वायु प्रदूषणको सकस

वायु प्रदूषणको सकस

केही दिनदेखि उपत्यकाका नागरिकले खुल्ला आकाश देख्न पाएका छैनन्। मौसम धुम्म हुँदा हवाई सेवा प्रभावित बन्न थालेको छ। पानी पर्न सकेको छैन। मौसम परिवर्तनसँगै प्रदूषण बढ्दै गएकाले रुघाखोकीका बिरामी बढ्दैछन्। जनमानसले प्रत्यक्ष अनुभव नगरे पनि वायु प्रदूषणबाट मन्दविष फैलिएको मौसमविद् बताउँछन्। यस्तो मौसमका कारण विश्वमा बर्सेनि हजारौं नागरिकको ज्यान जाने गरेको तथ्यांक छ। जनघनत्व र सवारीसाधनको उच्चचाप रहेका अन्य सहरहरू पनि केही दिनयता धुम्म छन्। अकस्मात उत्पन्न भएको यो असामान्य अवस्थाले तत्काल स्वास्थ्यमा खराबी नदेखाए पनि दीर्घकालीन असर पर्न सक्छ। प्रतिकूल मौसमले उत्पन्न गरेको यो अवस्थाबाट जोगिन सकिएन भने कुनै पनि बेला स्वास्थ्य समस्याको सामना गर्नुपर्ने पक्का छ। यसको एक मात्र उपाय भनेको व्यक्तिगत सतर्कता नै हो।

दूषित वायुलाई आकाश ढाक्ने गरी जम्मा भएको बादलले छेक्दा यताउता छरिन पाएको छैन। यसबाट तुवाँलोजस्तो देखिने कण बस्तीबाट निकै नजिक जम्मा भएका छन्। जुन प्रदूषण बढाउने मुख्य कारक हुन्। यो समस्याबाट उपत्यकावासीमा एक प्रकारको उकुसमुकुस अवस्था उत्पन्न गरिदिएको छ। भिजिलिबिटी घटाएको छ। यसले उपत्यकाको वायु प्रदूषणको तह उच्च बन्दै गएको देखिएको छ। यो खतराको संकेत हो। प्रदूषणको मात्रा घटबढ भइरहेकाले तत्काल साम्य हुने देखिँदैन। विश्वकै प्रदूषित सहरमा काठमाडौं छैटौं स्थानमा छ। यो वायुको अनुगमन गर्ने स्विस कम्पनी आईक्यूएयरले सार्वजनिक गरेको तथ्यांक हो। विश्वकै प्रदूषित देशको सूचीमा नेपाल १०औं स्थानमा छ। काठमाडौं उपत्यका धेरै प्रदूषित रहेको देखिएको छ। यो नेपालका लागि चुनौतीको विषय हो।

हरेक व्यक्तिले प्रदूषण निम्त्याउने क्रियाकलापलाई कसरी कम गर्न सकिन्छ भन्नेतर्फ सोच्नु अहिलेको आवश्यकता हो।

केही दिनअघि काठमाडौंको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूएआई) १५४ थियो। मंगलबार त्यो बढेर पुगेको तथ्यांक छ। बुधबार पनि त्यसै अनुरूप रह्यो। सामान्यतः शून्यदेखि ५० सम्मको एक्यूआईलाई सन्तोषजनक मानिन्छ। १५० भन्दा माथिलाई अस्वस्थ मानिन्छ। एक्यूआई १५० देखि २०० हुँदा संवेदनशील मानिसलाई असर गर्ने विज्ञहरू बताउँछन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार २०१ माथिले सबै उमेरसमूहका मानिसको स्वास्थ्य जोखिम बढाउँछ । अहिलेको मौसमलाई जोखिमपूर्ण मानिन्छ। प्रायः जाडोमा वायु प्रदूषण सबैभन्दा बढी हुने गरे पनि नियन्त्रणबाहिर गइरहेको मानवीय क्रियाकलापकै कारण बाह्रै महिना यो समस्याले सताउन थालेको छ। यसले मुटु, फोक्सो र मस्तिष्कघातसम्मका समस्या निम्त्याउने गरेको छ। यस्ता समस्याबाट विशेषगरी पाका उमेरका व्यक्तिलाई सताउने गरेको छ।

वायु प्रदूषण मात्रै नभएर समग्र वातावरणीय प्रदूषण न्यूनीकरणका लागि स्वदेश तथा विदेशमा हरेक वर्ष दर्जनौं सम्मेलन हुने गरेको छ। थुप्रै नीतिगत व्यवस्था पनि भएका छन्। तर कार्यान्वयन तहमा देखिएको फितलोपनका कारण समस्या न्यूनीकरण हुनुभन्दा पनि थप जटिल बनिरहेको छ। सवारीसाधनको स्वच्छता मापन गर्ने हरियो स्टिकर कार्यान्वयनबारे प्रभावकारी अनुगमन भएको छैन। उपत्यकाका मुख्य सडकहरू चिल्ला देखिए पनि गल्ली र भित्री सडकहरूको हालत दयनीय छ। भत्काएर पनि लामो समयसम्म निर्माण नगरिएका ती सडकबाट निस्केका धुलोहरू पनि प्रदूषणको अर्को कारक बनेको छ। लामो समयदेखि पानी नपरेकाले पनि समस्या विकराल बनिरहेको छ। दीर्घकालीन र अल्पकालीन रणनीति बनाएर यसको नियन्त्रण आवश्यक छ।

अहिले मौसम खराब छ। लाखौं व्यक्तिको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यो समस्याबाट मुक्ति पाउन केही समयका लागि सकेसम्म काम नपरी घरबाट बाहिर निस्कनु हुँदैन। अति आवश्यक काम नपरी सवारीसाधन चलाउनु हुँदैन। समस्या जटिल बन्दै गयो भने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेर भए पनि नियन्त्रण कोसिस गर्नुपर्छ। सरकारबाट वातावरणीय प्रदूषणको जोखिम निम्त्याउने थोत्रा सवारीसाधनको व्यवस्थापन गर्ने, विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्छ। हरेक व्यक्तिले प्रदूषण निम्त्याउने क्रियाकलापलाई कसरी कम गर्न सकिन्छ भन्नेतर्फ सोच्नु अहिलेको आवश्यकता हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.