सद्‍गुरुको ‘माटो जोगाउँ’ अभियानमा नेपालीको साथ, सद्गुरुले भने- नेपालसँग मेरो मुटुदेखिकै सम्बन्ध छ

सद्‍गुरुको ‘माटो जोगाउँ’ अभियानमा नेपालीको साथ, सद्गुरुले भने- नेपालसँग मेरो मुटुदेखिकै सम्बन्ध छ

लन्डन: ‘सेभ सोइल’ अर्थात् माटो जोगाउँ अभियानका लागि यतिबेला विश्वविख्यात योगगुरु सद्‍गुरु विश्व बाइक यात्रामा छन्। गत शनिबार लन्डनबाट आफ्नो यात्रा प्रारम्भ गरेका ६५ वर्षीय गुरुले सय दिनभित्र ३० हजार किमी पार गर्दै भारत पुग्ने लक्ष्य राखेका छन्।

पर्यावरण संरक्षणको सन्देशसहित सद्‍गुरुले सुरु गरेको अभियानमा उनलाई संसारभरबाट समर्थन मिलेको छ। यो अभियानमा विश्वका चर्चित कलाकार, खेलाडी, सेलीब्रेटीहरुले पनि ऐक्यबद्धता जनाएका छन्।

सद्‍गुरुको सय दिने बाइकयात्रा सुरु हुनुपूर्व बेलायतका नेपालीले पनि उनलाई भेट्ने र उनको अभियानमा समर्थन जनाउने मौका पाए। 

लन्डनस्थित समाजसेवी व्यवसायी रविजंग लामिछानेको पहलमा गतसाता लन्डन दूतावासमा सद्गुरुलाई स्वागत गरियो। सद्‍गुरु दूतावास प्रवेश गर्दा राजदूत आचार्य, दूतावास कर्मचारी, व्यवसायी लामिछानेले पञ्चकन्यासहित स्वागत गरेका थिए।  

दूतावासमा भेला भएका बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिमाझ सद्‍गुरुले आफ्नो ‘सेभ सोइल’ (माटो जोगाउँ)बारे बताएका थिए। नेपालसँगको सम्बन्धबारे चर्चा गर्दै भने, ‘नेपालसँग मेरो मुटुदेखिकै सम्बन्ध छ।’

विगत १७ वर्षयता हरेक वर्ष नेपाल पुग्दै आएका उनले नेपालको अलौकिक प्राकृतिक सम्पदा र सौन्दर्यको प्रशंसा गरे। तर उचित संरक्षण र व्यवस्थापनमा दूरदर्शिता खड्किँदा ती सम्पदा विनाशको खतरातर्फ धकेलिएको चिन्ता पनि व्यक्त गरे।

जलवायु परिवर्तनको असरस्वरूप नेपालका सर्वोच्च हिमशिखरहरु पग्लिने र होचिने क्रम सुरु भएकामा उनको खास चिन्ता थियो। ‘सेभ सोइल’ (माटो जोगाउँ) भन्ने सन्देशसहित लन्डनदेखि सुरु गरेको बाइकयात्रा विभिन्न २७ देश पार गर्दै भारतसम्म पुगेर पूरा हुने छ। आफ्नो अभियानका माध्यमबाट विश्वका कम्तीमा ३ अर्ब मानिसले माटो संरक्षणका निम्ति संकल्प गर्ने उनको आशा छ।

पर्यावरणीय सन्तुलनका लागि माटोको रक्षा नै सबैभन्दा महत्वपूर्ण दाबी गर्ने सद्‍गुरुले यसबारे संसारभरका मानिसलाई सचेत बनाउने र नीति निर्माताहरुलाई प्रभावित तुल्याउने लक्ष्य लिएका छन्। कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले सद्‍गुरुको अभियानले जलवायु परिवर्तनका प्रतिकूल असर भोग्न बाध्य नेपालजस्ता मुलुक बढी लाभाञ्वित हुने धारणा राखे। 

नेपाल सरकारले सन् २०४५ सम्ममा नेट जिरोमा पुर्‍याउने र सन् २०३० सम्ममा वनको क्षेत्रफल ४५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको उनले स्मरण गराए।

उता, व्यवसायी रविजंग लामिछानेकै आयोजनामा सोही दिन बेलुका बेलायती संसद भवनमा सद्‍गुरुको सम्मानमा विशेष समारोह आयोजना भयो। जहाँ बेलायती मन्त्री, सांसद, लर्ड्स, नेपाली तथा भारतीय राजदूत, विभिन्न समुदायका व्यवसायीलगायतको जमघट थियो।

कार्यक्रमका आयोजक व्यवसायी लामिछानेले सद्‍गुरुको अभियान सारा विश्वका लागि र त्यसमा पनि नेपालका लागि अझ बढी लाभदायक रहेकोले आफूले समर्थन गरेको सुनाए। सद्‍गुरुको सम्मान र अभियानको समर्थनमा उपस्थित बेलायती राजनीतिज्ञहरुप्रति उनले आभार प्रकट गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.