तस्करको लस्कर
देशले रोक लगाएको कुनै पनि वस्तुको आयात–निर्यात तस्करी हो। रोक नलागेकै वस्तु गैरकानुनी तवरले आयात–निर्यात गर्नु पनि तस्करी हो। कानुनी उन्मुक्ति लिएर गरिने आयात–निर्यात तस्करी हो। तर, नेपालमा तस्करी हुने वस्तु नुनदेखि सुनसम्म छ। भन्सार छलेर नुन ल्याउनु पनि तस्करी हो। सुनको तस्करी त नेपालमा निकै ठूलो मात्रामा भइरहेको पछिल्ला वर्ष किलोका किलो समातिएको परिमाणले प्रष्ट गर्छ। वन्यजन्तुका रक्तचन्दन, हाडखोर, अखेटोपहार, गैंडाको खाग, सुपारीलगायत वस्तु नेपालबाट तस्करी हुने वस्तुको सूचीमा छन्। नेपाल प्रहरीले तस्करी भएर आएका वा जान लागेका वस्तु बरामद गरेर बुझाएको राजस्वको मात्रा बर्सेनि ३ देखि ४ अर्ब रुपैयाँसम्म हुने गरेको छ। यो तथ्यांकले नै देखाउँछ कि तस्करको लस्कर कति हुन्छ भनेर।
अझ नसमातिएको परिमाण कति होला कति। तस्करीको सूचीमा पछिल्लोपटक खुलासा भएको छ घरपालुवा हात्ती। हो, नेपालबाट घरपालुवा हात्तीको भारतमा तस्करी हुने गरेको खुलेको छ। पर्सा जिल्लाको गाउँबाट दुईवटा घरपालुवा हात्तीसहित माउते र तस्करीमा संलग्न व्यक्तिलाई शनिबार नेपाल प्रहरीले पक्राउ गरेसँगै यस्तो रहस्य खुलेको छ। भारतीय राज्यहरूमा लगेर हात्ती बिक्री गर्ने धन्दा चल्दै आएको प्रहरीलाई सूचना त थियो। तर, प्रमाणसमेत भेटेको थिएन। यसपटक तस्करीमा संलग्नलाई उसले समात्न सकेको छ। अब यसको तस्करीको जालो पत्तो लगाउने दायित्व प्रहरीको काँधमा आएको छ।
वन्यजन्तु हात्तीलाई घरपालुवा बनाउने अनुमति नेपालको कानुनले दिएको छ। तर महत्त्वपूर्ण यो वन्यजन्तु विदेश पुर्याउने धन्दा गर्नचाहिँ पाइने कुरा होइन। उमेर अनुसार एउटा हात्ती १ देखि ३ करोड रुपैयाँसम्ममा बिक्री हुने हुँदा तस्करीको आँखा हात्तीमा लागेका हुन्। तस्करले नेपाल भारतको खुला सीमाको फाइदा उठाएको देखिन्छ। त्यसो त खुला सीमाको फाइदा अरू थुप्रै तस्करीमा दुरुपयोग हुँदै आएको छ। यसमा नेपाल भारत दुवैले संवेदनशील भएर सीमा सुरक्षालाई कडाइ गर्नुपर्छ। खुला सीमाको फाइदा उठाउनेहरू तस्कर मात्रै छैनन्, अपराधीहरू पनि छन्। जसले दुवै राष्ट्रलाई अनेक नोक्सान पुर्याइरहेको छ।
खुला सीमाबाहेकै पनि नेपालमा भन्सारकै बाटो हुँदै थुप्रै मालवस्तु तस्करी हुन्छ। वास्तविक मूल्यभन्दा कम मूल्यांकन गरिनु पनि छली धन्दा नै हो। तस्करी हो। किनभने त्यस्तोमा आर्थिक दायित्वबाट उन्मुक्ति लिइन्छ। जुन अवैध हो। अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर किलोका किलो सुन तस्करी हुँदै आइरहेको छ। खासमा त्यस्तो तस्करी रोक्ने निकाय भन्सार र राजस्वसँग सम्बन्धित कार्यालयको हो। तिनको फितलो जाँचकै कारण तस्करहरूको मनोबल उचो छ। मलद्वारमा हालेरसम्म सुनको अवैध आयात गर्ने हिम्मत गर्ने गरेका उदाहरण बग्रेल्ती छन्। खुंखार अपराधी चाल्र्स शोभराजले कुनै बेला नेपालको एयरपोर्टको फितलो जाँचलाई व्यंग्य गर्दै भनेका थिए– म यहाँबाट हात्ती पनि छिराउन सक्छु। घटनाक्रमहरूले उनको भनेको प्रमाणित नै जस्तो भइरहेको छ। करोडौं करोडका सुनलगायत मालताल तस्करी हुँदै आउने भनेको प्रतीकात्मक रूपमा हात्ती छिराउनु जस्तै त हो।
भन्सारको जाँचलाई कडाभन्दा कडा बनाउनु, खुला सीमामा सीमा सुरक्षा बलको सघन उपस्थिति र निगरानी बढाउनु नै सुनदेखि सुपारी हुँदै हात्तीसम्मको तस्करी रोक्ने उपाय हो। खागका लागि गैंडा नै मार्नेसम्मका क्रुर अपराध केही वर्षयता कम हुनुको कारण अपराधीमाथि सजाय हुनु थियो। गैंडा सुरक्षामा ध्यान बढाउनु, समुदायलाई सचेत बनाउनु थियो। हात्ती र अरू वस्तु वा वन्यजन्तुको हकमा पनि त्यसरी नै नागरिकस्तरबाटै सचेतना वृद्धि गर्नुपर्छ। यसरी राज्यका निकाय पूर्णतः कर्तव्यमा बफादार भए कुनै पनि तस्करी रोक्न सम्भव छ।