कस्तो मज्जा है रेलैमा

कस्तो मज्जा है रेलैमा

जनकपुरधाम : ‘कस्तो मज्जा है रेलैमा’ हिन्दी चलचित्रको यो नेपाली भाषाको गीत टिकटकमा बजाउँदै आइतबार रेल यात्रामा थिए १९ वर्षीय राहुल साह। उनीसँग साथीहरूको हुलै थियो। उनीहरू नेपाल रेलवेको पहिलो यात्रा गरिरहेका थिए। राहुललाई टिकटक बनाउन भ्याइनभ्याई देखिन्थ्यो।

जनकपुरबाट बिहान ११ बजे रेल चढेका यी युवा १२:४५ मा भारतको जयनगर पुगे। जयनगर बजारमा करिब तीन घण्टा घुमघाम र किनमेल गरे। उताबाट जनकपुरका लागि ७० रुपैयाँको टिकट काटेर अपराह्न घर फर्किंदै थिए। ‘साह्रै रमाइलो भयो रेल चढ्दा’,राहुलले भने, ‘मैले इन्डियन रेलहरू पनि चढेको छु। तर, आफ्नो देशको रेलमा घुम्न पाउँदा मज्जा नै बेग्लै भयो।’

जयनगर घर भएकी सोनिया सिंह पति निरञ्जनसँग जनकपुर आउँदै थिइन्। ‘जनकपुरमा रामसीताको बिहे भएको हो। यहाँ नवविवाहित जोडिले मन्दिरमा आशीर्वाद लिए भने दाम्पत्य सुखमय हुन्छ भन्ने सुनेको थिएँ। तर, बाटो सहज नभएकाले आउन सकेका थिएनौं,’ निरञ्जनले भने, ‘हिजो मात्रै रेल चालु भएको थाहा पाएपछि आज घुम्न आइहाल्यौं। एक–दुई दिन बसेर घुमफिर गरी फेरि रेलबाटै फर्किन्छौं।’ रेलका यात्रुसँगै आइतबार परवाहा स्टेसनबाट जनकपुरदेखि कुर्था स्टेसनसम्म यात्रा गर्ने मौका मिल्यो। जनकपुर रेलवे स्टेसन आठ वर्षपछि गुलजार भएको देखिन्छ। काउन्टरमा टिकट काट्नेको भीड लाग्न थालेको छ। यात्रुहरू प्रतीक्षालयमा रेल कुरेर बसेको देखियो। 

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार नेपाल रेलवेको उद्घाटन गरेपछि आइतबारदेखि सेवा पुनः सञ्चालन भएको हो। यससँगै यात्रा गर्न सर्वसाधारण निकै उत्साहित देखिएका छन्।
‘फूलै फूलले सजिएको रेलमा चढेर यात्रा गर्दा त बिहेमा जन्ती गएझैं रमाइलो भएको छ’, यात्राका क्रममा निकै खुसी देखिएका २५ वर्षीय सुमित ठाकुरले भने, ‘देर आए पनि रेलगाडी दुरुस्त छ। अब त महिनामा दुईपटक जयनगर बजार गइन्छ नै।’

इलेक्ट्रोनिक टिकट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। तर, पहिलो दिन इन्टरनेट अवरुद्ध हुँदा हातले नै नाम लेखेर जनकपुर स्टेसनमा टिकट काटिएको थियो। टिकट लिन जाँदा यात्रुले परिचयपत्र अनिवार्य देखाउनुपर्छ। नेपालीले नेपाली पहिचानपत्र र भारतीयले आधारकार्ड वा अन्य पहिचानपत्र उपलब्ध गराएपछि मात्रै टिकट दिने गरिएको छ। 

काउन्टर सञ्चालन नभएका स्टेसनबाट यात्रा गर्दा रेलभित्रै टिकट हेर्र्ने कर्मचारीले इलेक्ट्रोनिक टिकट तत्काल उपलब्ध गराउने गरेका छन्। ‘पहिलो दिन भएकाले धेरै जनाले टिकट कहाँ काट्ने थाहा नपाएरै यात्रा गरेका थिए’, नेपाल रेलवेका टिकट कर्मचारी अनिल पासवानले अन्नपूर्ण पोस्ट्सित भने, ‘धेरैजसोले यात्राकै क्रममा टिकट कटाए। बिस्तारै सबै स्टेसनमा मेसिनको बन्दोबस्त गरी टिकट काट्ने व्यवस्था मिलाइनेछ।’ 

पहिलो दिन भए पनि बिहान र बेलुका दुवै रेल यात्रुले भरिभराउ थियो। वाताअनुकूलित बगीको व्यवस्थापनसमेत गरिएको छ। तर, भाडादर बढी हुँदा ती पहिलो दिन खाली नै थिए। जनकपुरबाट जयनगरसम्म सामान्य भाडादर ७० रुपैयाँ निर्धारण गरिएको। एसी कोचको भाडा ३५० रुपैयाँ छ। इनर्वाको सामान्य ६० र एसी कोचको ३००, खजुरीको सामान्य ५५ र एसी कोचको २७५, महिनाथपुरको सामान्य ३५ र एसी कोचको १७५, वैदेही २५ र एसी कोचको १२५, परवाहा र कुर्थाको २० र एसी कोचको १०० रुपैयाँ भाडादर नेपाल रेल्वे कम्पनी लिमिटेडले निर्धारण गरेको छ। रेलभित्र अत्याधुनिक साउन्ड मेसिन प्रयोग गरी स्टेसनबारे जानकारी गराइन्छ।  जसकारण यात्रुलाई आफू जाने–आउने ठाउँको विषयमा अलमल नभई यात्रा गर्न सहज छ। 

‘पहिलाको रेलभन्दा त धेरै राम्रो छ,’ परवाहाबाट जनकपुर आएका ८० वर्षीय श्यामदासले यात्राको अनुभव सुनाए, ‘सिटहरू पनि बस्न निकै आरामदायी छन्। गाडीभित्र पंखा छ। शौचालय छ र बेलाबेलामा उत्रिने ठाउँहरूका बारेमा पनि भन्छ, त्यसैले निकै सजिलो छ नि !’ 

उनले न्यारोगेजमा चढेको दिन सम्झिँदै भने, ‘पहिला–पहिला त हामी रेल चढ्न आउँदा निकै अप्ठ्यारो हुन्थ्यो। त्यो बेला मान्छेहरू रेलको बगीमाथि पनि बसेर यात्रा गर्थे। कुनै सिस्टम नै थिएन। जनावर बोकेझैं रेलमा मान्छे कोचाकोच हुन्थ्यो। तर, यो नयाँ रेलमा सिस्टम होस् र राम्ररी चलोस् भन्ने आशा छ।’

बिहानको रेल चढी जनकपुर घुम्न आएका जयनगरका अशोक साह अपराह्न ४:४० मा जनकपुर स्टेसनमा फर्किने टिकट कटाउँदै थिए। ‘कस्तो रहेछ नेपालको रेल हेर्न आएको थिएँ’, अशोकले प्रफुल्लित मुद्रामा भने, ‘दिनभर जनकपुर घुमफिर गरेँ। अब साँझको रेलबाट घर फर्किन्छु। रेल सञ्चालनले म त धेरै खुसी छु।’ 
उनका अनुसार पहिला जनकपुर आउन इनरुवा भएर तीन घण्टा धुलोधक्कर खाँदै बसमा कोचिएर यात्रा गर्नुपथ्र्याे। भाडा पनि तीन गुणा महँगो थियो। ‘तर, अब निकै सजिलो हुने भयो। भाडा पनि धेरै कम छ अब नेपाल घुम्न आउनेका लागि साह्रै सुविधा भयो’, उनले भने। 

रेल सञ्चालनले ‘बेटी रोटीको सम्बन्ध’लाई फेरि गति दिने जनकपुर महावीर चोकका अमन गुप्ताको बुझाई छ। ‘हाम्रा प्रायः नातेदार भारतमै छन्। मेरो ससुराली पनि भारतमै छ। पहिले रेल हुँदा भारत जान निकै सहज थियो। बीचमा माओवादी द्वन्द्वकालदेखि यो यात्रा शिथिल भयो। मधेस आन्दोलनपछि त बन्दनै भयो’, गुप्ताले भने, ‘तर, अहिले फेरि रेल यात्रा सुरु भएको छ। यसले दुई देशबीचको सम्बन्ध सुधारका साथै बेटी रोटीको सम्बन्धलाई पनि बलियो बनाउँछ।’

जयनगर–जनकपुर रेल सेवा सञ्चालन भएपछि आइतबार रेल चढेका यात्रु । 

नेपाल रेलवे कम्पनीले दैनिक दुई पटक रेल सेवा सञ्चालन हुने तालिका सार्वजनिक गरेको छ। तर, यात्रुको चाप हेरी यसलाई परिमार्जनसमेत गर्न सकिने महाप्रबन्धक निरञ्जन झाले बताए। 
एक पटकमा १३ सय यात्रु बोक्ने क्षमता भएको रेलमार्फत प्रतिदिन हजारौं यात्रीले जनकपुरको यात्रा गर्ने मौका पाउँछन्। यात्रुको चाप बढेपछि धरापमा परेको जनकपुरको उद्योग व्यवसाय पनि उभो लाग्ने विश्वास जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको छ। ‘रेल सञ्चालनले यस क्षेत्रमा व्यापारिक गतिविधिलाई निकै बढावा मिल्छ। बजारमा घुमफिर गर्न आउने भारतीय पर्यटकहरूले यहाँ खरिद बिक्री पनि गर्छन् जसबाट व्यापारीहरूलाई निकै लाभ हुनेछ’, अध्यक्ष महासेठले भने। 

उनले रेलबाट यात्रु ओसारपसारका साथै मालसमान ढुवानीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। ‘हामीले रेलवे प्रशासनलाई निवेदन गरेका छौं यात्रीसँगै मालसामान ढुवानी गर्ने मालबोगी पनि थप गरियोस् भनेर यसले व्यापारलाई निकै फाइदा हुन्छ’, उनले भने। 

१९९४ सालमा महोत्तरी जंगलबाट साँखुको गोलिया काठ ओसारपसार गर्न भारतले निर्माण गरेको जनकपुर रेलवे महोत्तरीको बिजलपुराबाट भारतको जयनगरसम्म ५२ किलोमिटर सञ्चालनमा थियो। २०५१ सालमा आएको बाढीले विग्ही नदीको पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरबाट जयनगरसम्म २९ किलोमिटरमा सीमित भयो। रेलसेवा पूर्व—पश्चिम राजमार्गमा पर्ने बर्दीबाससम्म ६९ किलोमिटर विस्तार भइरहेको छ। नेपाल र भारतबीच सन् २०१० मा भएको सम्झौताअनुसार जयनगर—जनकपुर—भंगहा—बर्दिबास रेलमार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएको थियो। रेल सेवा २०७० साल माघ १७ गतेदेखि बन्द भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.