अनि नेपालमै रेल चढ्न पाइयो

अनि नेपालमै रेल चढ्न पाइयो

रेल नदेख्दै, रेल नचढ्दै नेपालीले रेलका कथा सुने। तिनै कथा सुनेर रेलको सपना देखे। नेपालमा रेल नआउँदै रेलका गीत गाए। रेल एक सपना जस्तो भयो। संसार आज बुलेट र सुपर सोनिक रेलको युगमा प्रवेश गरिसकेको छ। संसारलाई अभौतिक रूपमा गाउँ बनाएको इन्टरनेटले हो। त्यसअघि चाहिँ जहाजले संसारका कुनाकन्दरालाई नजिक बनाइदियो। त्योभन्दा पनि अघि भौतिक रूपमै संसारलाई नजिक्याउने साधन रेलै हो। तसर्थ एक प्रकारको तिलस्मी साधनका रूपमा रेल एउटा कथा बन्यो नेपाली समाजका लागि। 

यातायातका साधनको तीव्रतर विकासले आज गाउँठाउँ र सहरहरूको दूरी किलोमिटर वा माइलमा होइन समयमा नापिन्छ। अर्थात् यति घण्टाको रेल यात्रा, यति समयको बसयात्रा आदिआदि। अझै पनि सपनाजस्तै भएको रेलको यात्रा नेपालमा फेरि वास्तविकतामा रूपान्तरण भएको छ। शनिबार जसै नेपालको जनकपुर र भारतको जयनगर रेलबाट जोडिए त्यो सपना साकार भएको छ। त्यसो त १९९४ मै नेपालको अमलेखगन्जसँगै रेल आउँथ्यो भारतबाट। काठका गोलिया बोकेर फर्किन्थ्यो। २०१६ सालदेखि त्यो बन्द भयो।

जनकपुर रेलवे महोत्तरीको बिजलपुराबाट भारतको जयनगरसम्म ५२ किलोमिटर सञ्चालनमा थियो। तर, बाढीको चपेटामा रेलमार्ग पर्‍यो। मर्मत भएन। सेवा बन्द भयो। जनकपुरसम्मै पनि ७० सालसम्म चलेको हो रेल। जनकपुर रेलवे महोत्तरीको बिजलपुराबाट भारतको जयनगरसम्म ५२ किलोमिटर सञ्चालनमा थियो। पछि भने २९ किलोमिटरमा खुम्चिएको छ। त्यही पनि नचलेर रोकिएको रेल सेवा आठ वर्षपछि चालू भयो।

लामो समयदेखिको सपनाको एउटा अंश हो, जनकपुर–जयनगर रेल। नेपाल रेलवे सेवाले यसलाई पहिलाभन्दा केही बढी व्यवस्थित गर्ने अपेक्षा गरिएको छ। त्यसका संकेत पनि देखा परेका छन्। यो मार्गमा यात्रुको अभाव कहिल्यै होइन। व्यवस्थापनकै समस्या हो। अबको चुनौती पनि त्यही हो कि चुस्त व्यवस्थापन। तर पहिलो दिन नै इलेक्ट्रोनिक टिकट उपलब्ध गराउने व्यवस्था मिलाइएको भनेर पनि मिलाएको देखिएन। इन्टरनेट अवरुद्ध हुँदा हातले नै नाम लेखेर जनकपुर स्टेसनमा टिकट काटियो। त्यो सानो कुरा देखिए पनि त्यसको संकेत ठूलो छ। इन्टरनेट चलेन, सर्भरले काम गरेन,  बत्ती गयो, आदिआदि बहाना प्रायः सेवाग्राहीले सुन्नुपर्छ हरेकजसो कार्यालयमा। यस्ता कुनै पनि बहाना आउन नदिन चाहिने भनेको प्रतिबद्धता हो, दृढ इच्छाशक्ति हो। त्यस्ता भैपरी आउन सक्ने समस्याको पहिल्यै विकल्प तयार गर्नु हो। त्यो व्यवस्थापनको जिम्मेवारी हो।

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले एकसाथ शुभारम्भ गरेको जनकपुर जयनगर रेल सेवा केवल यातायातका साधनको शुभारम्भ होइन। यसले धार्मिक सहर जनकपुरलाई ठूलो बजारबाट सहज पहुँचको शुभारम्भ गरेको छ। करोडौं पर्यटनलाई तीर्थाटनको मार्ग प्रशस्त गरेको छ। भारतीय बजारसम्म नेपाली पहुँच दिएको छ। सदाबहारको रोटीबेटीको सम्बन्धलाई झन् नजिक बनाएको छ। अब गर्नुपर्ने भनेको रेलको बाटो भारतीय पर्यटकलाई डाक्ने हो। रेलमार्गलाई बर्दिबाससम्म पुर्‍याउन तीव्रता दिनुपर्ने हो।

त्यसो त पूर्वपश्चिम रेलमार्गका कुरा पनि छन्। कतैकतै खनीखोस्री पनि भएको छ। तर, राजनीतिक लाभका लागि र सस्तो लोकप्रियताका लागि मात्रै काम भएको छ। काम गर्ने नै उद्देश्य अनुरूप सिन्को भाँचिएको छैन। रेल यातायातको साधन मात्रै होइन, यसले यात्रुलाई गन्तव्यसम्म मात्रै पुर्‍याउँदैन। उत्पादनलाई पनि बजार पुर्‍याउँछ। तसर्थ यो यात्रुबाहक मात्रै होइन, समृद्धिवाहक पनि हो। संस्कृतिवाहक पनि हो। सम्बन्धवाहक पनि किन हो भने यसले भूगोलले टाढाटाढा भएका नेपालीलाई नजिक ल्याउँछ। खासमा राष्ट्रिय एकताकै सेतुको काम गर्छ। जनकपुर जयनगरबाट भएको रेलसेवाको शुभारम्भ त्यत्तिमै सीमित नहोस्, पूर्वपश्चिमसम्म फैलियोस्। भारत र चीनसँग पनि उत्तरदक्षिण हुँदै जोडियोस्। दलहरूको साझा प्रतिबद्धता होस् र रेल यातायातमा जोड पुगोस्। अझै पनि नेपालका थुप्रै विकट गाउँमा मोटरसम्म पनि पुगेको छैन।

शताब्दीअघिदेखिको रेलको सपनालाई आजसम्म पनि नेपालीले पछ्याएको र पछ्याइरहेको आजको साहित्यले प्रतिविम्बित गरिरहेको छ। अब नयाँ पुस्ताले रेलको सपना देख्न नपरोस्, रेलमा यात्रा गर्न पाओस्। अनि गाओस्, जाउँला रेलैमा सरर...।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.