भारतबाट बिजुली आयात ठप्प
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले दुई दिनदेखि भारतबाट बिजुली आयात गर्न सकेको छैन। भारतमा बिजुलीको मूल्य अकासिएका कारण आयात गर्न नसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए।
‘हामीले कम मूल्यमा बिड गरेका कारण नपरेको हो। बढीमा भारतीय रुपैयाँ ३ प्रतियुनिटमा बिजुली पाइरहेकामा २ दिनदेखि भारतीय रुपैयाँ २० सम्म बिजुली बिक्री भइरहेको छ,’ भट्टराईले भने। रुस र युक्रेनबीच चलिरहेको युद्धका कारण आयातीत कोइलाको भाउ महँगो हुँदा भारतमा नै उत्पादन घटेकाले नेपालले बिजुली नपाएको हो।
भारतबाट बिजुली नआउँदा मंगलबारदेखि औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको छ। बुटवल, वीरगन्ज, विराटनगरलगायतका औद्योगिक क्षेत्रमा बिजुली लोड घटाएको प्राधिकरणले जानकारी दिएको छ। औद्योगिक क्षेत्रमा लोडसेडिङभन्दा पनि लोड कम गरेको प्रवक्ता भट्टराई बताउँछन्।
यो छोटो समयको अभाव भएकाले आफैं समाधान हुने अपेक्षा प्राधिकरणको रहेको छ। नेपालका उद्योगले करिब ३ सय ५० मेगावाटसम्म बिजुली खपत गर्छन्। गार्हस्थ्य तथा व्यापारिक क्षेत्रमा लोडसेडिङ हुन नदिन औद्योगिक क्षेत्रमा लोड कम गरेको प्राधिकरण बताउँछ।
बुधबारको बिडिङमा करिब १६ सय मेगावाट आवर बिजुली परेको छ। बुधबार भारतीय एक्सचेन्ज मार्केटमा बिडिङका लागि नेपालले १२ भारतीय रुपैयाँ प्रतियुनिट खर्च गरेको भट्टराईले बताए। उनका अनुसार, एक्सचेन्जमा २४ घण्टालाई १५ मिनेटको ब्लकमा विभाजन गरी ९६ ब्लक बनाएको छ। त्यसमा १० ब्लकमा मात्र नेपाललाई बिजुली परेको छ।
बुधबार भारत सरकारले एक्सचेन्ज बजारमा प्रतियुनिट बिजुलीको मूल्य अधिकतम भारु २० निर्धारण गर्न नपाउने सिलिङ तोकिदिएको छ। यस कारण बिजुलीको अधिक मूल्य भारु २० सम्म रहने देखिन्छ।
- भारतमा बिजुलीको मूल्य अकासियो
- ७ रुपैयाँको बिजुलीको व्यापार मूल्य ३२ रुपैयाँ
- औद्योगिक क्षेत्रमा विद्युत् लोड कम गरी वितरण
भारतमा कोलबाट बिजुली उत्पादन घटेर आन्तरिक बजारमा नै बिजुलीको माग बढी भएकाले भाउ बढेको प्राधिकरणका नायब प्रबन्ध निर्देशक मनोज सिलवालले बताए। सोमबार भारतबाट ३ सय ५७ मेगावाट आयात भएको प्राधिकरणको तथ्यांक छ। अहिलेको उच्च माग १ हजार ५ सय ४० मेगावाट हो। तर, प्राधिकरणबाट ८ सय २५ मेगावाट र निजी क्षेत्रका ३ सय मेगावाट गरी जम्मा १ हजार १ सय २५ मेगावाट मात्र उपलब्ध छ। उच्च माग भएको समयमा माथिल्लो तामाकोसीले सहयोग गरिरहेको छ।
नेपालले भारतबाट बिजुली कसरी खरिद गर्छ ?
आन्तरिक उत्पादनले नधानेपछि नेपालले चार सय मेगावाटसम्म भारतबाट आयात गर्दै आएको छ। प्राधिकरणले बिडिङ रेट कम भएकाले नेपालले नपाएको भनिरहँदा भारतबाट आयात हुने बिजुली सबै एक्सचेन्ज मार्केटबाट खरिद नहुने स्रोतको भनाइ छ। स्रोतका अनुसार, नेपालले बिहार सरकारबाट पावर एक्सचेन्ज एग्रिमेन्टअन्तर्गत ५० मेगावाटसम्मका लागि एउटा मूल्य र त्योभन्दा माथि जति बिजुली खरिद गर्छ, त्यसको एउटा फिक्स मूल्यको सहमति छ। बिहार सरकारबाट नेपालले दुई सय मेगावाटसम्म निरन्तर बिजुली पाइरहेको पनि थियो।
यस्तै, १ सय ५० देखि २ सय मेगावाट ढल्केवर–मुज्जफपुर प्रसारण लाइनबाट खरिद गर्न दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ। नेपाल र भारतबीच ४.६ रुपैयाँमा टेक अर पे (लिए पनि नलिए पनि हामीले पैसा दिनै पर्ने र भारतले फिक्स दरमा नेपालले मागेको बेला दिनुपर्ने) भएको छ। यस्तै नेपालले पीटीसी इन्डियासँग पनि पीपीए गरेको छ। जुन टनकपुरबाट ७० मेगावाट बिजुली आउँछ। यी बिजुली पावर एक्सचेन्जबाट किन्ने होइन।
यी तीन मोडमा अपुग भएमात्र थोरै बिजुली एक्सचेन्ज मार्केटबाट किन्ने गरेको स्रोतको दाबी छ। ५० देखि सय गेगावाटसम्म बिजुली एक्सचेन्ज मार्केटबाट खरिद गर्ने गरिन्छ। जुन, ढल्केवर प्रसारणलाइनबाट नै आउँछ। तर, अहिले सबैतिरबाट बिजुली आएको छैन।