मुस्ताङमा ‘तोरन्ल’ पर्व सुरु
जोमसोम : हिमाली जिल्ला मुस्ताङमा थकाली समुदायको महान सांस्कृतिक पर्व तोरन्ल बुधबारदेखि सुरु भएको छ । मुस्ताङको थाकसय क्षेत्र र जोमसोमदेखि तल बसोबास गर्ने थकाली समुदायहरुले तोरन्ल पर्व हर्षउल्लासको साथ मनाउन थालेका छन् । बसन्त ऋतुको आगमनसंगै मनाइने तोरन्ल पर्व मुस्ताङका थकाली समुदायसहित देश विदेशमा बसोबास गर्ने थकालीहरुले तोरन्ल पर्व विशेष रुपले मनाउने चलन छ ।
थकालीहरुको महान पर्व तोरन्ललाई पितृ पुजा प्रतिकको रुपमा समेत लिने गरिन्छ । आफ्ना दिवंगत पितृहरुको सम्झना गर्दै उनीहरुको आत्माशान्ति र उद्दारका लागि थकाली समुदायका मानिसहरुले मध्यरातमा उठेर पितृ पुजा गर्छन् । फागुपुर्णिमाको अघिल्लो दिनदेखि पछिल्लो दिनसम्म तीन दिनसम्म निरन्तर चोखो पानी चढाउँने,दिवंगत पितृहरुलाई स्वादिष्ट खानाका परिकार बनाएर चढाउने, पितृको नाममा पुजापाठ गर्ने प्रचलन छ । पितृ खुसी भएमा मात्र भावी सन्ततीलाई सुखशान्ति प्राप्त हुने भएकाले तोरन्ल पर्वलाई पितृ पुजा पर्वको रुपमा लिने गरिएको हो ।
तोरन्ल पर्व नजिकिदै गर्दा थकाली समुदायका मानिसहरुले घर/टोल /आँगन र घरभित्रका भाँडा वर्तन सफा गरी चिटिक्क सिंगार्छन् । उधौली समाप्त भई उकालो उक्लिने समयमा मुस्ताङका थकालीहरुले तोरन्ल पर्व मनाउने गर्छन् । हिउँदयाममा बेसी झर्ने र गर्मी याम लागेपछि मुस्ताङका थकालीहरु गाउँ फर्किन्छन् । थकालीहरुले यसप्रकारको पर्व परापूर्वकालदेखिनै मनाउँदै आइरहेका छन् ।
थकाली समुदायमा मर्दा र पर्दा ज्वाईको भुमिका महत्वपूर्ण हुने गर्छ । ज्वाईलाई विशेष आदर/सत्कार र सम्मान गर्ने गरिन्छ भने ज्वाईले सुख र दुःखमा विभिन्न भूमिका निभाउनु पर्ने हुन्छ ।थकाली समुदायमा ज्वाईको भूमिका महत्वपूर्ण हुने भएकाले तोरन्ल पर्वमा छोरी/ज्वाई र भान्जा/भान्जी लगायतलाई माईती बोलाएर तोरन्ल पर्व मनाउने गरिन्छ । पर्वका अवसरमा थकाली पुरुषहरुले दौरा सुरुवाल र महिलाहरुले न्होकोन चोलो पहिरिएर थकाली संस्कृति उजागर गर्ने गर्छन् । पर्वको अन्तिम दिन मध्यरातमा उठेर खोलामा गई स्नान गर्ने र घरमा आएर चोखोपानी र खानेकुरा चढाउने चलन छ ।
थकाली समुदायहरु एकआपसमा भेला भएर संयूक्त रुपमा तोरन्ल पर्व मनाउने गर्छन् ।पर्वको बेला थकालीहरु आफ्नो क्षेत्रको थकाली समाजघरमा जम्मा भएर पुरुषहरु धुनषवाण( आर्चरी ) खेल्ने र महिलाहरु नाकाभोट्टे र कौडा खेल्ने गरिन्छ । राम्रो लगाउने र मिठो मिठो परिकार खाएर थकालीहरुले एकआपसमा आत्मियता साटासाट गर्छन् । मुस्ताङको जोमसोममा बसोबास गर्ने थकालीहरुले तोरन्ल पर्व मनाएका छन् । तोरन्लको पहिलो दिन गाउँमुखियाको घरमा जोमसोमका सबै थकाली समुदायका मानिसहरु जम्मा भई धनुषवाण( आर्चरी) खेल खेल्ने धसालाई बाजागाजाका साथ आर्चरी खेल्ने स्थानमा पुर्याए । तोरन्ल पर्वमा खेलिने धनुषवाण खेलको गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले उद्घाटन गरे ।
थकालीहरुको महान पर्व तोरन्ल विशेष रुपले तीन दिन मनाइने भएपनि कतिपय स्थानमा ३ दिन देखि ७ दिनसम्म मनाउने प्रचलन रहेको छ ।