जारी गर्नु भएको छ।
दोस्रो पक्षको ठेकेदारीलाई अन्त गरेर आफ्ना ठेकेदारहरूलाई ठेकेदारी दिन पाए विश्वासिलो पनि भयो। कि कसो ? यस्तो अवस्थामा गठबन्धन टुट्नु भनेको देशको विकास गर्लामगुर्लुम ढलेर अधोगतितर्फ धकेलिनु हो। त्यति मात्रै भए त हुन्थ्यो, पास हुनै लागेको एमसीसीको समेत कार्यान्वयन नहुने भयो। त्यसो भएपछि देशको हालत खत्तम हुने भएन ? अर्कोतर्फ, कोरोनाको त्रास संसारभरि फैलिएको बेला हाम्रो देशमा भने कोरानाविरुद्धको खोप लाखौंलाख मात्रामा छ्यालब्यालै भएको समाचार सरकारको हवाला दिँदै रेडियो–टेलिभिजनहरूले बताएकै थिए। मान्छेहरू भन्छन्– अनुदान प्राप्त खोपको कुनै हिसाबकिताब नै भएन। त्यसको दुरुपयोग भयो। वास्तवमा त्यस्तो कहाँ हो र ? थाहै छैन कसैलाई पनि, हिसाबकिताब त त्यसको पो हुन्छ जसको हिसाब ल्याएको ठाउँमा बुझाउनुपर्छ।
सरकार भन्छ– उपयोग गरिएको छ, त्यसमा कुनै कैफियत भएको छैन। हुन पनि आरोप लगाइए जस्तो खोपको कहाँ दुरुपयोग भएको छ र ? भित्री रूपबाट पैसाको चलखेल भएको रहेछ भने पनि देशभित्रै त भएको हो। यस्तो कुरो नबुझिएको मात्रै हो। चलखेल भएको पैसा जतासुकै पुगोस्, फाइदा देशलाई नै भएको हो क्यारे। उहाँहरू के यस देशका नागरिक होइन र ? सित्तैमा पाइएको खोपबाट सम्पत्ति आर्जन गरे देशको अर्थतन्त्रमा टेवा पुर्याउन सकेकोमा गर्व पो गर्नुपर्छ त ! खोइ कुरो बुझेको ? हाम्रो संस्कार अलिक कुरो नबुझी हावै हावामा दौडिने खालको छ क्या ! एक देशभक्त नागरिकको हैसियतले म भने अलिक सचेत छु। साँच्चै, चिसो पसेको छ मनमा।
कतै, हुँदाखाँदाको गठबन्धन टुट्यो भने...?