जितपुरसिमरा गोल्डकप : एपीएफ र एनआरटी भिड्दै
सिमरा : विभागीय टिम नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जितपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्दैछन्। सिमरा रंगशालामा हुने यी दुई टिमबीचको भिडन्त निकै रोमाञ्चक अनि प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामध्येको एक जितपुरसिमरा गोल्डकपको अन्तिम भिडन्त दुवै टिमका लागि निकै महत्त्वपूर्ण छ। दुवै टिम यो टाइटल जितेर ऊर्जाका साथ सिमराबाट फर्कन चाहन्छन्। जितपुरसिमरा गोल्डकपको टाइटल एपीएफ जिते चालू सिजनमा उसका लागि यो दोस्रो उपाधि हुनेछ भने एनआरटीले पहिलो उपाधि उचाल्नेछ।
माघमा सम्पन्न आहा रारा गोल्डकपको २० औं संस्करणको उपाधि जितेको एपीएफका लागि त्यसयता भाग लिएका दुई प्रतियोगिता सुखद रहन सकेनन्। झापा र बागमती गोल्डकपमा पहिलो खेलबाटै एपीएफ घर फर्कियो। बागमती गोल्डकप सकेर सिमरा आएको एपीएफले यस प्रतियोगितामा भने उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलको यात्रा तय गर्यो।
पहिलो खेलमा हिमालयन शेर्पालाई ३–२ ले पराजित गरेको एपीएफले दोस्रो खेलमा बागमतीलाई ४–१ ले पन्छायो। दुई महत्त्वपूर्ण जित हात पार्दै एपीएफ दोस्रो पटक जितपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो। यसअघि दोस्रो संस्करणमा फाइनलमा प्रवेश गरेको एपीएफ शेर्पासँग पराजित हुँदै उपविजेता बनेको थियो।
यसपटक शेर्पामाथि जित हात पार्दै प्रतियोगितामा विजयी सुरुवात गरेको एपीएफका लागि अन्तिम भिडन्त अर्को कारणले पनि महत्त्व राख्छ। जितपुरसिमरा गोल्डकपको १२औं संस्करणमध्ये ११ वटा संस्करणमा सहभागी एपीएफले उपाधि जित्न सकेको छैन। त्यसैले पनि यसपटक एनआरटीमाथि जित हात पार्दै एपीएफले जितपुरसिमरा गोल्डकपको टाइटल विजेताको सूचीमा आफूलाई उभ्याउन चाहन्छ।
यता दोस्रो पटककै सहभागितामा फाइनल प्रवेश गरेको टोली हो एनआरटी। उसका लागि पनि यो उपाधि महत्त्वपूर्ण छ। जारी सिजनमा मोफसलका प्रतियोगितामा राम्रो नतिजा ल्याउन नसकेको एनआरटीका
लागि विभागीय टोलीसँगको भेट निकै चुनौतीपूर्ण हुनेछ।
सुदूरपश्चिम गोल्डकप र बागमती गोल्डकपमा सहभागी हुँदै एनआरटी सिमरा आइपुगेको हो। दुईवटै प्रतियोगितामा एनआरटीले बागमतीसँग पराजय भोगेको थियो। यस प्रतियोगितामा भने यसअघिका बिजेतालाई पन्छाउँदै एनआरटीले फाइनलको यात्रा तय गरेको हो। पहिलो खेलमा विजय युथ क्लब र दोस्रो खेलमा आयोजक नवजनजागृतिलाई पराजित गर्दै एनआरटीले उपाधि होडमा आफूलाई उभ्याएको हो।
विजय युथ र जनजागृतिले जितपुरसिमरा गोल्डकपको उपाधि उचालिसकेका छन्। दुवै पूर्वविजेतालाई पराजित गरेको एनआरटी अन्तिम भिडन्तका लागि पूर्णरूपमा तयार देखिन्छ। एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य यसपटक आफ्नो टिमले उपाधि जितेर गोल्डकपको विजेतामा नाम लेखाउने बताए। जारी सिजनमा टिमको नतिजा सन्तोषजक नभएकाले पनि यो गोल्डकपको उपाधि टिम र एनआरटीका प्रशंसकका लागि महत्त्वपूर्ण रहेको शाक्यले बताए। ‘हाम्रा लागि यो उपाधिले निकै महत्त्व राख्छ। हामी यो उपाधि जितेर सबैलाई खुसी बनाउन चाहन्छौं’ शाक्यले भने।