सिमरा गोल्डकप : एनआरटी सेमिफाइनलमा
सिमरा : न्युरोड टिम (एनआरटी) १२औं जितपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालमा शनिबार भएको खेलमा विजय युथ क्लब हेटौंडालाई ३–१ गोलले स्तब्ध पार्दै एनआरटी अन्तिम चारमा पुगेको हो।
एनआरटीको जितमा मेसुके अलोमोउले दुई र स्टेफन समिरले एक गोल गरे। हेटौंडाका लागि विमल रानामगरले एक गोल फर्काएका थिए। प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयमा एनआरटीले दुई गोल थप्दै अन्तिम चारको यात्रा तय गरेको हो। ‘ए’ डिभिजन क्लब एनआरटीविरुद्ध उत्कृष्ट सुरुवात गरेको हेटौंडाले सम्हालिन नसक्दा पराजय भोग्न बाध्य भयो। खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसकेकको हेटौंडा अन्नतः एनआरटीलाई ३–१ को नतिजा सुम्पदै घर फर्कियो।
खेलको १८औं मिनेटमा हेटौडाका विमल रानामगरले उत्कृष्ट हेड गोल गरेका थिए। अमिर श्रेष्ठको पासलाई सदुपयोग गर्दै विमलले गोल गरेका थिए। उनको गोलले उत्साहित बनेको हेटौंडा सम्हालिन नसक्दा लगत्तै बराबरी गोल खान पुग्यो। एनआरटीका मेसुकेले खेलको २३औं मिनेटमा विशाल तामाङको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।
हेटौडाविरुद्ध एनआरटीले दोस्रो हाफमा उत्कृष्ट खेल पस्किएको थियो। अतिरिक्त समयको सुरुमै एनआरटीले अग्रता लिएको थियो। मेसुकेले व्यक्तिगत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि अतिरिक्त समयको २५औं मिनेटमा स्टेफन समिरले गोल गर्दै एनआरटीलाई जित दिलाए।
एनआरटीको जितमा दुई गोल गरेका मेसुके खेलको म्यान अफ दी म्याच घोषित भए। उनले पाँच हजार पुरस्कार प्राप्त गरे। प्रतियोगिताअन्तर्गत आइतबार हिमालयन शेर्पा र विभागीय टोली एपीएफ क्लबबीच खेल हुनेछ।
नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता चैत्र १९ गतेसम्म सञ्चालन हुनेछ।