स्वदेशकै अस्पताल र जनशक्ति अब्बल : अध्यक्ष ओली
उदयपुर : त्रियुगा नगरपालिका-९ का ८१ वर्षिय चन्द्रबहादुर खड्का शुक्रबार निकै खुशी थिए। उनको खुशी दुई वटा रहेछन्। पहिलो खुशी उमेर ढल्कदै जाँदा आँखाको ज्योति निकै कमजोर भई पुन नयाँपन पाएकोमा थियो भने अर्को टेलिभिजन र फोटोमा मात्र देखिएका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आफ्नो आँखाको पट्टी खोली दिएकोमा।
बिहीबार आँखा अप्रेशनपछि पट्टी लगाएर अस्पतालमा बसेका खड्काको आँखाको पट्टी ओलीले खोलिदिएका थिए। पट्टी खोल्नसाथ उनलाई ओलीले मलाई देखे र चिने भन्दै हालखबर सोधेका थिए। जवाफमा उनले भने, ‘बुढेसकालमा आज प्रत्यक्ष देख्न पाए निकै खुशी छु र नेपाली जनताले तपाई जस्तो विकासे नेता चाहेका छन्।'
खड्का जस्तै त्रियुगा नगरपालिका-९ का अर्का ७५ बर्षिय टंकबहादुर बुढाथोकी पनि आँखाको ज्योति पाएकोमा निकै खुशी थिए। खड्का, बुढाथोकी जस्तै २५ जनाले शुक्रबार पहिलोपटक जिल्लाबाटै अप्रेशन सेवा पाउँदा निकै खुसी देखिए। त्यसक्रममा अस्पताल व्यवस्थापन परिवारलाईसमेत धन्यावाद दिए।
मदन भण्डारी आँखा अस्पतालको भवन र सेवा सूचारुको उद्घाटन गर्न हेलिकोप्टर चढेर दिउँसो १:३५ बजे सदरमुकाम गाईघाट पुगेका ओलीले पहिलो पटक आफ्ना नेताको नामबाट बनेको अस्पताल र यसको सुविधा प्रति निकै चर्चा गरे। २५ जना अप्रेशनका विरामीको आँखाको पट्टी खोलेर उनीहरुको अवश्था बुझ्दै मञ्चमा पुगेका अध्यक्ष ओलीले करिव २० मिनेटको मन्तव्यमा खर्चिए।
त्यसक्रमा उनले विकास र सेवाका लागि जनप्रतिनिधि भन्दा माथि उठेर सेवा गरेकोमा अस्पताल सञ्चालक समितिलाई धन्यवाद ज्ञापन गरे। उनले भने, ‘उदयपुरमा जे विकास भएको छ त्यस प्रति म असाध्यै खुशी छु, त्यसमा पनि जिल्लामा एउटा नमुना काम जसले सुरुवात गर्यो यो निकै प्रशंसायोग्य छ।'
‘पार्टी, विचार, आश्था जतासुकै भएपनि मानवता सोचेर अस्पताले सेवा प्रदान गर्नु पर्छ,' अध्यक्ष ओलीले भने, ‘यो नेपाली जनताको अस्पताल भएकाले सबै नेपालीले सेवा पाउनु पर्छ।' उनले विदेशमा राम्रो उपचार हुन्छ भन्ने भ्रम त्यागेर स्वदेशका अस्पताल, प्रविधि र जनशक्ति दंक्ष छन भन्ने सन्देश दिनु पर्ने धारणा व्यक्त गरे।
‘हिजो जस्तो अवश्था छैन्,' उनले भने, ‘अहिले नेपालमा प्रविधि र जनशक्ति निकै अव्वल छ, त्यसैले आफु प्रधानमन्त्री हुँदासमेत किड्नी ट्रान्सफ्र स्वदेशमै गरेको हुँ।' आफुले सरकारको नेतृत्व गर्दा स्वास्थ्यको क्षेत्रमा निकै फड्को मारेको बताउँदै गाउँ गाउँमा अस्पताल र एमविविएस डाक्टर पुर्याएको बताए। अध्यक्ष ओलीले आँखा अस्पताल परिषरमा आमा मधुमाया ओलीको स्मृतिमा विरुवासमेत रोपेका छन्।
सोही अवसरमा अस्पतालका अध्यक्ष भागवत राउतले केपी ओली नेतृत्वको सरकारको पालामा स्वास्थ्य मन्त्रालयबाट २ करोड मुल्यको प्रविधि उपलब्ध भएको बताए। उनले आँखा र कानको उपचार सँगै केहि समय भित्रै किड्नीका विरामीका लागि डाइलासिस सेवा उपलब्ध गराउने तयारी थालिएको बताए।
कार्यक्रममा अस्पतालको सेवा सुचारु र भवन निर्माणमा सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो। त्यसैगरी उपचार सेवामा सहज पुर्याउन सहयोग गर्ने रौतामाई गाउपालिका, कटारी र बेलका नगरपालिकासँग गरिएको सम्झौता गरिएको थियो।
अस्पताल सञ्चालनका लागि नेपाल सरकारले २ करोडको उपकरण, आईकियर फाउण्डेसनले ४ बर्षका लागि चिकित्सकको सुविधामा खर्च गर्ने गरी ७५ लाख र सेवा फाउण्डेसनबाट सहयोगको गरेको छ। पहिलो पटक सेवा उपलब्ध गराउन लागिएको अस्पतालमा शारिरीकरुपले अशक्त, महिला, जेष्ठनागरिक, बालबालिका मैत्री, रहेको छ। त्यस्तै बालबालिकाका लागि खेल सामग्री, महिला स्ततपान अलग–अलग कक्ष रहेका छन्।
सगरमाथा आँखा अस्पताल लाहानको प्राविधिक तथा नेत्र ज्योति संघको व्यवस्थापनमा २०६५ सालबाट प्राथामिक सेवा सूचारु गरिएको अस्पतालमा हालसम्म १ लाख ७० हजार ५२८ जनाले सेवा लिएको अध्यक्ष राउतले बताए। भवननिर्माणमा संबिधानसभा सदस्य मन्जुकुमारी चौधरीको निर्वाचन पुर्वाधार विकास कार्यक्रमबाट ४० लाख, जापानिज राजदुतावासबाट ९० लाख ५० हजार, १ नम्बर प्रदेश सरकारबाट भवन निर्माण ५० लाख र अस्पताल जाने सडक निर्माणमा ३२ लाख, सडक विभागमदन भण्डारी सडक आयोजनाबाट २२ लाख बराबरको १८० मिटर कालोपत्रे सडकमा सहयोग भएको जनाइएको छ।
अध्यक्ष ओलीले शुक्रबार नै नेकपा एमालेले सदरमुकाम गाईघाटमा आयोजना गरेको वृहत जनसभालाई सम्बोधन गरेका थिए। त्यसक्रममा नेपाली काँग्रेस, नेकपा माओबादी, राप्रपा पार्टी परित्याग गरी एक हजार कार्यकर्ता एमालेमा प्रवेश गरेको सचिब कालुमान लामाले जानकारी दिए।