जितपुर सिमरा गोल्डकप : एपीएफ सेमिफाइनलमा
सिमरा : हिमालयन शेर्पा क्लबलाई स्तब्ध पार्दै सशस्त्र प्रहरीको एपीएफ क्लब १२ औं जितपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा आइतबार भएको खेलमा एपीएफले हिमालयन शेर्पालाई ३–२ गोलले स्तब्ध पारेको हो।
‘ए’ डिभिजनका दुई क्लबबीचको रोमाञ्चक भिडन्तमा विभागीय टोली एपीएफले बाजी मार्यो। एपीएफको जितमा दीपेश धिमाल, विके तामाङ र अर्मान्ड बेडमले गोल गरे। हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले दुई गोल फर्काए।
लगातार अवसर बनाएको एपीएफले खेलको २७औं मिनेटमा सफलता पायोे। कर्नर बललाई सदुपयोग गर्दै एपीएफका दीपेश धिमालले गोल गरेका थिए । पहिलो गोल गरेको केही मिनेटमै एपीएफले दोस्रो गोल थप्यो। नवीन लामाको पासलाई सदुपयोग गर्दै बिके तामाङले गोल गरे।
हिमालयन शेर्पाले खेलको ५०औं मिनेटमा गोल अन्तर घटायो। एपीएफका दीपेश धिमालले विकास मेराग्लियालाई डिबक्सभित्र लडाएपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले शेर्पालाई पेनाल्टी दिएका थिए। जसलाई कप्तान विश्वास श्रेष्ठले सदुपयोग गरे। शेर्पाले गोल फर्काएको केही समयमै एपीएफले पुनः गोल अन्तर बढायो। ५६औं मिनेटमा प्रदीप लामाको क्रसमा अर्मान्ड बेडमले गोल गरे। ६८औं मिनेटमा शेर्पाका कप्तान विश्वास श्रेष्ठले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए।
एपीएफका अर्मान्ड खेलको म्यान अफ दी म्याच घोषित भए। उनले पाँच हजार पुरस्कार पाए। प्रतियोगिताअन्तर्गत सोमबार आयोजक नव जनजागृति युवा क्लब र सुदूपश्चिम–११ बीच खेल हुनेछ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगिता चैत्र १९ गतेसम्म सञ्चालन हुनेछ।