बमबारी छल्दै प्रसूति
अब्दुजालिल अब्दुरासुलोभ : अन्ना मातृत्वको आनन्द लिइरहेकी छन्। उनी आमाबाबुलाई आफ्नो नयाँ नातिनीसँग चाँडै परिचय गराउन उत्साहित छिन्। तर, अहिले उनका धेरै आफन्तले देश छाडिसकेका छन्। उनी र उनका पतिले भने छाड्न सकेका छैनन्। उनले अझै आफूलाई पूर्णरूपमा सुरक्षित महसुस गर्न सकेकी छैनन्।
अन्ना तिमचेन्को निकै डराएकी थिइन्। उनलाई घन्टौंसम्म सुत्केरी बेथा लागेको थियो। तर, गृहनगरमा बम विस्फोट भइरहेको थियो। जसकारण उनको अपार्टमेन्ट हल्लिरहेको थियो। उनी र उनका पति अन्धकारमा फसेका थिए। किनभने घरमा न बिजुली थियो न पानी न त डाक्टर नै।
राजधानी किभबाट ३० किलोमिटर (१८.५ माइल) टाढा रहेको सानो सहर बुचा युद्ध सुरु भएदेखि नै निरन्तर बमबारीमा परेको थियो। २१ वर्षीया अन्ना पति र भाइसँग बस्थिन्। उनीहरूले
आफ्नो फ्ल्याटको भुइँतलामा शरण लिएका थिए। तर, जब बिजुली काटियो र त्यहाँभित्रको तापले काम गर्न छोड्यो, त्यहाँ अन्धकारमय भयो। त्यसैगरी अत्यन्तै चिसो पनि हुन थालेको थियो।
अन्नाका पति भोलोडिमिर बुचामै बस्ने कि त्यहाँबाट अन्त भाग्ने भन्ने दोधारमा परेका थिए। अन्ततः उनीहरूले आफ्नै गाडीमा भाग्ने कोसिस गरे। तर, अगाडि बाटोमा रुसी सैन्य गाडीहरू गुडिरहेको आवाज सुनेपछि उनीहरू घरतर्फ नै फर्किन बाध्य भए। ‘त्यसपछि हामीले अपार्टमेन्टमै बस्ने निर्णय गर्यौं’, अन्नाले बीबीसीसँग भनिन्, ‘म धुलाम्य भुइँतलामा होइन आफ्नै फ्ल्याटमा बच्चा जन्माउन चाहन्थें। मलाई सास फेर्न गाह्रो भइरहेको थियो। मेरो फोक्सो पनि दुखेको थियो।’
७ मार्चमा जब सुत्केरी बेथाले च्याप्यो, उनले मद्दतका लागि छिमेकीलाई बोलाइन्। उनीहरू त्यहाँ आउन सहमत भए। तर, उनीहरूमध्ये कसैलाई पनि बच्चा जन्माउने अनुभव थिएन। छिमेकी ४९ वर्षीया भिक्टोरिया जाब्रोडस्कायाले बच्चा जन्माउने क्रममा केही गलत भयो भने के गर्ने भनेर आफूहरू चिन्तित रहेको बताइन्।
कोठामा मैनबत्तीहरू बलेका थिए। त्यहाँ उपलब्ध पानी भनेको बोतलका चिसो मात्रै थिए। ‘मैले यस्तो अवस्थामा बच्चा जन्माउनेछु भनेर कहिले सोचेको पनि थिइनँ’, अन्नाले भनिन्, ‘त्यो विश्वास नै गर्न नसकिने क्षण थियो। मेरो पहिलो बच्चा थियो र मलाई केही पनि थाहा थिएन।’
छिमेकीले मेडिकल स्टाफलाई सम्पर्क गर्ने प्रयास गरे। तर, फोनको नेटवर्क कमजोर थियो। बाल्कनीबाट फोनको सिग्नल पाएपछि उनीहरू अन्ततः बुचाका एक स्त्रीरोग विशेषज्ञसँग सम्पर्क गर्न सफल भए। उनी आउन राजी भए तर आइपुगेनन्।
त्यस दिन निकै ढिला ती डाक्टरले माफी माग्दै सन्देश पठाए। सन्देशमा लेखिएको थियो कि उनलाई एक रूसी गस्तीले रोकेको र उनका फोन पनि फुटाइदिएका हुनाले उनी आउन सकेनन्।
यस्तो अवस्थामा अब अन्नाका छिमेकीलाई आफैं बच्चा जन्माउनुपर्ने भयो। उनीहरूमध्ये एक इरिना याजोभासँग मात्र केही चिकित्सा विशेषज्ञता थियो।
‘जब बच्चाको टाउको बाहिर आयो, हामी डरायौं’, भिक्टोरियाले भनिन्, ‘उनी नीलो देखिएकी थिइन्। हामीलाई अब के गर्ने भन्ने थाहा थिएन। त्यसपछि इरिनाले बिस्तारै बच्चाको टाउको
घुमाइन् र बल्ल बच्चा बाहिर आयो। उनी सुरुमा रोइनन्। हामीले उनलाई बिस्तारै पिट्न थाल्यौं र केही बेरपछि उनी रोइन्। त्यसपछि हामी सबै खुसी भयौं।’
गत ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसका दिन जन्मिएकी छोरी एलिसालाई देखेर अन्नाका पतिको पनि खुसीको आँसु बग्यो।
दुई दिनपछि बुचा युक्रेनी सरकार र रूसी रक्षा मन्त्रालयको सहमतिमा तय गरिएको निकासी कोरिडोरमध्ये एक भएको घोषणा गरियो। ‘हामीले अन्त जाने कि नजाने भनेर त्यो रातभरि नै छलफल गरेर बितायौं’, अन्नाले भनिन्।
जब बच्चाको टाउको बाहिर आयो, हामी डरायौं। उनी नीलो देखिएकी थिइन्। हामीलाई अब के गर्ने भन्ने थाहा थिएन। त्यसपछि इरिनाले बिस्तारै बच्चाको टाउको घुमाइन् र बल्ल बच्चा बाहिर आयो। उनी सुरुमा रोइनन्। हामीले उनलाई विस्तारै पिट्न थाल्यौं र केही बेरपछि उनी रोइन्। त्यसपछि हामी सबै खुसी भयौं।
– भिक्टोरिया जाब्रोडस्काया बुचा, युक्रेन
अन्ततः उनी र उनका पतिले आफ्नो नवजात शिशुका साथ उक्त ठाउँ छाड्ने निर्णय गरे। उनीहरूले आफू बाहिर निस्कने बाटो सुरक्षित छ कि छैन भनेर सोधपुछ गर्न थाले र आफू जाने ठाउँको नक्सा फोनमा डाउनलोड पनि गरे।
भोलिपल्ट २१ वटा गाडी सहर छाडेर कीभतर्फ लाग्यो। अन्नाको बच्चा जन्माउन मद्दत गर्ने भिक्टोरियाले गाडीमा एउटा सेतो झन्डा राखिदिइन्। जसमा ‘बालबालिका’ भन्ने चिह्न पनि टाँसिएको थियो।
‘बाटोमा हामीले भयानक दृश्यहरू देख्यौं’, अन्नाले भनिन्, ‘केवल चलचित्रमा मात्र देखेका यस्ता दृश्यलाई मैले वास्तविक जीवनमा देख्छु होला भनेर कहिले सोचेको थिइनँ। सडकमा लाशहरू यत्रतत्र छरिएका थिए। घरहरू ध्वस्त पारिएका थिए। रूसी ट्याकंहरू सडकमै पार्क गरेर राखिएका थिए। उनीहरूले आफ्ना बन्दुकलाई सडकतिरै फर्काएर राखेका थिए। हामी त्यही बाटो कटेर जाँदा उनीहरूले हामीलाई नै बन्दुक पड्काउन सक्छन् भनेर हामी धेरै डराएका थियौं।’
विस्थापितहरू सबै रूसी चेकपोइन्टहरू पार गर्दै केही घण्टापछि सुरक्षित तबरमा कीभ आइपुगे। त्यहाँबाट सबै जना आ–आफ्नो छुट्टै बाटो लागे।‘जब हामी हाम्रो सहरबाट बाहिर निस्कियौं, मैले आफ्नो मुस्कान रोक्न सकिन’, अन्नाले भनिन्, ‘हामी भाग्न सफल भयौं भनेर मलाई अझै विश्वास लागेको थिएन।’
अन्ना मातृत्वको आनन्द लिइरहेकी छन्। उनी आमाबाबुलाई आफ्नो नयाँ नातिनीसँग चाँडै परिचय गराउन उत्साहित छिन्। तर, अहिले उनका धेरै आफन्तले देश छाडिसकेका छन्। उनी र उनका पतिले भने छाड्न सकेका छैनन्। अन्नाका अनुसार उनले अझै आफूलाई पूर्णरूपमा सुरक्षित महसुस गर्न सकेकी छैनन्।
‘बुचा र देशका अन्य भागमा के भइरहेको छ भन्नेमा मात्र हिजोआज मेरो मनमा चिन्ता आइरहन्छ’, उनले भनिन्, ‘यो एकदमै अविश्वसनीय लाग्छ। तर, आशा गर्छौं कि हामी चाँडै आफ्नो घर फर्कन पाउँछौं।’
- बीबीसीबाट आंशिक अनुवाद