रुसी सेना हमलाको लागि पुनः एकजुट भइरहेको नेटोको दावी
किभ : नेटोले युक्रेनमा रहेका रुसी सेना युक्रेनको पूर्वी भागमा आक्रमण बढाउन पुनः एकजुट भएको बताएको छ। नेटोका महासचिव जेन्स स्टोल्टबर्गले भने, 'रूसले आफ्ना सेनाहरूलाई पुनः एकीकरण गर्दैछ।'
रुसी सेनालाई थप हतियार उपलब्ध गराइएको उनले बताए। उनका अनुसार सैनिकको संख्या पनि बढाइएको छ। बेलायतले पनि रुसले छिमेकी राष्ट्र जर्जियाबाट १२ सयदेखि २ हजार सैनिकलाई युद्धमा ल्याउँदै गरेको बताएको छ।
रूसले मंगलबा युक्रेनमा आक्रमण कम गर्ने र डोनबासलाई मुक्त गर्नमा ध्यान केन्द्रित गर्ने भनेको थियो। नेटोका महासचिवले भने रुसले युक्रेनमा आफ्नो उद्देश्य परिवर्तन नगरेको आरोप लगाएका छन्।
उनले भने ,'हामीले सहरहरूमा रूसी आक्रमणहरू पहिलाकै गतिमा जारी रहेको देखिरहेका छौं। रुसले नयाँ ठाउँमा केही सेना पठाउँदैछ। हुनसक्छ यो डोनबासमा उपस्थित सेनाहरूलाई बलियो बनाउनको लागि गरिएको हो।'
तर नेटोले किभ र अन्य प्रमुख सहरमा रुसी आक्रमणमा कुनै कमी नआएको र आगामी दिनमा यस्ता आक्रमणहरू बढ्न सक्ने बताएको छ। बीबीसी