एकल महिलाका पीडा : ‘समाजले हाँस्नसमेत दिँदैन’
अछाम : साँफेबगर नगरपालिका–४ की भगवती खड्का ३० वर्षकी भइन्। उनले २५ वर्षको उमेरमा श्रीमान् गुमाइन्। कलिलै उमेरमा जीवनसाथी गुमाउनुको पीडा एकातिर छ भने अर्काेतिर ४ छोरीको पालनपोषण, पढाइ, लेखाइको जिम्मेवारी छ, उनलाई। भगवतीका जेठी छोरी सतीक्षा, माइली समीक्षा, साइँली सदीक्षा र कान्छी सरिता जनकल्याण माविमा पढ्छन्।
एकल महिलालाई समाजले हेर्ने नराम्रो दृष्टिकोण र अर्कोतिर परिवार पाल्न आर्थिक कठिनाइ उनले झेल्नुपरेको छ। भगवतीलाई छोरीहरूको पढाइ खर्च एक्लैले जुटाउन परिरहेको छ। ‘श्रीमान् नहुने महिलालाई हाम्रो समाजले हेला गर्छ। समाजको नराम्रो नजरबाट जोगिनुपर्छ। छोरीहरूको पालनपोषण एक्लै गर्न निकै मुस्किल छ,’ उनले भनिन्, ‘कहिलेकाहीँ खुसी हुँदासमेत खुलेर हाँस्न पाउँदैनौं। यहाँ त श्रीमान् नभएका महिलालाई खुलेर बाँच्न अधिकार पनि छैन।’ भगवती साँफेबगरमा रहेको दिदीबहिनी जैविक प्याड उद्योगमा काम गर्छिन्। प्याड बनाउने काम दैनिक गुजारा गर्ने माध्यम बनेको उनले बताइन्।
खप्तडकी जलादेवी कडायतको श्रीमान् बितेको एक वर्ष भयो। उनी अहिले २९ वर्षकी भइन्। भारतमा राम्रै कमाइरहेका श्रीमान् शेरबहादुर कडायतको मृत्युपछि २ छोराछोरी लिएर उनी अछाम फर्किन्। जलाको १० वर्षको छोरा र ४ वर्ष छोरी छन्। एकल हुनुको पीडा त भोग्नु परिरहेकै छ। त्यसमाथि सन्तानको भविष्य, समाजको अपहेलनासँग लड्नु परिरहेको बताउँछिन्। वर्षभरि खानपुग्ने गरी जग्गा जमिन छैन। चौमासिकमा पाउने सामाजिक सुरक्षा भत्ताले उधारो तिर्नसमेत नपुग्ने बताउँछिन्। उनले भनिन्, एक्लैले घरपरिवार चलाउन गरेको संघर्ष समाजले देख्दैन। हामीले लगाएको, खाएको, हिँड्डुल गरेको, को—कोसँग बोलेको सबै कुराको हिसाबकिताब समाजले राख्ने गर्छ। समाजले हामीलाई मान्छे नै होइनौं जस्तो व्यवहार गर्छ।’
साँफेबगर नगरपालिकामा ८ सय ९५ जना एकल महिला छन्। तीमध्ये ६० वर्षमुनिका ६ सय र ६० वर्षमाथिका २ सय ९५ जना छन्।
बाब्लाकी ३७ वर्षीया शान्ता नेपालीको पीडा पनि उस्तै छ। उनको श्रीमान्को मृत्यु भएको ४ वर्ष भयो। उनीमाथि चार छोरोछोरीको पालनपोषणको जिम्मेरीवारी आइलाग्यो। श्रीमान् निर्प नेपालीको मृत्युपछि उनी माइतीमै माइतीघर बाजुरामा बस्दै आएकी छन्। उनले भनिन्, ‘जेठी छोरी अपांग छे, मेरो तल्लो पेट दुख्ने समस्या छ। उपचार गर्न पाएको छैन। अलिअलि जोहो गरेर छोराछोरीलाई खुवाउँदा गाउँका मान्छेहरू ‘यसले के काम गरेर ल्याई, कसले दियो?’ भन्दै नानाथरी कुरा गर्न थाल्छन्।’
त्यस्तै, जला सोमबार नगरपालिकाले एकल महिलाहरूलाई वितरण गरेको खाद्यान्न लिन नगरपालिका पुगेकी थिइन्। उनले खाद्यान्न वितरणभन्दा पनि आफूहरूलाई सीप सिकाएर परिवार पाल्ने र समाजमा सम्मान पूर्वक बाँच्ने वातावरण मिलाइदिन आग्रह गरिन्। उनको पनि पति बिछोडिनुको पीडा एकातिर छ। भने, अर्कोतिर परिवार र समाजबाट दुव्र्यवहार खेप्नुपर्छ।
यस्ता गतिविधिले एकल महिलाहरूको जीवन कठिन बन्न पुगेको एकल महिला तथा महिला अधिकारकर्मी दूतकला बिष्टले बताइन्। उनले भनिन्, ‘एकल महिलाप्रति समाजमा विद्यमान कूरीतिको अन्त्य, विभेदपूर्ण व्यवहार, संस्कार जरैदेखि उन्मूलन हुनुपर्छ। धार्मिक, साँस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक दृष्टिले कोही एकल महिला पीडित बनिरहेकै छन्। यसको अन्त्य गर्न सरकार कठोर बन्नुपर्छ।’
विपन्न तथा एकल महिलाहरूलाई नगरपालिकाबाट बेलाबेलामा राहत तथा खाद्यान्न वितरण गर्दैे आएको साँफेबगर नगरपालिकाका उपप्रमुख विमलादेवी बुड्थापाले बताइन्। साँफेबगर नगरपालिकामा ८ सय ९५ जना एकल महिला छन्। तीमध्ये ६० वर्षमुनिका ६ सय र ६० वर्षमाथिका २ सय ९५ छन्।