मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
उदयपुर : उदयपुरको बेलका नगरपालिका-६ मा बुधबार मोटरसाईकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ। मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा स.७.प.८६९२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका-३ की ७६ वर्षीया वृद्धा राममाया आलेको मृत्यु भएको हो।
बिहान ११:०० बजे पैदलयात्रा गर्नेक्रममा तीव्रगतिमा गुडेको मोटरसाइकलले वृद्धालाई ठक्कर दिँदा घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए। घाईते आलेको उपचारको क्रममा रामपुरस्थित बेलका अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।
प्रहरीले मोटरसाईकल चालक त्रियुगा नगरपालिका-७ का २० वर्षीय बिष्णु भट्टराईलाई नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय रामपुरको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको डीएसपी गौतमले जानकारी दिए।