इमरान खानलाई राहत दिने निर्णयमा पाकिस्तानी प्रधानन्यायाधीशले देखे खोट
इस्लामावाद : पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज गर्ने निर्णय त्रुटिपूर्ण रहेको बताएका छन्।
अविश्वास प्रस्ताव रद्ध गर्ने उपसभामुखको निर्णयविरुद्ध पाकिस्तानी सर्वोच्च अदालतमा चलिरहेको सुनुवाइका क्रममा प्रधानन्यायाधीश बन्दियालले अप्रिल ३ तारिखमा उपसभामुख कासिम खान सुरीको प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव रद्ध गर्ने निर्णयमा दोष रहेको उल्लेख गरेका हुन्।
बीबीसी हिन्दीकाअनुसार प्रधानन्यायाधीशले यो निर्णय सही नभएको र अगाडि के गर्ने भन्ने बाटो नै नदेखाइएको टिप्पणी सुनुवाइका क्रममा गरेका थिए।
महान्यायाधिवक्ताले भने उपसभामुखको निर्णयको बचाउ नगर्ने तर नयाँ निर्वाचनबारे आफू चिन्तित रहेको बताएका छन्। उनले संसद विघटन सदर गरेर चुनावमा जानुपर्ने जिकिर गरेका थिए। जवाफमा प्रधानन्यायाधीशले राष्ट्रहितलाई ध्यानमा राख्नु अदालतको कर्तव्य भएको बताएका थिए।
सुनुवाइका क्रममा अदालतले पाकिस्तानी संसदको कामकारवाहीको भिडियो हेर्ने पनि निर्णय गरिसकेको छ।