'देखे पो जिन्दगी'

'देखे पो जिन्दगी'

चितवन : उमेर ढल्किसक्यो। भीरपाखा गर्नुपर्ने बाध्यता। त्यसमाथि आँखाले मेसो पाँउदैन। राप्ती नगरपालिका–१२ चात्राङ हो कान्छीमायाको घर। नगरपालिका भए पनि मोटरबाटोबाट उनको घर पुग्न झण्डै तीन घण्टा हिँड्नुपर्छ। 

डाँडामाथिको घाँम जस्तै उनको जिन्दगी आँखाको ज्योतिबिना अन्धकारमय थियो। अर्काको सहारामा दिसापिसाब जानुपर्ने समस्या थियो। पैसा नभएकै कारण  अस्पताल जान सकिनन्। आँखा स्पष्ट नहुँदा टाढा जान सक्दैन थिइन्। ‘आँखा नदेखेपछि काम गर्न सक्थेन खाने मात्रै हो। बच्चाको भरमा बाँचेको थियो’, कान्छीमायाले भनिन्, ‘गरिबको बच्चा पैसा छैन कसरी अस्पताल जानु  ?’

परको गाउँमा आँखा शिविर आएपछि श्रीमान् श्रीमती मिलेर आँखा देखाउन तीन घण्टा हिँडेर आए। उनी उपचारका लागि लोथरको यौरालिटार आएकी थिइन्। रेखदेखका लागि  श्रीमान् ७६ वर्षका अविलाल चेपाङ सँगै थिए।  एक वर्षदेखि ठप्प भएको आँखाले दृष्टि पाएपछि उनले नयाँ  जिन्दगी पाएकी छन्। 

पहाडमै आएको शिविरमा उनले आँखाको शल्यक्रिया गरेकी हुन्। ‘मर्ने बेलामा संसार देख्न पायो, इष्टमित्र देख्यो भनेर रमाएको हो’ खुसीले गद्गद् कान्छीमायाले भनिन्, ‘मर्ने बेला भए पनि आँखा देख्यो। अहिले पो जिन्दगी देख्यो।’

श्रीमतीले आँखा देख्न सक्ने भएपछि श्रीमान् अविलाल धेरै खुसी देखिन्थे। श्रीमतीको कपाल मुसार्थे, डो¥याएर हिँड्थे। एकछिन पनि श्रीमतीलाई छोड्दैनथे। ‘दिसापिसाब फेर्न पनि मुस्किल थियो। दुर्गमको परिवार हामी। पैसा भएपो अस्पताल जाने’ उनले भने, ‘केही नगरे पनि बुढेसकालमा बूढीले सबैलाई देख्न पायो खुसी लागेको छ।’ 

राप्ती नगरपालिका–१३ चेउदिङका ८६ वर्षका रामप्रसाद प्रजा आँखा जचाँउनकै लागि तीन घण्टा हिँडेर आए। रामप्रसाद जस्तै पैसाको अभावमा उपचार गर्न नसेकर घरैमा बसेका धेरै छन् । तर, आँखाको ज्योति फर्किएकोमा उनी खुसी छन्। ‘राम्रोसँग नदेख्दा एकै ठाउँमा बस्न पथ्र्यो’, उनले भने, ‘पैसा नभएपछि सबै सहन पर्ने रहेछ अब त जिन्दगी पाएँ।’ पोल्किमकी ७० वर्षीया फुलमाया चेपाङ पनि खर्च जुटाउन नसक्दा एक वर्षदेखि घरैमा थिइन्। धमिलो देख्ने उनले पल्लो गाँउमा आएको शिविरको फाइदा उठाइन्। ‘श्रीमान् खुमबहादुर तीन वर्ष अघि बिते। एक्लो मान्छे कही जान सकिनँ। ‘पहाडमा बस्ने दुखिया मान्छे यस्तै त हो। मान्छे छैन कसले लैजाने ?’ उनले भनिन्, ‘आँखा देख्यो भने आफैं गरेर, हेरेर खान पाउँथ्यो।’

चेपाङहरूले नियमित उपचार गराउन सक्दैनन्। धुलो र धुँवामा काम गर्ने हुनाले आँखामा समस्या देखिन्छ। बुढ्यौली लागेपछि अस्पताल जान पनि सक्दैनन्। भौगोलिक हिसावले शल्यक्रिया गर्न जटिल भए पनि विकटमा प्रभावकारी भएको वरिष्ठ आँखा चिकित्सक डा. कमल खड्काले बताए। ‘आँखामा समस्या भए पनि उपचार नगरी घरमै बसेको पाइयो’ डा. खड्काले भने, ‘यहाँ मोतीबिन्दुको समस्या धेरै रहेछ। यस्तो बिकटमा सेवा दिन पाउनु राम्रै उपलब्धि हो।’

यहाँका स्थानीय सामान्य औषधि उपचार स्वास्थ्य चौकीमा गर्छन्। स्वास्थ्य चौकी आउन पनि चार-पाँच घण्टा हिँड्नु पर्छ। आँखाको उपचार गराउन भरतपुर आउनु पर्छ।  कतिपयसँग  अस्पतालसम्म जाने भाडा समेत हुँदैन। गाउँमा आएको निःशुल्क आँखा शिविरले उनीहरूलाई राहत दिएको छ। ‘नेपाल हेल्प ’ ले गरेको आँखा शिविरमा करिब तीन सय जनाको आँखाको उपचार गरिएको थियो। २५ जनाले आँखाको ज्योति पाए। ती सबै वृद्धावस्थाका हुन्। ‘हामीले सुचना पाए अनुसार आँखाको उपचारमा पहुँच नपुगेको भन्ने समस्या देखेपछि शिविर ल्याएका हौं,’ कार्यकारी निर्देशक कृष्ण ढकालले भने ‘हामी मोतिबिन्दु शल्यक्रियाको उपकरणसहित टोली नै आयौं। जुन वर्गले उपचार पाए त्यसबाट हामी खुसी छौं।’ राप्ती नगरपालिकाको वडा नम्बर ११ ,१२ र  १३ लाई लक्षित गरेर शिविर गरिएको थियो।  नगरपालिका भएपनि स्थानीयले सुविधा पाएका छैनन्।

स्वास्थ्य उपचारका लागि दिनभर हिंड्नु पर्छ। आफ्नै पाखा पखेरामा रमाएका चेपाङ जातीले विकासको अनुभूति गर्न पाएका छैनन्। उपचारपछि आँखा देखेका उनीहरूले भने, ‘देखे पो जिन्दगी ...।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.