टेनिस खेलाडी बार्टीको सन्न्यास
लन्डन : भर्खरै २५औं वसन्त टेकेकी विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइघ बार्टीले अकस्मात् सन्न्यासको घोषणा गरेर विश्व खेल जगतलाई आश्चर्यमा पारेकी छन्। बार्टीले सामाजिक सञ्जालमार्फत बुधबार व्यावसायिक खेलाडी जीवन टुङ्ग्याउने निर्णय गरेकी हुन्।
उनले अन्य सपनाहरू पछ्याउनका लागि सक्रिय खेलाडी जीवनलाई टुङ्ग्याउन लागेको बताएकी हुन्। ‘अहिले म एकदमै रित्तो छु। शारीरिक रुपमा तपाईहरूलाई दिन सक्ने मसँग केही छैन’, उनले भनेकी छन्, ‘मैले आफ्नो मनलाई सोधें, यो नै उचित समय हो भन्ने लाग्यो र व्यवसायिक सक्रिय खेल जीवन टुङ्ग्याउने निर्णयमा पुगें। आफ्नो यो निर्णयमा म खुसी छु।’
उनले आफ्नो निर्णयलाई मानिसले नबुझे पनि आफूले सही निर्णय लिएको बार्टीले बताएकी छन्। ‘अस्लेइघ बार्टीसँग धेरै सपना छन्। उनी त्यसलाई पछ्याउन चाहिन्छन्। यसका लागि मैले आफ्नो घर परिवार छाडेर टाढाको यात्रा गरिरहन पर्दैन। परिवारसँगै बसेर पनि त्यो सपना पूरा गर्न सक्छु। किनभने म आफ्नो परिवारबाट कहिल्यै पनि टाढा हुन चाहदिनँ’, बार्टीले भनेकी छन्। उनले सन् २०२१ को विम्बल्डनको उपाधि जितेपछि आफ्नो दृष्टिकोणमा परिवर्तन आएको बताएकी छन्। ‘विश्व खेलकुदमा आफ्नो अन्तिम व्यक्तिगत लक्ष्य प्राप्त गरिसकेपछि पनि म पूर्ण रुपमा सन्तुष्ट हुन सकिनँ। म फरक रुपमा केही खोजिरहेको थिएँ’, बार्टीले भनेकी छन्, ‘यस खेलले मलाई जे दियो, त्यसका लागि म सबैप्रति आभारी छु र गर्वको महसुस गरिरहेको छु।’
सन् २०१९ मा फ्रेन्च ओपनको उपाधि जितेपछि बार्टी विश्व नम्बर एक बनेकी थिइन्। उनले लगातार ११४ साता शीर्ष स्थानमा रहँदै कीर्तिमान पनि बनाएकी छन्। उनीभन्दा अघि स्टेफी ग्राफ र सेरेना विलियम्स १८६ हप्ता र मार्टिना नवरातिलोभा १५६ हप्तासम्म शीर्ष स्थानमा बसेका थिए। बार्टीले तीन वटा ग्रान्डस्लाम जितेकी छन्। उनले गत जनवरीमा अस्ट्रेलियन ओपन जितेकी थिइन्।