मन्त्र सम्पदामा शिल्पी समुदाय
वेदमा विज्ञान र शिल्पकलाको अस्तित्व छ भन्ने कुरा पाश्चात्य विद्वान्हरूले पनि स्वीकारेका छन्। हिमवत्खण्डको पृष्ठभूमिमा वेदको प्रादुर्भाव भएको भनिन्छ। यसमा एक पूर्ण जीवनबारे धार्मिक विचार प्रस्तुत गरिएको छ अनि त्यसलाई आधुनिक विज्ञानले पनि सत्य प्रमाणित गरेको वर्णन छ। वैदिक धर्मशास्त्र र विभिन्न वैदिक साहित्यहरूमा शिल्पसभ्यता र शिल्पकारिता गर्ने शिल्पी समुदायको शिल्पशास्त्र र शिल्पविज्ञानको विभिन्न कोणबाट चर्चा र वर्णन छ। यी यावत् सन्दर्भलाई विश्लेषण गर्ने हो भने मानवसभ्यताको आदिकालदेखि नै शिल्पकारिताका सर्जक समुदायलाई ‘शिल्पी’ भनिएको पाइन्छ। जसले यिनको भूमिका अहम् देखिएको छ।
श्रीमद्भागवद्गीता (४।१३) मा भनिएको छ, ‘गुण र कर्म/व्यवसाय विभागका आधारमा मबाट चार वर्णको रचना गरिएको छ।’ शिल्पी समुदायको सन्दर्भ यहाँ जोड्न खोजिएको छ। भनिन्छ, मन्त्रद्वारा नै सम्पूर्ण चराचर जगत् परिचालित छ र मानिसको जीवन मन्त्र, तन्त्र र यन्त्रमा आधारित छ। सामान्य अर्थमा मानसिक शक्ति नै मन्त्र हो। यही मन्त्र सम्पदाका दुई पाटालाई आधार मानी नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित यो ‘गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा’ पुस्तकको शोधकार्यलाई डीबी नेपाली ‘दमु’ले अनुसन्धान गरेको पाइन्छ। दुई पाटामा पहिलो ‘मन्त्र–तन्त्र सम्पदा’ र दोस्रो ‘औषधीशास्त्रीय जडीबुटी उपचार विधि’। दमुले यस अनुसन्धानमा मन्त्र–तन्त्रभित्र समाहित सामुदायिक शिल्पकौशल, औजार, ज्ञान, सीपकला, प्रविधिमा आधारित मथ्य, कथ्य, लेख्य, भोग्य र रच्य मन्त्र–तन्त्रलाई समेटेका छन्। यहाँ मथ्य–धामीले विष्णु देवताको मन्दिरभित्रको थरी (धामी बस्ने ठाउँ) माथि जाँदा पुकार गर्ने मन्त्र हो।
मन्त्र सम्पदा पुस्तकमा नेपालको गण्डकी प्रदेशका अनेकन् जैविक विविधता र मानव समुदायको सन्दर्भको खोजी छ। संघीयतापछि गण्डकी भनिएको यस प्रदेशमा बाहुन, ठकुरी, क्षेत्री, गुरुङ, मगर, कामी, दमाई र सार्कीको बसोबास छ। ‘गुरुङ र मगरले बाहुन र जोगीबाट अनेकन् विद्या साधेका छन् तर गुरुङ र मगर गाउँमा बाहुन र जोगीभन्दा कामी, दमाई पहिले पुगेका छन्। गुरुङ र मगरको आफ्नै भाषा र जातीय संस्कार छ तर गुरुङ र मगरमा भाँडा कमाउने र लुगा सिउने आफ्नै वर्ग छैन। त्यसकारण गुरुङ र मगरले आफ्नो गाउँठाउँमा कमाउने कामी र सिउने दमाईलाई ल्याएर घरजग्गाको व्यवस्था गरी बसोबास गरे। अतः यी कामी, दमाईले बाहुन र क्षेत्रीले भन्दा पहिले गुरुङ र मगर गाउँमा नेपाली भाषा भित्र्याए। यसरी नेपाली भाषा र संस्कृतिको सम्प्रेषणमा शिल्पी समुदायको महत्त्वपूर्ण भूमिका छ।’, प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले पुस्तकको भूमिकामा लेखेका छन्।
विशेष प्रकारको कोड भाषा प्रयोग गरी शत्रुको सम्पूर्ण जानकारी दिने सञ्चार–प्रविधि नगरा बजाएर अर्थात् खुट हानेर दमाईहरूले संकेत दिएपछि मात्रै गोर्खाली सेनाले अंग्रेज सेनामाथि आक्रमण गर्ने सन्दर्भ पुस्तकमा छ। यसबाट दमाई जाति आदिम सञ्चारकर्मी भएको अनुमान सहजै लगाउन सकिन्छ। खासगरी कर्णालीमा विगतमा वारिको गाउँबाट पारिको गाउँ पुग्न दिनभर लाग्थ्यो, त्यतिबेला पनि मान्छे बोलाउने सांकेतिक धुन भेरी र नगराको प्रयोगबाट गर्थे। ‘बच्चा जन्मियो, झट्टै आऊ ! तिम्रो आफन्त बिरामी छन्, भेट्न आऊ ! देउताको पूजा छ, चाँडै आओ ! तिमीलाई भेट्न मान्छे आएको छ, तुरुन्तै आऊ !’ यस्ता सूचना÷समाचार दमाई जातिले खुट हानेर सजिलै पुर्याउने गरेको सन्दर्भ उल्लेख छ। पुस्तकमा दमाई मात्र होइन, कामी र अन्य सबैजसो शिल्पी समुदायले समाजमा निभाएका भूमिकाका विस्तृत चर्चा गरिएको छ। अर्को सन्दर्भ कामी जातिबाट लिएको छु। जयविरे कामी चर्चित झाँक्री हुन्। उनले मौलिक रूपमा अगति परी मरेका वायु मसान फुक्ने मन्त्रको प्रयोग गरेको पुस्तकमा उल्लेख छ। उक्त मन्त्र ‘ओम् बाँधौं बाँधौं शब्दबाट सुरु गरी नमोः नमः ओम् फट् ! छु ! मा टुंग्याइएको छ। यो मन्त्र ३, ५ वा ७ पटक मन्त्रिए विभिन्न तरिकाले मरेका मरिमसानको भड्किएको वायु आत्मालाई नियन्त्रणमा लिन सकिने उल्लेख छ। यस्तै, भूतप्रेत र पिशाच फुक्ने मन्त्र, मुटु वा गानो (देउकाँड) दुख्दा फुक्ने मन्त्र आदिको चर्चा विस्तृतमा छ।
सार्कीहरूले छालाको काम गर्थे। त्यसैले छालाजन्य रोगको औषधि गर्न सार्कीहरू सिपालु हुन्थे। त्यसैले सायद त्यतिबेलाका टक्सार र माल अड्डामा सार्कीको दरबन्दी हुन्थ्यो। महादेव शिवसँग शिल्पी समुदाय अभिन्न रूपमा जोडिएको सन्दर्भ पनि छ। मानसखण्ड र हिमवत्खण्डमा शिल्पी समुदाय किराँतीसँगै विचरण गर्ने रैथाने बासिन्दाको रूपमा रहेको अनुसन्धानकर्ता दमुले लेखेका छन्। लामो समयदेखि शिल्पी समुदाय बहिष्करणमा परे। उनीहरू किनाराकृत अवस्थामा छन्।
मन्त्र–तन्त्रका प्रभावशाली काम, शिल्पी समुदायको शिल्पसभ्यता, अछुतपना उत्पत्तिको ऐतिहासिक सन्दर्भ, कामी दमाई र सार्की जातिको सामाजिक चिनारी, झाँक्री मन्त्र–तन्त्रमा देवीदेवता उत्पत्ति, धामीझाँक्री मन्त्र–तन्त्र पद्धतिमा लुकेको जनविश्वास, मन्त्र–तन्त्रमा प्रयोग भइरहने भैरवको उत्पत्ति र गण्डकी प्रदेशका शिल्पी समुदायको मन्त्र सम्पदाबारे गहन विश्लेषण छ।
शासकहरूसँग प्राणको भिख मागेको अवस्थाबाट गुज्रिएकोदेखि शिक्षा र स्वास्थ्यमा समेत वञ्चित गरिएको शिल्पी समुदायको यथार्थ घटना सञ्चारमाध्यमबाट पछिल्ला वर्षमा पनि बाहिरिइरहेकै छन्। जसको आजसम्म लिखित इतिहास नहुनु दुःखद् पक्ष छँदैछ। ‘समाजमा शिल्पी समुदाय आजसम्म मानव बन्ने संघर्षमा समय खर्चिरहेका छन्। उनीहरू अमानवीयकरणमा धकेलिएका छन्। शिल्पी समुदायको सत्यतथ्य, वास्तविक इतिहासको छेउटुप्पो नै छैन। न टेक्ने अखेटो, न समाउने हाँगो भने जस्तो अवस्था छ। समुदायगत लिखित इतिहासको चिनोदशी नभएको अवस्थामा उनीहरूको मन्त्र सम्पदाको शोधकार्य गर्नु कम चुनौतीपूर्ण थिएन।’, दमुको भूमिकामा छ।
जातीय एवं सांस्कृतिक विभेदका कारण शिल्पी समुदायको अस्तित्व नष्ट भएको र वैभवपूर्ण एवं गौरवशाली इतिहास विकृत पारिएको आदि विषयलाई अनुसन्धानले पुष्टि गर्न खोजिएको पाइन्छ। शिल्पी समुदायको असली इतिहासलाई बुझ्न बुढापाका, किंवदन्ती, ऐतिहासिक गाथा, मन्त्र–तन्त्र र भौगोलिक तथ्य प्रमाणहरूलाई आधार लिन लिएको र अबका दिनमा पनि लिन सकिने शोधमा छ। जसमा मध्यपश्चिम र सुदूरपश्चिमका शिल्पी समुदाय अनादिकालीन रैथाने बासिन्दा रहेको ऐतिहासिक तथ्य–प्रमाणहरूबाट पुष्टि हुने तर्क छ। तर यो शिल्पी समुदायले सुदूरपश्चिम र मध्यपश्चिमबाट गण्डकी प्रदेश र अन्यत्र स्थानान्तरण हुने क्रममा प्राचीन प्रकृतिपूजा, मन्त्र–तन्त्र, झाँक्री, बोन परम्परा र संस्कृति बिर्सिदै गएको विषयमा पनि खोज केन्द्रित छ। उनीहरूको आदिम जन्मदेखि मृत्युसम्मका सामाजिक संस्कारहरू प्रकृतिपूजा र मन्त्र–तन्त्र परम्परासँग नजिक रहेको शोधका क्रममा पुष्टि भएको देखिन्छ। यो समुदायको मौलिकपन लोकसंस्कृति वा लोकसम्पदासँग जोडिएको देखिन्छ। त्यसैले यसको संरक्षण नहुँदा समयको प्रवाहसँगै यी सम्पदाहरू लोप
हुन सक्ने र सामाजिक अस्तित्वमाथि प्रश्नचिह्न आउने संकेत पनि शोधले गरेको छ।
नेपाली उखान छ– ‘नसेरो मरी जाँ, नासो नमर’। उखानले भनेजस्तै पुर्खाले अँगाल्दै आएको संस्कृतिको जगेर्ना गर्नु हामी सबैको दायित्व हो। अन्यथा जतिसुकै ठूलो पुँजी लगानी गर्दा पनि पूर्ववत् संस्कृति र सम्पदा फर्काउन वा पाउन सकिँदैन भन्ने मूलसन्देश यो कृतिले दिएको छ। सभ्य समाजको ऐना संस्कृति र सम्पदा भएकाले मानव जातिको अस्तित्वलाई यसले जोगाएको हुन्छ भनेर सबैले बुझ्न अब ढिला गर्नु हुँदैन। अमूर्त सांस्कृतिक सम्पदा मन्त्र, तन्त्र र यन्त्रको बारेमा अत्यन्तै कम अध्ययन भएको सन्दर्भमा प्रज्ञा प्रतिष्ठान, उपकुलपति डा. गुरुङ र यो कृतिका अनुसन्धानकर्ता दमु तीनैजना धन्यवादका पात्र हुन्।
कृतिमा १० परिच्छेद छन्। अनुसन्धानले नेपालमा मानव सभ्यताको विकास सन्दर्भ खोतलेको छ। यसमा नेपाली समाजको सामाजिक–संस्कृतिक इतिहास जसमा प्राचीनकाल, मध्यकाल र आधुनिक कालबारे ब्याख्या छ। मन्त्र–तन्त्रका प्रभावशाली काम, शिल्पी समुदायको शिल्पसभ्यता, अछुतपना उत्पत्तिको ऐतिहासिक सन्दर्भ, कामी दमाई र सार्की जातिको सामाजिक चिनारी, झाँक्री मन्त्र–तन्त्रमा देवीदेवता उत्पत्ति, धामीझाँक्री मन्त्र–तन्त्र पद्धतिमा लुकेको जनविश्वास, मन्त्र–तन्त्रमा प्रयोग भइरहने भैरवको उत्पत्ति र गण्डकी प्रदेशका शिल्पी समुदायको मन्त्र सम्पदाबारे गहन विश्लेषण छ।