स्थानीय तह निर्वाचन : सुनसरीमा एमालेविरुद्ध गठबन्धन
धरान :आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुनसरीमा एमालेविरुद्ध गठबन्धनले संयुक्त उम्मेदवारी दिने भएका छन् । बुधबार नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालय इनरुवामा बसेको सरकारमा सहभागी दलले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेको छ ।
सत्ता गठबन्धनले केन्द्रले गरेको निर्णय बमोजिम सुनसरीमा पनि चुनावी गठबन्धन गर्ने निर्णय गरेको कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिए । उनले केहि स्थानीय तहमा गठबन्धन नगर्ने भन्ने व्यापक कुरा उठिरहेको बताउँदै ती स्थानीय तहमा समेत सहमतिका आधारमा टुंगो लगाउने बताए ।
सरकारमा सहभागी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चाले सुनसरीमा पनि चुनावी गठबन्धन गर्ने गरी कार्यदल गठन गरेको छ । कांग्रेस सुनसरीका सचिव विरेन्द्र साहको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन गरिएको एकीकृत समाजवादीका सुनसरी अध्यक्ष गोविन्द निरौलाले बताए ।
कार्यदलमा माओवादीबाट मुक्साहाङ मेन्याङबो, समाजवादीका बसन्त सुबेदी, जसपाका प्रदिप कार्की र जनमोर्चाका हरिलाल अधिकारी रहेका छन् । सत्ता गठबन्धनमा आवद्ध दलहरुले वडादेखि पालिका, नगरपालिका र उपमहानगरपालिकाका सबै तहमा सहमतिका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ।
सत्तागठबन्धन दलहरुको यो निर्णयसँगै सुनसरीमा एमालेविरुद्ध गठबन्धनबीच चुनावी प्रतिष्प्रधा हुने निश्चित छ। १२ वटा स्थानीय तह रहेको सुनसरीमा गत स्थानीय निर्वाचनमा धरान र इटहरी उपमहानगरपालिका तथा बराहक्षेत्र नगरपालिकामा एमालेले जितेको थियो । इनरुवा र दुहबी नगरपालिका तथा बुर्जु, गडि, हरिनगरा, देवानगन्ज, र कोसी गाउँपालिका कांग्रसले जितेको थियो भने भोक्राहा नर्सिङमा जनता समाजवादी पार्टीले जितेको थियो।
रामधुनी नगरपालिकामा भने कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो । पाँचदलको गठबन्धन र आफ्नै पार्टी विभाजनले यसपटक एमालेलाई चुनावको नजिता आफ्नो पक्षमा पार्न निक्कै कठिन देखिन्छ।