भ्यु टावरबाट
तारेभीरको छेवैमा
बन्दैछ भ्यु टावर
के हेर्ने भ्यु टावरबाट ?
के देखिन्छ भ्यु टावरबाट ?
के तिम्रो भ्यु टावरबाट
मर्दै गएका इच्छाहरूसँग सकिनसकी
बाँचेको जीवन देखिन्छ ?
सडकमा पल्टेर भोको पेटको
सारंगी रेट्ने जीवन देखिन्छ ?
भोकाएकी आमाको दूध नआएपछि
रुँदा रुँदा आँसु सुकेर
कलेटी परेको बच्चाको मुहार देखिन्छ ?
के तिम्रो भ्यु टावरबाट
बन्द हड्तालको दिन
आगो नबल्ने मजदुरको चिसो चुल्हो देखिन्छ ?
असमयमै चाउरिएको भरियाको
निधारको बोझ र भारीको डोब देखिन्छ ?
आफ्नै उमेरका सुकिला दौतरीहरू
स्कुल गएको हेरेर
मन अमिलो पार्दै
धुलोमा खेल्ने बाबुनानीहरू देखिन्छन् ?
के तिम्रो भ्यु टावरबाट
दूरदराजको गाउँमा
सिटामोल र जीवन जल नपाएर
मृत्युसँग हारेको लास देखिन्छ ?
हिउँद र बर्खासँग पौंठेजोरी खेल्दाखेल्दै
उदांगिएको, उजाडिएको
नागरिकको घरबास देखिन्छ ?
महाशय !
यदि तिम्रो भ्यु टावरबाट
आममान्छेको जीवन देखिन्न भने
त्यसको काम के ?
यतिका लागि
भ्यु टावरबाट बाइनाकुलरले हेर्नु पर्दैन हजुर
भ्यु टावरको सिसाको भुइँमा हिँड्नु पर्दैन हजुर
यो त सहरको सडकबाटै देखिन्छ
बस्! पर–परका अग्ला घरहरू र
भुइँबाटै देखिने
डाँडाहरू हेर्न मात्र
तिम्रो भ्यु टावरको के काम ?