द्वेष तोड्ने पर्व
गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म एकआपसमा रङ छ्यापेर, अबिर दलेर रमाइलो गरी होली मनाउने गरिन्छ। होलिका नामकी राक्षसलाई मारेको खुसीमा यो पर्व देशभर धूमधामका साथ मनाइन्छ। यसैकारण यसलाई होली या फागु भनिएको हो भन्ने किंवदन्ती छ। वर्षमा एकचोटी आउने यो चाडलाई सभ्य तरिकाले मनाउनुपर्छ। कसैको इच्छाविपरीत रङ नदल्ने, आफू आफूमा मात्रै रङको प्रयोग गर्ने र घरपरिवार, छरछिमेकी, साथीभाइ मिलेर सुखी साटासाट गर्यौं भने मात्रै सही अर्थमा होली पर्वको महत्त्व बढ्छ।
भागवत कथामा वसन्त ऋतुमा एकपटक गोपिनीहरू यमुना नदीमा नुहाइरहेका थिए। त्यसैबेला भगवान् श्रीकृष्ण यमुनामा टुप्लुक्क आइपुगे। गोपिनीहरूका लुगा लिए। रुखको हाँगामा झुन्ड्याई श्रीकृष्ण भगवान् बाँसुरी बजाउन थाले। मुरलीको सुमधुर आवाज सुनेर गोपिनीहरू हेर्न लागे। आफ्ना लुगाहरू रहेको ठाउँ नजिक भगवान् श्रीकृष्णलाई देखेर उनीहरू लजाए। लाज ढाक्न उनीहरू पानीमा डुबे। हात जोड्दै भगवान् श्रीकृष्णसँग आफ्ना लुगा मागे। त्यसपछि भगवान् श्रीकृष्णले नांगै नुहाएको प्रायश्चित गर्न उनीहरूलाई भगवान् सूर्य नारायणलाई अर्घ दिन लगाए। त्यसपछि मात्रै गोपिनीहरूका लुगा फिर्ता दिए। भगवान् श्रीकृष्णले गोपिनीहरूसँग रसरंग गरी फागु खेलेको कुरा भागवतमा उल्लेख छ। फागु खेल्ने चलन पहिलेदेखि नै चलिआएको भन्ने प्रष्ट छ।
हाम्रो समाजमा फागु पर्वलाई खुसी र उमंगको चाडको रूपमा लिइन्छ। यसलाई उल्लासमय वातावरणमा मनाउने गरिन्छ। वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ तीनछत्रे होलीको चीर ठड्याइएपछि होली पर्व प्रारम्भ हुन्छ। बसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रूपमा पनि लिइन्छ। यसर्थ चीरदाहको नामले परिचित फागुलाई असत्यमाथि सत्यको विजयोत्सवका रूपमा लिने गरिन्छ। यो पर्व सत्ययुगदेखि नै आरम्भ भएको हो।
विश्वको जुनसुकै कुनामा बस्ने हिन्दूहरूले पनि यो पर्व धूमधामसाथ मनाउने गर्छन्। यसकारण करिब डेढ अर्ब हिन्दुको साझा पर्व होभन्दा अत्युक्ति नहोला। देशभित्र भने हिन्दु मात्र नभई गैरहिन्दूले पनि अबिर र रङ दल्दै यो पर्व मनाउने गर्छन्। होली आपसी सद्भाव र भाइचाराको पर्व हो भन्ने प्रष्टै अनुभूत हुन्छ। नेपाली संस्कृतिको अभिन्न अंगको रूपमा रहेको यस पर्वले आपसी द्वेष र द्वन्द्वलाई तोड्ने गर्छ। सँगसँगै नेपालीहरूलाई एकआपसमा जोड्ने काम पनि गरेको छ।
फागु पर्वले नयाँ उत्साह, जोस, जाँगर र नवीन ऊर्जालाई छताछुल्ल गरी सामाजिक एकता र सद्भाव मैत्री र भाइचारा जगाउने गर्दछ। उराठलाग्दो चिसो मौसमलाई बिदा गर्दै बसन्तको सिर्जनात्मक बिहानी बोकेर आउने एक साता लामो फागु उत्सवको उष्कर्ष फागु पूर्णिमा नै हो। सबै जाति, सबै धर्म, संस्कृतिप्रेमीको यो सिंगो चाड तराई क्षेत्रमा त झनै विशेष धूमधामका साथ मनाइन्छ। यसर्थ होलिका दहनकै खुसीयाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ। अर्को एक प्रसंगअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षस्नीलाई उल्टै कृष्णले मारेकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ र अबिर छरी खुसीयाली मनाएकोले त्यसैको सम्झनामा अध्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ। मिथिलाञ्चलको जनकपुरदेखि सम्पूर्ण समथर भू–भाग र काठमाडौं उपत्यकालगायत पहाडी पवित्र होली उत्सवले चिनिने फागु पर्वलाई ‘चीरदाह’ को रूपमा पनि लिइन्छ। असत्यमाथि सत्यको विजय, कुण्ठा, ईष्र्या र वैमनस्यतामाथि सरल, सहज, द्वेषरहित र स्नेहको विजय उत्सवको रूपमा लिइने यस पर्वलाई मैथिली भाषामा ‘सम्मत जलाउने’ पनि भनिन्छ। विशेषगरी युवा पुस्ताको लागि रंगीन र जीवन्त यो महोत्सव होलिका महोत्सवले पनि चिनिएको छ। होलीको दिन एकआपसमा अबिर दल्ने र मीठामीठा खानेकुरा खाने चलन छ। फागुन शुक्ल पूर्णिमाका दिन
आफन्तहरूबीच रङ र अबिरले रंगिएर बडो हर्षोल्लासका साथ मनाइने गरिन्छ। फागुपूर्णिमा अर्थात् होलीको प्रचलनबारे विभिन्न धार्मिक कथाहरू भेटिन्छन्।
पछिल्ला दिनमा होली पर्वमा केही विकृति र विसंगति पनि देखिन थालेका छन। वर्षमा एकचोटी आउने यो चाड सभ्य तरिकाले मनायौं भने मात्रै यसको महत्त्व बढ्छ। कसैको इच्छाविपरीत रङ नलगाऔं। खुलेर उमंगसाथ होली मनाऔं।