अमेरिकी सभामुखको आसन्न ताइवान भ्रमणमा चीनको आपत्ति, रद्ध नगरे कडा कदम चाल्ने चेतावनी
बेइजिङ : चीनले अमेरिकी प्रतिनिधिसभाकी सभामुख नान्सी पेलोसीको आसन्न ताइवान भ्रमणप्रति कडा आपत्ति जनाएको छ।
पेलोसी ताइवान आए कडा कदम उठाउने चेतावनी पनि चीनले दिएको छ। पेलोसी अर्को साता जापान हुँदै ताइवान भ्रमणमा निस्कने पश्चिममा मिडियाले जनाएका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिअनले ताइवान र अमेरिकाबीच कुनै पनि आधिकारिक सम्पर्कको चीनले विरोध गर्ने बताउँदै अमेरिकाले पेलोसीको भ्रमण रद्ध गर्नुपर्ने बताए।
‘यदि पेलोसीले ताइवानको भ्रमण गरिन् भने यो नतिजा अमेरिकाले भोग्नुपर्नेछ,’ प्रवक्ता झाओले चेतावनी दिए। भ्रमणले अमेरिका र चीन सम्बन्धमा असर पार्नेसमेत बताएको रोयटर्सले जनाएको छ।
पेलोसी चीनको कटु आलोचक तथा मानवअधिकार उल्लंघनको आरोप लगाउने अमेरिकी राजनीतिज्ञ हुन्।
एक चीन नीतिअन्तर्गत चीन ताइवानलाई आफ्नो भूभाग ठान्छ। तर ताइवान आफूलाई स्वतन्त्र देश ठान्छ। ताइवानमा सन् १९९७ मा पनि तत्कालीन अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेका थिए।