जिल्लाको फैसलाविरुद्ध पुनरावेदनको तयारी
अछाम : बलात्कारको झुटो मुद्दा दायर गरेको भन्दै अछामकी किशोरीलाई कैद सजाय गर्ने जिल्ला अदालत अछामको फैसलाविरुद्ध पुनरावेदनको तयारी भइरहेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले उक्त फैसला पुनरावलोकनका लागि उच्च अदालत दिपायल जाने तयारी गरेको हो।
जिल्ला अदालतले कमलबजारकी १९ वर्षीया किशोरीलाई बलात्कारको झुटा मुद्दा दायर गरेको भन्दै ३ वर्ष ६ महिना जेल सजाय तोकेको थियो। सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता कौशलप्रसाद ढुंगानाले सोमबार नै पुनरावेदनमा निवेदन पठाउने तयारी भइरहेको बताए।
‘यो हप्ताभित्रै मुद्दा दायर हुन्छ,’ उनले भने। मुद्दा २ किसिमले दायर हुनेछ। सरकारी वकिलको कार्यालयका तर्फबाट अदालतको फैसलाविरुद्ध र किशोरीले आफूलाई सजाय नहुनपर्ने कारणसहित पुनरावेदनको मुद्दा दिने ढुंगानाले बताए। ‘पुनरावेदनले बुझ्न चाहेमा पीडितले यसकारण आफूले बयान फेरेको हो भने बयान दिनुपर्छ,’ ढुंगानाले भने, ‘हामी अदालतको फैसलाविरुद्धमा जान्छौं।’
पीडितले प्रायः अदालतमा पुग्दा बयान फेर्दा आफूहरू पनि पीडितलाई न्याय दिन असफल हुने गरेको ढुंगानाले बताए। ‘बयान नफेर्न ठूलो मेहनत गर्छौं। तर, खेर जान्छ। कतिपय मुद्दा गाउँघरमै मिल्छ। प्रहरीसम्म मुद्दा पुग्यो भने मिलाउने चलखेल सुरु हुन्छ। सबैभन्दा बढी त थुनछेकमा बयान फेर्न लगाउन बाध्य पारिन्छ,’ उनले भने, ‘विभिन्न बहाना, प्रलोभनमा पीडितहरू बयान फेर्न बाध्य हुन्छन्।’
जबरजस्तीकरणीका घटनामा बयान फेर्ने गरेका कारण पीडकले उन्मुक्ति पाउने गरेको उनले बताए। किशोरीलाई जिल्ला अदालत अछामले गरेको फैसलाको बारेमा अदालतले आधिकारीक जानकारी गराउने व्यवस्था रहेको उनले बताए। ग्रामीण भेगका महिलाहरूमा कानुनी सचेतना नहुँदा समस्या हुने गरेको महिला अधिकारकर्मी पशुपति कुँवरले बताइन्।