गन्धर्व सभ्यताको सिंहावलोकन
पुस्तकले शिल्पीहरूको विगतको गौरवशाली इतिहासको गुमेको कडीलाई जोडेर नयाँ इतिहास निर्माण गर्ने प्रयास गरेको छ।
मानव सभ्यता विकासको एउटा कालखण्डमा हिमवत् खण्डको विशाल भूभागभित्र रैथाने गन्धर्व जाति शासकको रूपमा रहेको पाइन्छ। उनीहरूले शिल्पकला, संस्कृति, सभ्यताको विकास गर्दै यक्ष, किन्नर, किराँतहरूसँग हातेमालो गरेको भेटिन्छ। यसरी लामो समयसम्म नेपालको अस्तित्वमा रहेको जाति हो, आदिवासी रैथाने गन्धर्व। गन्धर्वको गुमेको आत्मसम्मान, पहिचान, अस्तित्व र इतिहासको गहिराइको मापन गर्ने लेख्य सामग्रीको अभाव थियो। त्यसलाई समेट्दै उनीहरूको कलासंस्कृतिलाई पुनर्जीवित र ऐतिहासिक योगदानको चित्रण गर्दै एउटा पुस्तक आएको छ। जसले नेपालको मौलिक कला, गायन र संगीत सर्जक गन्धर्वहरूलाई राष्ट्रको मूलप्रवाहमा समाहित गर्न सहयोग गर्नेछ।
लेखकत्रय डा.गोविन्द सार्की, डीबी दमाई र दीपक गन्धर्वले ‘नेपालका रैथाने गन्धर्व सभ्यता’ पुस्तक लेखेका हुन्। सारंगी भिलेज फाउन्डेसनबाट प्रकाशित यसमा १६ खण्ड छन्। रैथाने गन्धर्वको उत्पत्ति, संस्कृति, भूगोल, कलासंगीत, उनीहरूको अन्य समुदायसँगको सम्बन्ध, अविकासको मूलकारण, राज्यले गरेको उत्पीडनलगायतका विषयवस्तुका साथै वर्ण र जात व्यवस्था, बुुद्धकालीन सभ्यता र प्राचीन शासक जाति नागका विषय छन्। प्राचीन समयमा रैथाने गन्धर्व हिन्दू होइनन्÷ थिएनन् भन्ने यथेष्ट प्रमाणहरू पुस्तकमा राखिएको छ। शिल्पी र कथित दलितबीचको फरकलाई समेत प्रष्ट तरिकाले औंल्याउने प्रयास भएको छ। विगतमा शासक भएर राजकाज, भूगोल, संस्कृति, सभ्यताको विकास गर्दै सम्पन्न र वैभवशाली जीवनयापन गरेका रैथाने शिल्पी समुदायको यथास्थिति वर्णन र विश्लेषण गरिएको छ।
पुस्तकले शिल्पीहरूको विगतको गौरवशाली इतिहासको गुमेको कडीलाई जोडेर नयाँ इतिहास निर्माण गर्ने प्रयास गरेको छ। पक्कै पनि नेपाली जनमानसमा कथित दलितको पगरी भिराएर जीवनयापन गर्न बाध्य पारिएको समुदायको शिर उठाउनेछ। नेपाल धर्तीका रैथानी बासिन्दाले नेपाली भाषा, संस्कृति, भूगोलको वास्तविक पहिचान दिएको सन्दर्भ पुस्तकमा छ। जुन जातिवादी शासकहरूले नियतवश नष्ट गरिदिएको सन्दर्भ पनि छ। अनादिकालदेखि नेपाली भूमिमा बस्दै आएका गन्धर्व करिब १० हजार वर्षअगाडिदेखि नै काठमाडांै उपत्यकामा बसोबास गर्दै आएको समुदाय थियो।
गन्धर्वहरूको मूल उद्गम थलो भने गण्डकी क्षेत्र भएको पुष्टि महाभारत पौराणिकग्रन्थ र ऐतिहासिक तथ्यहरूले प्रमाणित गरेको छ। भाषिक विकासक्रम र परिवर्तनको दौरानमा गण्ड, गन्द र गन्धबाट अपभं्रश हुँदै गन्धर्व हुन गएको विभिन्न अध्ययनले पुष्टि गरेको छ। कृष्ण द्वैपायन व्यासद्वारा लिखित हिन्दूहरूको धर्मशास्त्र स्कन्दपुराणले समेत नेपाल हिमवत्खण्डमा पर्ने र त्यहाँका रैथानेवासीमा यक्ष, किराँत, किन्नर र गन्धर्व भनी उल्लेख छ। गण्डकी क्षेत्रमा गण्डव (गन्धर्व) नामका ऋषि थिए। ऋषि शब्द किराँती भाषाबाट आएको हो। ऋषि शब्द किराँती भाषा र सभ्यताको उपज हो। तसर्थ गण्डव हिमालयको काखमा बसेर ध्यान, तपस्या र राजकाजसमेत गर्दथे। पछि उनै ऋषि अर्थात् राजाका नामबाट माछापुच्छ«े हिमशृंखलामा गन्धर्वचुली हिमालको नामकरण गरियो। त्यो क्षेत्रबाट बगेर आएको नदीको नामसमेत गण्डकी भनेर नामकरण गरिएको पुस्तकमा छ।
रैथाने गन्धर्वको उत्पत्ति, संस्कृति, भूगोल, कलासंगीत, उनीहरूको अन्य समुदायसँगको सम्बन्ध, अविकासको मूलकारण, राज्यले गरेको उत्पीडनलगायतका विषयवस्तु पुस्तकमा छन्।
गन्धर्वचुली हिमाल, नवलपरासी वेणीमणिपुरमा गन्धर्व राज्यको केन्द्र रहनु, त्यस क्षेत्रमा वाण (सारंगी) गंगानदीको नामकरण अहिलेसम्म रहनु आदि रैथाने गन्धर्वका वर्तमान भूगोलका साक्ष्य प्रमाणहरू हुन्। किराँतेश्वर शिव र सिउँडी (शिव वृक्ष)को बीचमा गहिरो सम्बन्ध छ। गन्धर्व शिवका गण हुन् र शिव गण्डक क्षेत्रमा विचरण गर्ने भएकाले गन्धर्वहरूको बसोबास थलो पनि यही गण्डक क्षेत्र हो। शिवको वज्रको रूपमा रहेको ढोडे सिउँडीबाट गन्धर्वको ढोडे सारंगी बन्छ। शिव र ढोडे सिउँडीको बीचमा गहिरो सम्बन्ध भएकाले र यो वृक्षलाई परापूर्वकालदेखि गन्धर्वहरूले सारंगी बनाउन, चट्याङबाट जोगिन रोप्ने भएकाले किराँत र गन्धर्वको उत्पत्तिको कालखण्ड समान रहेको पुष्टि गर्छ। पुस्तकले गन्धर्व सभ्यताको सैद्धान्तिक अवधारणालाई समेत गहनरूपमा प्रस्तुत गरेको छ। जुन शिल्पकला, संस्कृति र सभ्यताको विकासमा समर्पित सबैमा समानरूपले लागू हुन्छ। यसले बिनाशिल्पकला, संस्कृति, सभ्यताको समुदाय रैथाने हुनै सक्दैन भन्ने अवधारणा प्रस्तुत गरेको छ।
गन्धर्वको इतिहास शिवजीको ताण्डव नृत्यसँग जोडिएको छ। इतिहास त्यति परसम्म जान्छ। शिवजी किराँती सभ्यताका जनक र प्रवद्र्धक हुन्। उनी किराँतेश्वर अनार्य थिए। उनले हिमाली सभ्यताको विकास गरेका थिए। गीत, संगीतको उत्पत्ति गर्ने गन्धर्वहरू पनि उनीसँगै थिए। हिन्दूहरूको हस्तक्षेपसँगै किराँती शिव शासकीय अपहरणमा परे। सोही समयदेखि किराँत र गन्धर्वहरूको अभिन्न सम्बन्ध टुटेको देखिन्छ। गन्धर्वको ऐतिहासिक परिभाषा पनि संगीतसँग जोडिएको छ। एक समय गुरुङ समुदायले पनि गाउने सोरठी गन्धर्वको मौलिक सांगीतिक उपज थियो। यसबाट गन्धर्व यहाँका रैथाने समुदाय हुन् भन्ने पुष्टि गरेको छ।
गन्धर्व संगीतको उत्पत्तिको इतिहास सामान्य छैन। यो गन्धर्वहरूको हजारौं वर्षदेखि प्रकृतिसँगको समागम र गहन साधनापछिको उपलब्धि हो। गन्धर्वहरूलाई सञ्चारमाध्यमको रूपमा एक ठाउँबाट अर्को ठाउँमा निरन्तर परिचालन गरियो। उनीहरूले आफ्नो मौलिक सिर्जना कर्खाको माध्यमबाट शासकहरूको कथित वीर गाथालाई जनतासमक्ष पुर्याएर उनीहरूको सत्तालाई बलियो बनाए।
दुश्मनहरूको गोप्य सूचनाहरू तथा शासकहरूको जनतालाई पुर्याउनुपर्ने सूचनाको वाहकको रूपमा निरन्तर एक ठाउँबाट अर्को ठाउँमा निरन्तर यात्रा गर्ने गरेको वर्णन गरिएको छ। अनादिकालमा एउटै भूगोलमा बसेर शासन सत्तासम्म सम्हाल्न भ्याएका गन्धर्वहरू समयक्रमसँगै घुमन्ते जातिको रूपमा परिणत भएको पाइन्छ। गन्धर्व संगीत गायन र रंगमञ्चका मूल स्रोत हुन्।
गन्धर्वहरू खासगरी प्रकृति र कुलपितृपूजक थिए। महादेव किराँती गण समूहका भएकाले यिनको धर्म, संस्कृति, रीतिरिवाज, परम्परा, किराँतहरूको नजिक देखिन्छ। किराँती महादेवको हिन्दूकरण हुनु, गन्धर्वमाथि वर्णाश्रम व्यवस्था लादिनु, जातीय विभेदको शृंखलाले विभाजित गरिनु, रैथाने गन्धर्वको आफ्नो छुट्टै अस्तित्व गुम्दै जानु उनीहरूको प्रकृतिपूजक र किराँत संस्कृतिमा ठूलो परिवर्तन आएको हुनुपर्छ। वास्तवमा पुस्तकको मुख्य सार नै यही हो भन्दा अत्युक्ति नहोला। राज्यको हैकमवादी, दमनकारी र असमावेशी नीतिका बाबजुद गन्धर्वले गायन र संगीतको कलालाई अक्षुष्ण राखेको छ। पुस्तककै अनुसार कास्की बाटुलेचौरका खिमबहादुर गन्धर्व चीन भ्रमणमा जाँदा सबै देशका संगीतकारले आआफ्नो देशको मौलिक संगीतको प्रस्तुति दिएछन्। तर नेपालले प्रस्तुति दिँदा यो त भारतीय संगीत हो भनेर सहभागीले सुुनाए। पछि उनले सारंगी बजाउँदै गीत गाएपछि मात्रै नेपाली रैथाने संगीतको दर्जा पाएको उनको अनुभव छ।
सत्ताको धुलीकरणबाट रैथाने गन्धर्व समुदाय पनि पृथक् रहने अवस्था थिएन। जनसंख्याको हिसाबले भन्ने हो भने गन्धर्वको जनसंख्या लगभग ८ हजार पनि छैन। यदि राज्यले चाहने हो भने यो समुदायको उत्थान र विकासमा धेरै ठूलो लगानी पनि गर्नु पर्दैन। पुस्तकमा राज्यले गर्न सक्ने कामबारे धेरै कुरा उठाइएको छ। पुस्तक आफैंमा ऐतिहासिक छ। यसले वञ्चितीकरण र बहिष्करणमा परेका तर अपार सम्भावना र क्षमता हुँदाहुँदै कथित दलित, अछूतको पगरी गुथेर अपमानको कठघरामा जीवनयापन गर्न बाध्य नेपालीको सम्मानपूर्ण जीवनयापन गर्ने दिशातर्फ पुस्तकले संकेत गरेको छ। भाषागत शुद्धतामा ध्यान नदिएका कारण सुगन्ध हराएझैं लाग्न सक्छ पाठकलाई।