पुटिनविरुद्ध सर्वसाधारण हत्याको अभियोगमा मुद्दा चलाउन बाइडेनको आग्रह
वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बुचामा सर्वसाधारणको हत्या गरेको अभियोगमा फौजदारी मुद्दा चलाउन आग्रह गरेका छन्। बाइडेनले भने , ‘यो मानिस क्रूर छ।’ साथै उनले अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउने बताए।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले बुचा सहरमा ३०० सर्वसाधारणको हत्या र अन्यलाई यातना दिएको बताएका छन्।
जेलेन्स्कीले भने, 'रुसले जे पनि गरेको छ त्यसको अनुसन्धान गरिरहेका छौं। अहिले, बुचामा मात्रै तीन सयभन्दा बढी मानिस मारिएका र यातना दिएका समाचारहरू आएका छन्। जब सम्पूर्ण शहरको अनुसन्धान पूरा हुन्छ, मृतकको संख्या धेरै हुन सक्छ। यो अवस्था एक शहरको मात्र हो।'
बोरोडियान्का र रूसी सेनाले कब्जा गरेका अन्य शहरहरूमा पीडितहरूको संख्या अझ बढी हुन सक्ने जानकारी पहिले नै भएको उनले बताए।
किभ, चेरिन्येभ र सुमी क्षेत्रहरू जहाँ रुसीहरूले कब्जा गरेका छन् त्यहाँ धेरै गाउँमा स्थानीयले ८० वर्ष पहिले नाजीहरूको कब्जामा पनि नभोगेको व्यवहार भोग्न परेको जेलेनस्किले बताए।