अपहरणकारीको निसानामा बालबालिका

अपहरणकारीको निसानामा बालबालिका

जनकपुरधाम / राजविराज :

घटना १ 

जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चोकमा डेरा गरी बस्ने ध्रुवकुमार मण्डलकी ४ वर्षकी छोरी सृष्टि कुमारी गत चैत १० गते हराइन्। उनी कोठाअगाडि बाटोमा खेलिरहेकी थिइन्। परिवारले चारैतिर खोजतलास गरे। तर, उनी फेला परिनन्। खोजतलासकै क्रममा पीडित परिवारले फोनमार्फत १५ लाख रुपैयाँ फिरौती माग गरेको धम्की पायो। ‘हामीले तिम्रो छोरी अपहरण गरी ल्याएका छौं। सकुशल चाहिएको छ भने १५ लाख फिरौती देऊ। पैसा नदिए र पुलिसलाई खबर गरे छोरीलाई मारेर फालिदिन्छौं’, ध्रुवले अपहरणकारीको भनाइ उद्धृत गरे।

पीडित परिवारले भोलिपल्ट जिल्ला प्रहरी कार्यालय धनुषामा जानकारी गरायो। अपहरणकारीले पीडित परिवारलाई पटकपटक फोन गरी धम्क्याएका थिए। उनीहरूले बच्चीलाई फोनमा रुवाउँदै मार्ने धम्की पनि दिए। तर, प्रहरीले समयमै अनुसन्धान सुरु गरी पीडितको घरनजिकै डेरा गरी बस्ने २० वर्षको चन्द्र दासलाई नियन्त्रणमा लियो। अनुसन्धानको क्रममा २१ वर्षीय अरविन्द मुखिया र रविकुमार रामलाई पक्राउ गरी बालिकालाई उद्धार गरियो। घटनामा संलग्न रहेका तीनैजना अपहरणकारी २० देखि २५ वर्ष उमेरसमूहका थिए। उनीहरूले बालिकालाई पहिलादेखि नै टार्गेट गरेर घटना गराएका थिए। 

घटना २ 

जनकपुरधाम उपमहानगरपालिका—६ बाट गत माघ २६ गते मोहमद राइनको ७ महिनाको छोरा मोहम्द अख्तर राइन बेपत्ता भए। दूधेबालकलाई उनकी ६ वर्षकी बहिनी एलिजा खातुनले खेलाइराखेको बेला एक महिलाले आएर बच्चा लिई फरार भइन्। 

प्रहरीले घटनामा अनुसन्धान गर्दै जाँदा अर्को दिन धनुषाको गणेशमान चारनाथ— १० डुमरियाका ३० वर्षीया मनीषादेवी मुखियालाई पक्राउ गर्‍यो। उनको साथबाट अख्तरसँगै थप एक बालिका नन्दनी मुखियालाई समेत अपहरण गरेको हुँदा दुवैलाई सकुशल अपहरण मुक्त गराइयो। 

घटनामा संलग्न २० वर्षीय किरण राम र २२ वर्षीय कृष्णकुमार यादवलाई समेत पक्राउ गरियो। बच्चाहरूलाई अपहरण गरी फिरौती माग्ने मनशायले घटना गराइयो प्रहरीको अनुसन्धानमा देखियो। 

घटना ३ 

जनकपुरधाम उपमहानगरपालिका—१७ बाट गत पुस ७ गते रासलाल मुखियाको १२ महिनाको छोरा कृष्णकुमार मुखियालाई अपहरण गरियो। प्रहरीले खोजतलास गर्दै जाँदा मुखियालाई भारतको बिहार सीतामढी घर भएका र जनकपुरमा डेरा गरी बस्ने २५ वर्षीय सुरेश ठाकुरले अपहरण गरेको खुल्न आयो। खोजतलासको क्रममा ठाकुरले बालकलाई भारतको सिमाना कटाउनै लागेको बेला पक्राउ गरी बालकलाई अपहरण मुक्त गरियो। 

ooo
बालबालिका अपहरणका घटना अधिकांश फिरौती र केही पारिवारिक द्वेषको क्रममा बदला लिन हुने गरेको देखिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरे बताउँछन्। ‘बालबालिकालाई सजिलै नियन्त्रण गर्न सकिन्छ। उनीहरू ठूलो मान्छेजस्तो प्रतिकार गर्न सक्षम हुँदैनन्। त्यसैले पनि अपराधीहरूको पहिलो निसानामा पर्ने गर्छन्’, प्रहरी उपरीक्षक रजौरे भन्छन्, ‘पछिल्लो समय सजिलै पैसा कमाउने लोभमा पनि फिरौतीको मनसाय राखेर यस्ता आपराधिक कार्यहरू बढी भएको देखिन्छ। तर, प्रहरीले यस्ता संवेदनशील घटना भएको जानकारी पाउनबित्तिकै अनुसन्धान गरी अपराधीलाई नियन्त्रणमा लिने काम गरेको छ।’
राज्यका साथै विभिन्न संघसंस्थाले बालबालिकाको सर्वोत्तम हितका कार्यक्रम सञ्चालन गरिरहेका छन्। मधेस प्रदेश सरकारले सुरक्षित बेटी अभियान, बालहिंसा, घरेलु हिंसाविरुद्ध प्रतिरोधात्मक तथा उपचारात्मक कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्र्यक्रममार्फत घोषणा गरेको छ। बालबालिकाको सुरक्षाका लागि नीति तथा सेवाहरूमा सुधार ल्याउन सरोकारवाला निकाय कार्यरत छन्। तर, घर, समाज पनि बालबालिकाको लागि असुरक्षित स्थान बनेको छ। हजारौं बालबालिका जोखिममा छन्। 

इन्सेकले सन् २०२१ मा मधेस प्रदेशमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ७ सय ५८ जना पीडित भएको अभिलेख गरेको छ। बालअधिकार उल्लंघनका घटनामा मात्र २ सय २३ जना पीडित भएको अभिलेख गरेको छ। हिंसाको प्रतिकार गर्न बालबालिका असमर्थ हुने हुँदा अपराधीहरूले बालबालिकालाई निसाना बनाउने गरेका छन्। खासगरी बालबालिका अरूमा अधीनस्थ हुनुपर्ने, आफैंमा निर्णय गर्ने क्षमताको अभाव रहने, वयस्क सरह बल र चेतनाको विकास नहुने, हिंसाप्रति सजग नरहने कारणले अपराधीलाई हिंसाको तारो बनाउन सहज हुने गरेको छ। यसैकारण पनि बालबालिकाको अपहरण फिरौतीको माध्यम बन्ने गरेको छ। अपहरणको घटना र कारण केलाउँदा नेपाल मानव तस्करीको लागि एक प्रमुख स्रोत, ओसारपसार गर्ने बाटो र गन्तव्य राष्ट्र पनि बन्न गएको छ।

जनकपुरधाम उपमहानगरपालिका–६ स्थित महाराज सागर पोखरीको डिलमा ६ वर्षीया दिदी एलिजा खातुनलाई ५० रुपियाँ दिएर कुरकुरे किन्न पठाई मनीषादेवी मुखियाले एलिजाका सातमहिने भाइ अख्तर राइनलाई लिएर भागेकी थिइन्। बच्चालाई अपहरण गरी जनकपुरधाम उपमहानगरपालिका–१९ बेगाशिवपुरको पिपराढीस्थित हाँस तथा भैंसी फार्मको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा गणेशमान चारनाथ नगरपालिका–१० डुमरिया बस्ने ३५ वर्षीया मनीषादेवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २० वर्षीया किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर–४ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय कृष्णकुमार यादव माघ २७ गते पक्राउ परे।

जनकपुरधाम उपमहानगरपालिका–१७ मनहरपुरका १४ महिनाका बालक कृष्ण मुखियाको अपहरण गरेको आरोपमा भारत बिहार राज्यको जिल्ला सीतामढी ग्राम पञ्चायत बाजपट्टी– १० घर भई धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चोक बस्ने २५ वर्षीय सुरेश ठाकुर पुस ८ गते नगराइन नगरपालिका–२ स्थित नेपाल भारतको सिमाना नजिकबाट पक्राउ परे।
१० वर्षीय बालकलाई अपहरण गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–१३ बस्ने बस्ने ४२ वर्षीय रामजी पासवान र ३२ वर्षीया विभा पासवानलाई जिल्ला प्रहरी कार्यालय धनुषाले चैत १ गते पक्राउ गर्‍यो। धनुषा जिल्ला अदालतले २०७७ माघ २२ गते नै रामजीलाई २२ वर्ष कैद र विभालाई १७ वर्ष कैदको फैसला सुनाएको थियो।

पाँच वर्षीया सृष्टि मण्डललाई अपहरण गरेको आरोपमा धनुषाको कमला नगरपालिका–८ का २६ वर्षीय अभिषेक दास चैत ११ गते पक्राउ परे। आरोपितले पीडित बालिकाको रिहाइको लागि १५ लाख रुपैयाँ फिरौती माग गरेको बालिकाकी आमा राधा मण्डलले बताइन्।

आफ्नै बुवा र मामा मिलेर बालकको अपहरणको घटना पनि सार्वजनिक भएको छ। धनुषाको नगइराइन नगरपालिका— ६ निवासी ७ वर्षीय छोरालाई रमेश दासले नै अपहरण गरेर रमेशले आफ्ना बुवा हरिचनसँग एक करोड असुल्ने प्रयास गरेको घटना २०७७ फागुन ९ गते सार्वजनिक भएको थियो।

यसले बदला लिन, लेनदेनको निहुँ र सम्पत्तिका लागि जसले पनि बालकको अपहरण गर्न सक्छन् भन्ने पुष्टि हुँदै आएको छ। बालबालिका हराएको र अपहरणका घटनाले प्रहरीलाई समेत झस्काउने गरेको सप्तरीका एसपी अविनारायण काफ्ले बताउँछन्। 

देशभर बर्सेनि हजारौं मानिस हराउँछन्, जसमा बालबालिकाको संख्या उल्लेख्य हुन्छ। प्रहरीकहाँ बालबालिका हराएको उजुरी दैनिकजसो आउने गरेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी तुलबहादुर कार्कीले बताए। हराएका बालबालिकाको खोजी गर्न प्रहरी तथा अन्य सरोकारवाला निकायसमेत सहभागी रहेको बालबालिका खोजतलास समन्वय केन्द्रसमेत खडा गरिएको छ।

पछिल्लो समय कहालिलाग्दो रूपमा बढेको बालबालिका अपहरणका घटना होऊन् या हत्या र मानव बेचबिखनसम्मका गम्भीर प्रकृतिका अपराध त्यसबाट पीडित हुनेको ठूलो संख्या पनि बालबालिकाकै छ। सप्तरीका एसपी काफ्लेका अनुसार अपराधको आँकडा केलाउँदा बालबालिकालाई निसाना बनाउने क्रम निकै बढेको देखिन्छ। कलिला बालबालिका लक्षित अपहरणका घटनाले समाजमा कलिला नानीहरू जोगाउनै कठिन भइरहेको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली बताउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.