कानुनलाई हिंसाले नजितोस्
मोरङको लेटाङमा विद्यार्थीमाथि शिक्षकले यौन दुव्र्यवहार गरेको आरोप लाग्यो। ती शिक्षकलाई पक्राउ गर्न आइतबार प्रहरी विद्यालय पुग्यो। प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिन जानु विधिसम्मत कुरा थियो। आरोप लागिसकेको व्यक्तिलाई पहिला नियन्त्रणमा लिनु नै कानुनी प्रक्रिया अघि बढ्नु हो। शिक्षकसँग आक्रोशित स्थानीयलाई चित्त बुझेन र आफैं शिक्षकमाथि कारबाही गर्न तम्सिए। त्यसपछि शिक्षकसँगै भिडलाई नियन्त्रणमा लिने अर्काे दायित्व प्रहरीमाथि आइलाग्यो। स्थानीय भने प्रहरीमाथि नै जाईमात्रै लागेनन्, एकजना प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यानै लिए।
अरूलाई सुरक्षा दिन पुगेकी अर्थात् अर्काको ज्यान जोगाउन खटिएकै उर्मिलाको ज्यान जोगिएन। उर्मिलामाथि घरेलु हतियार र सिसा लगायत हतियार प्रहार भएको छ। घाँटीमै चोट लागेर उनको देहान्त भयो। कानुनकै पालना गराउन खटिएका प्रहरीमाथि भिडले गरेको आक्रमण अत्यन्त नृशंस थियो। मृत्यु जोकसैको पनि पीडादायी हुन्छ। ६ महिनाअघि मात्रै बिहे भएकी उर्मिला र उनका प्रहरी पति सँगसँगै बस्ने सपना पनि साकार हुन नपाएको तथ्यले झन् उनको मृत्युलाई थप कारुणिक बनाएको छ। यो एकजनाको ज्यान गएको भन्नेखाले ‘सामान्य आकस्मिक’ घटना होइन। कानुनको पालना गराउने निकाय प्रहरी फिल्डमा खटिँदा खटिँदै त्यही निकायको एक सदस्यमाथि भएको जघन्य अपराधलाई एउटा सामान्य हत्याका रूपमा मात्रै लिन सकिन्न। भिडको मनोविज्ञान कतिसम्म आपराधिक रूपमा उत्रन्छ भन्ने यसले देखाएको छ। प्रहरीमाथि नागरिकले भरोसा नगर्ने प्रवृत्तिको पुनरावृत्ति पनि हो लेटाङ घटना।
यौन दुव्र्यवहार आरोपित शिक्षकको दुष्कर्मको पनि पुनरावृत्ति भएको र यसअघि मिलापत्र गराएरै उनलाई उन्मुक्ति दिइएको भन्ने खबर पनि आएको छ। त्यसो हो भने यसअघि कारबाही नभएबाटै उनी थप दुष्कर्मका लागि प्रेरित भएको हुनुपर्छ। यसबाट सिक्नुपर्ने पाठ भनेकै कुनै पनि अपराधलाई गाउँघरमै गुपचुप पार्ने र मिलापत्रका भरमा टुंग्याउन कदापि हुँदैन भन्ने हो। त्यसो गर्नु आफैमा अर्काे अपराध हो। गैरकानुनी काम हो।
आरोप लागिसकेको व्यक्ति नियन्त्रणमा लिइसक्दा पनि चर्काे दबाब सिर्जना गर्ने र यस्तै अप्रिय घटना सिर्जना गर्ने अरू पनि उदाहरण नेपाली समाजमा छन्। यो नेपाली समाजमा पछिल्लो समय बढेको अराजकता, विधिको शासन विपरीतको हर्कत हो। क्रूर र आततायी प्रकारको यो अपराध भत्र्सना र निन्दनीय त छँदैछ, यस्तै घटना दोहोरिन नदिन दोषीलाई कारबाही गरेर मात्रै पुग्दैन। समाजमा भड्किएको हिंसात्मक मनोविज्ञानको उपचार खोजी गरिनुपर्छ। प्रहरीमाथि नागरिक भरोसा बढाउने रचनात्मक गतिविधि गरिनुपर्छ। समाजमा बढेको हिंसात्मक मनोविज्ञानको निराकरणका उपाय राज्यस्तरबाटै खोजिनुपर्छ।
प्रहरीले शिक्षकलाई पक्राउ गरिसकेपछि पनि सोमबारसम्म भिडको आक्रोश मत्थर नभएरै कफ्र्यू नै लगाउनुपर्यो। यति विधि स्थानीय किन आक्रोशित भए भन्ने कोणबाट पनि घटनालाई केलाउनुपर्छ। सनातनी ढंगले छानबिन समिति बनाउने र त्यसको प्रतिवेदनलाई धमिराको आहारा बनाउने परम्पराकै कारण पनि यस्ता हिंसात्मक घटना पुनरावृत्त भएका हुन सक्छन्। लेटाङ जस्तै काण्ड दोहोरिन नदिन समाजमा विकसित समस्याको गहिरो अध्ययन गरी त्यसको निराकरण खोजिनुपर्छ। लेटाङ घटनामा आरोपित शिक्षक र भिडमा बसेर प्रहरीको ज्यानै लिने दुवैथरीमाथि निष्पक्ष अनुसन्धान गरी कारबाही गर्नु राज्यको कर्तव्य हो। यसमा राज्यले कुनै कसर बाँकी नराखोस्।