सच्चिए प्राविधिक, तोकिएकै स्थानमा ट्रमा सेन्टर बनाउन सहमत
ढल्केवर(धनुषा) : संघीय सरकारले धनुषाको ढल्केवरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरको विवाद समाधान हुने भएको छ। जग्गा छनौट प्रक्रियामा उत्पन्न भएको विवाद अन्त्य हुने भएको हो।
सहरी विकास तथा भवन निर्माण विभागको जनकपुरधामस्थित संघीय आयोजना कार्यान्वय इकाई धनुषाका प्राविधिकहरुले जग्गा छनौट प्रक्रियामा मनपरीरुपमा राख्दै आएको मापदण्डबाट ‘ब्याक’ भएपछि साविककै प्रस्तावित जग्गामा ट्रमा सेन्टर निर्माण गर्ने सहमति भएको छ। ट्रमा सेन्टरको निर्माणस्थल राजमार्गबाट बढीमा ५ सयमिटर भित्र हुनुपर्ने भनेर राख्दै आएका मापदण्डबाट उनीहरु पछि हटेका हुन्।
हाल मिथिला नगरपालिका–७ साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरेको छ। तर प्रस्तावित जग्गालाई जनकपुरधामका संघीय आयोजना कार्यान्वय इकाईले मापदण्डको बहाना देखाएर उक्त जग्गा अनुपयुक्त रहेको पत्र मिथिला नगरपालिकाको कार्यालयलाई थमाउदै आएका थिए।
यसअघि गत फागुन २९ गते अन्नपूर्ण पोस्टको अनलाइन संस्करणमा ‘सहरी विकासका प्राविधिकको चरम बदमासी, ट्रमा सेन्टर योजना अलपत्र’भन्ने शीर्षकमा समाचार प्रकाशित भएको थियो। आयोजना कार्यान्वयन इकाईले ट्रमा सेन्टर निर्माणका लागि राजमार्ग भन्दा दाँयाबाँया ५ सयमिटर भित्र जग्गा हुनुपर्ने शर्त राखेका थिए।
तर प्राविधिकहरुले मुख्य एजेण्डा बनाएको राजमार्गदेखि दायाँबायाँ ५०० मिटर भित्र जग्गा हुनुपर्ने मापदण्ड स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले बनाएको ‘स्वास्थ्य भवन पूर्वाधार डिजाईन तथा निर्माण सम्बन्धी निर्देशिका २०७३’ भन्दा बाहिर रहेको तथ्य अन्नपूर्णले सार्वजानिक गरेको थियो।
आईतबार मिथिला नगरपालिकाको सभाहलमा स्थानीय, जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रतिनिधी र प्राविधिकसहितको सर्वपक्षिय बैठकले साविककै प्रस्तावित जग्गामा ट्रमा सेन्टर बनाउन सिफारिस गर्ने निर्णय गरेको छ। बैठकमा संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका ईन्जिनियर कुन्दन कर्ण र सब–ईन्जिनियर सुनिल ठाकुर उपस्थित थिए।
उनीहरुले ढल्केवरस्थित गैरी टोलको प्रस्तावित जग्गाको अवलोकनसमेत गरेका छन्। जग्गा अवलोकन गर्ने क्रममा अन्नपूर्णसँग कुराकानी गर्दै ईन्जिनियर कर्णले भने ‘ट्रमा सेन्टरको लागि जग्गा उपयुक्त छ। हामीलाई जग्गा देखाउन सीधा बाटो छोडेर अर्कै खोला बाटोबाट ल्याइएको थियो। हामीले अब वास्तविकता थाहा पायौं।’
नगरपालिकाले दुईवटा शर्त पूरा गरे यसै जग्गामा ट्रमा सेन्टर निर्माण हुने पनि उनले खुलाए। ‘यो जग्गाको लागि दुईवटा विषयमा नगरपालिकाले प्रतिबद्धता जनाउनुपर्छ। पहिलोमा, जग्गालाई पूरा क्लियर गरेर दिनुपर्छ। अर्को, ट्रमा सेन्टरसम्म पुग्ने सडकको कालोपत्रे गर्ने जिम्मा नगरपालिकाले लिनुपर्छ। यी दुवै कुराको नगरपालिकाबाट प्रतिबद्धता आए हामी यसै जग्गाको सिफारिस गर्छौं,’ ईन्जिनियर कर्णले भने।
प्राविधिकहरुले राखेको दुईवटै शर्त नगरपालिकाले लिखितरुपमै प्रतिबद्धता जनाएको छ। निर्माणस्थललाई तयारी अवस्थामा दिने र ट्रमा सेन्टरसम्म पुग्ने कालोपत्रे सकडकको जिम्मा नगरपालिकाले लिने भनेर गरिएको प्रतिबद्धतापत्र नगरपालिकाका मेयर हरिनारायण महतोले प्राविधिक टोलीलाई हस्तान्तरण गरेका हुन्।
दुवै शर्त पूरा भएपछि ढल्केवरको साविकको प्रस्तावित जग्गा हरेक दृष्टिकोणले उपयुक्त रहेको भनेर गरिएको सर्वपक्षिय बैठकको माइन्युटमा आयोजना कार्यान्वयन इकाईका प्राविधिकद्वयले हस्ताक्षरसमेत गरेका छन्। अब तत्कालै उक्त जग्गा उपयुक्त रहेको व्रिफिङसहित सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग र मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयलाई सिफारिस गरिने ईन्जिनियर कर्णले जानकारी दिए।
वर्षौवर्षदेखिको स्थानीयको संघर्षबाट उपहारस्वरुप संघीय सरकारले ढल्केवरलाई किटान गरेर दिएको ट्रमा सेन्टर यथास्थानमै बन्ने भएपछि स्थानीयमा खुशीयाली छाएको छ। तर ट्रमा सेन्टर सार्न अझै जालझेल हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहनुपर्ने ट्रमा सेन्टर बचाउ संघर्ष समितिका संयोजक बुधेश्वर महतो बताउँछन्।
ट्रमा सेन्टर अन्यत्रै सार्ने षडयन्त्र अनुरुप प्रभावमा परेर प्राविधिकहरुले मापदण्डको नाउमा मनोमानी गरिहरेको तथ्य बाहिरिएपछि प्राविधिकहरु सहि बाटो रोज्न बाध्य भएको स्थानीय युवा योगेन्द्र महतोको बुझाई छ। अब फेरी पनि ट्रमा सेन्टर योजनामा दाँयाबाँया भए त्यसको परिणाम गलत हुने उनले चेतावनी दिए।