अनि करिश्मा बनिन् कमरेड

अनि करिश्मा बनिन् कमरेड

काठमाडौं : अभिनेतृ करिश्मा मानन्धरले चलचित्र क्षेत्रमा लामो समय एकछत्र राज गरिन्। उनले अभिनय गरेको चलचित्र २ सय हाराहारी छन्। उनी कला क्षेत्रमै निरन्तर समर्पित छिन्। उनै अभिनेतृ मानन्धर मंगलबार एमालेमा प्रवेश गरेकी छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाइदिएर आफ्नो पार्टीमा स्वागत गरे। यससँगै अभिनेतृ मानन्धर ‘कमरेड करिश्मा’ बनेकी छन्। उनी म्युजिक भिडियोको सुटिङ स्थगन गरी पार्टी प्रवेश कार्यक्रममा आएकी थिइन्। दुई दिनदेखि नयाँ भिडियोको सुटिङ चलिरहेको छ।

एमाले प्रवेश गर्नुमा आफ्नो व्यक्तिगत स्वार्थ नभएको अभिनेत्री मानन्धरले बताइन्। आफूले कुनै पदको सौदाबाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता बन्न आएको उनले बताइन्। ‘कुनै सौदाबाजी होइन, कुनै आग्रह पनि छैन’, उनले भनिन्, ‘नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरूसँग जोडिन आएकी छु।’ उनले वर्षौंदेखि योगदान दिएकाहरू पनि यो पार्टीमा रहेको बताइन्। ‘बार्गेनिङ हो कि भन्ने पनि साथीहरूको मनमा लागेको होला। यो कुनै सौदाबाजी होइन। म नितान्त एमाले कार्यकर्ता भएर जोडिन आएकी हुँ’, उनले भनिन्, ‘पार्टीले मेरो मूल्यांकन गर्छ भने पछि हट्दिनँ।’ 

एमाले हुनुमा तीन कारण 

उनले एमाले आउनुमा तीन कारण रहेको बताइन्। उनका अनुसार नेता भनेको जनताको अगुवा हो। जनतालाई भिजन देखाउने व्यक्तित्व हो। नेता भनेको जनताको भविष्य सुनिश्चित गर्ने पात्र हो।

‘त्यो गुण एमाले अध्यक्ष केपी ओलीमा पाउँछु। उहाँमा प्रतिबद्धता, क्षमता, कुशलता छ। उहाँ जहिले पनि सक्रिय रहनुहुन्छ। केपी ओलीको इनर्जी देखेर चकित भएकी छु’, उनले भनिन्, ‘एकदिन गएर उहाँलाई भेटे। उहाँको कुरा सुनेर म कहिलै थाक्दिनँ। उत्साहजनक, प्रेरणादायी कुराहरू उहाँले गर्नुहुन्छ। मेरो विचारमा त्यो मैले मात्रै होइन। अर्को पार्टीको मान्छेले पनि अध्यक्षज्यूका गुणगान गाएकै हुन्छन्।’

राजधानीमा मंगलबार एमाले प्रवेश गरेपछि पूर्वमन्त्री प्रेमबहादुर सिंह​ रअभिनेत्री करिश्मा मानन्धर अध्यक्ष केपी शर्मा ओलीका साथमा।

दोस्रो कारणबारे उनले भनिन्, ‘सबैले गणतन्त्र, लोकतन्त्रका कुरा गर्छन्। तर, एमालेले लोकतन्त्र र समृद्धिको वास्तविक एजेन्डा बोकेको छ। एमालेले समानता र सामाजिक न्यायसहितको समृद्धि हाँसिल गर्दै समाजवादसम्म जाने बाटो लिएको छ। महिलालाई अगाडि बढाउन यो पार्टीको भूमिका अग्रणी रहेको छ।’

उनले तेस्रो कारणबारे यसो भनिन्, ‘अधिकांश व्यक्तिले यो पार्टीप्रति सद्भाव राख्छन्। वृद्धदेखि युवाको मनमनमा छ एमाले। एमाले भनेको अहिलेको अवस्थामा ठूलो पार्टी हो। आफ्नो भूमिका सशक्त अगाडि बढाएको छ।’

उनी यसअघि डा. बाबुराम भट्टराईले नेतृत्वको नयाँ शक्तिमा लागेकी थिइन्। पछि त्यो पार्टीमा निस्क्रिय भइन्। नयाँ शक्ति जनता समाजवादी पार्टीमा विलय भइसकेको छ। एसईई दिँदा उनको चर्चा भएको थियो। उनले छोरीभन्दा पछि एसईई पास गरेकी हुन्। कक्षा १२ पनि पास गरेर आफू स्नातक तहमा भर्ना भएको उनले बताइन्। पीएचडी नै गर्ने लक्ष्य रहेको उनको भनाइ छ। 
उनलाई एमालेमा ल्याउन एमाले सांसद नवराज सिलवालको भूमिका देखिएको छ। ललितपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गोदावरी टौखेल घर भएकी मानन्धरले एमाले प्रवेश गर्नुपूर्व दुईपटक अध्यक्ष ओलीसँग भेट गरेको सुनाइन्। 

डेढ दशकपछि फर्किए सिंह

पूर्वमन्त्री प्रेमबहादुर सिंह डेढ दशकपछि ‘पुरानो घर’मै फर्किएका छन्। आफू नेतृत्वको समाजवादी जनता पार्टी नै नेता सिंहले मंगलबार एमालेमा समाहित गरेका हुन्। एमाले छोडेपछि उनले उक्त पार्टी खोलेका थिए। सिंह समानुपतिक प्रणालीबाट संविधानसभामा पुगेका थिए। 

२०७२ सालमा उनी खानेपानी तथा सरसफाइमन्त्री भएका थिए। संविधानले थ्रेस होल्डको व्यवस्था गरेपछि २०७४ को निर्वाचनमा सिंह संसद्मा आउन सकेनन्। 

२०५६ को निर्वाचनमा उनी कालिकोटबाट एमाले सांसद निर्वाचित भएका थिए। सिंह २०५४ मा राष्ट्रियसभा सदस्य निर्वाचित भएपछि कानुन तथा न्यायमन्त्री बनेका थिए। उनी २०६२/६३ देखि एमालेमा निस्क्रिय भए। अन्तरिम संसद्मा उनलाई एमालेले समावेश गराएन। त्यसपछि एमालेबाट बाहिरिएर २०६४ मा नयाँ पार्टी बनाएको उनले बताए। उनी २०६६ मा पुनः कानुनमन्त्री भएका थिए। उनले भने, ‘म नेकपा एमालेबाट एक्लै गएको थिएँ। अहिले सानै भए पनि एउटा शक्ति लिएर फर्केको छु।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.