अस्ट्रेलियालाई महिला विश्वकप
क्राइस्टचर्च : अस्ट्रेलियाले एकदिवसीय महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ। क्राइस्टचर्चमा भएको फाइनलमा इङ्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलियाले सातौं पटक महिला विश्वकपको उपाधि जितेको हो।
अस्ट्रेलियाले नौ वर्षपछि एकदिवसीय महिला विश्वकपको उपाधि जितेको हो। अस्ट्रेलियाले पछिल्लो पटक सन् २०१३ को महिला विश्वकप क्रिकेटको उपाधि जितेको थियो। अस्ट्रेलिया विश्वकपका सबै नौ खेलमा अपराजित रहँदै च्याम्पियन बनेको हो।
न्युजिल्यान्डको क्राइस्टचर्च तीन सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४३.४ ओभरमा दुई सय ८५ रन मात्रै बनाउन सक्यो। इङल्यान्डकी नेट साइवरले शतकीय पालि खेले पनि टोलीलाई जित दिलाउन सकिनन्। आक्रामक ब्याटिङ गरेकी उनले एक सय २१ बलमा एक छक्का र १५ चौकाको मद्दतमा एक सय ४८ रन बनाइन्। यस्तै टोमी ब्युमोन्टले २७, कप्तान हिथर नाइटले २६, यमी जोन्सले २०, सोफिया डुङ्क्लेले २३ र चार्ली डिनले २१ रन बनाए। अस्ट्रेलियाका जेस जोनासेन र अलाना किङले तीन÷तीन विकेट लिए। यस्तै मेगन सुट्टले दुई तथा तालिया म्याकग्रेथ र अस्लेइघ गार्डनरले एक÷एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय ५६ रन बनायो। अस्ट्रेलियाकी एलिसा हिलीले एक सय ७० रनको शतकीय पालि खेलिन्। आक्रामक ब्याटिङ गरेकी उनले एक सय ३८ बलमा २६ चौका हिर्काइन्।
यस्तै राचेल हेन्सले ६८ र बेथ मोनीले ६२ रनको अर्धशतकीय पालि खेले। एलाइज पेरीले १७ र कप्तान मेग लेनिङले १० रनको योगदान दिए। इङ्ल्यान्डकी अन्या श्रुबसोलले तीन विकेट हात पारिन्। अस्ट्रेलियाले यसअघि सन् १९७८, सन् १९८२, सन् १९८८, सन् १९९७, सन् २००५ र सन् २०१३ को महिला विश्वकपको उपाधि जितेको थियो।