राष्ट्रसंघको महासभाले युद्ध अपराध गरेको भन्दै रुसलाई मानवअधिकार परिषद्को सदस्यबाट हटायो
काठमाडौं : रुसलाई संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार परिषदको सदस्यबाट निलम्बन गरेको छ। राष्ट्रसंघको विशेष महासभामा बिहीबार रूसलाई सदस्यबाट हटाउन बहुमत राष्ट्रले मतदान गरेको थियो।
युक्रेनमाथि सुनियोजितरुपमा आक्रमण गरिरहेको र मानवअधिकार उल्लंघन गरेको रुसमाथि आरोप छ। रूसलाई निलम्बन गर्नुपर्छ भन्ने प्रस्तावमा ९३ मत परेको थियो भने विपक्षमा २४ देशले मत दिएका थिए। ५८ देश भने तटस्थ बसेका थिए।
नेपाल, भारत, भुटानलगायतका ५८ मुलुक भने मतदानमा अनुपस्थित रहेका थिए। तर रुसको पक्षमा चीन, क्युबा, सिरिया, जिम्बावेलगायतका देशले निलम्बनको विपक्षमा मतदान गरेका थिए।
मतदानअघि राष्ट्रसंघका लागि रुसका सहायक राजदूत गेनाडी कुज्मिनले महासभालाई सम्बोधन गर्दै उक्त प्रस्ताव 'मानव अधिकार उपनिवेशवाद' भएको बताएका थिए।
अमेरिकाले अन्तर्राष्ट्रिय सम्बन्धमा पूर्ण नियन्त्रण र आफ्नो हैकम राख्न खोजेको आरोप उनको थियो। राष्ट्र संघका लागि युक्रेनी राजदूत सेर्गेई किस्लित्स्याले भने रुसी आक्रमणलाई युद्ध अपराध र मानवताविरोधी अपराध करार गर्नुपर्ने बताएका थिए।