नयाँ वर्षमा नेपथ्य गुञ्जिने
काठमाडौं : चर्चित सांगीतिक समूह ‘नेपथ्य’ फेरि आफ्ना दर्शक श्रोताहरूमाझ गुञ्जिने भएको छ। यसको प्रारम्भ हुँदैछ, पूर्वको उज्यालो सहर दमकबाट। आगामी वैशाख १ गते अर्थात् नयाँ वर्षका दिनलाई संगीतमय बनाउन नेपथ्य झापाको फराकिलो मैदानमा गुञ्जिन लागेको हो।
दमकको ‘इँटाभट्टा स्कुल’ अर्थात् सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्य गुञ्जिन लागेको हो। यसअघि नेपथ्यले चार हजारभन्दा बढी दर्शकको उपस्थितिमा यही मैदानमा आफूलाई उभ्याएको थियो। विद्यालयको खुला आकाशको प्रांगणमा प्रस्तुत हुनुअघि दमकमा तीनवटा कन्सर्ट सिनेमा हलमा आयोजना गरिएको थियो। पछिल्लो खुला कन्सर्टका लागि पाँच वटा ट्रकमा काठमाडौंदेखि नै आधुनिक मञ्चदेखि ध्वनि प्रणालीसमेत त्यहाँ पुर्याइएको थियो।
‘संगीतप्रेमी दर्शकहरूका निम्ति हामीले यसपालि पनि नेपथ्यलाई उत्तिकै भव्यतापूर्वक उभ्याउने तयारी गरेका छौं’, ब्यान्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपथ्यप्रेमीलाई नयाँपन महसुस गराउने थप जमर्को गरेका छौं।’ पछिल्लो कन्सर्टका बेला धरान, विराटनगर हुँदै इलामसम्मका दर्शकले त्यहाँ उपस्थिति जनाएका थिए। त्यही सहरमा नेपथ्यको पाँचौं प्रस्तुति हुन लागेको हो।
कोरोना भाइरसको कठोर पञ्जा विश्वभर फैलाउनुअघि नेपथ्यले आफूलाई राजधानी काठमाडौंको भृकुटीमण्डपमा उपस्थित गराएको थियो। २०७६ फागुन १७ गते एउटा गाउँले विद्यालयको पुनर्निर्माणका लागि कन्सर्ट आयोजना गरिएको थियो। त्यो कोरोना महामारीअघि नेपथ्यको अन्तिम प्रस्तुति थियो।
यसपटक नेपथ्य कार्यक्रम दुई वर्षपछि हुन लागेको हो। ‘महामारीको सम्पूर्ण समय कास्कीको अनकन्टार डाँडामा रहेको आफ्नो गोठमा कृषक भएर बिताएँ’, नेपथ्यका अगुवा एवं प्रमुख गायक अमृत गुरुङ भन्छन् ।