पुटिनलाई उनका सैन्य सल्लाहकारले भ्रममा पारेको अमेरिकाको दाबी
वासिङटन डिसी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्ना सैन्य सल्लाहकारहरूले भ्रममा पारेको अमेरिकाले दाबी गरेको छ। जसका कारण उनी र सेना नेतृत्वबीच तनाव बढेको बीबीसीमा समाचार छ।
ह्वाइट हाउसका सञ्चार निर्देशक केट बेडिङफिल्डले पत्रकारहरूलाई भने, 'रुसी सेनाको कमजोर प्रदर्शन र प्रतिबन्धहरूबाट रुसी अर्थतन्त्रको कमजोर अवस्थाको बारेमा पुटिनलाई उनका सल्लाहकारहरूले भ्रममा राखेका छन्। किनभने उनका वरिष्ठ सल्लाहकारहरू पनि उनीसँग सत्य बोल्न डराउँछन्।'
उनले युक्रेनमा रुसको आक्रमणलाई ‘रणनीतिक गल्ती’ भएको बताए। साथै उक्त आक्रमणको कारण रुस लामो समयसम्मको लागि कमजोर भएको उनको भनाइ छ।
केट बेडिङफिल्डले अमेरिकासँग रूसले आक्रमण नगर्ने भनेको ठाउँमा आक्रमण गरिरहेको र अगाडि बढिरहेको प्रमाण भएको बताए।
रुसले मंगलबार किभ र चार्निहाइभमा सैन्य कारबाही घटाउँदै पूर्व डोनबास क्षेत्रमा ध्यान केन्द्रित गर्ने बताएको थियो। यद्यपि स्थानीय अधिकारीहरूले चार्नीहाइभमा रातभर आक्रमण जारी रहेको बताएका छन्। बीबीसी