रौतामाईमा जग्गादाताको नामबाट विद्यालय
उदयपुर : उदयपुरको रौतामाई गाउँपालिकामा पहिलो पटक जग्गादाताको नामबाट सामुदायिक विद्यालयको नामाकरण गरिएको छ। जग्गादाता स्वर्गिय धर्मध्वज थापाका परिवारले गाउँपालिकाले व्यवस्था गरेको शिक्षा सम्बन्धि ऐन, नियमावली तथा मापदण्ड पूरा गरेसँगै वडा नं ८ स्थित आधारभूत विद्यालय कोप्चेको नाम परिवर्तन भएको हो।
थापा परिवारले २५ लाख मुल्य बराबरको ८ रोपनी १ आना १ पैसा जग्गा विद्यालयका नाममा निःशुल्क पास गरिदिएकाले नाम परिवर्तन गरिएको प्रधानाध्यापक बेदबहादुर खत्रीले बताए। शिक्षा ऐनमा आधारभूत तहको विद्यालयलाई २० लाखमाथि रकम वा सम्पती सहयोग गर्दा दाताले चाहेको नामबाट नामकरण हुने व्यवस्था छ।
सोही व्यवस्थालाई टेकेर विद्यालय व्यवस्थापन समितिले नाम परिवर्तनको निर्णयसहित गाउँपालिकामा निवेदन दिएको थियो। विद्यालयको निर्णय, त्यसपछिका प्राविधिक पंक्ष अनुसारका तोकिएका मापदण्ड र स्थलगत अवस्था बुझ्दा नाम परिवर्तत उपयुक्त देखिएकाले कार्यपालिकाको नामपरिवर्तन गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए। उनले भने, ‘विद्यालयको नाम परिवर्तनका लागि आवश्यक पर्ने डकुमेन्टहरु पूरा गरेकाले कार्यपालिकाको २०७८ फागुन १० गते बसेको बैठकले जग्गादाता ‘धर्मध्वज थापा आधारभूत विद्यालय कोप्चे’ नामाकरण गर्ने निर्णय गरिएको हो।’
निर्णय कार्यान्वयनका लागि गाउँपालिकाका अध्यक्ष खड्काले एक समारोहका बीच परिवर्तित नामको उद्घाटन गरेका छन्। विद्यालय स्थापनाका लागि थापा परिवारले २०४५ सालमा १ रोपनी जग्गा उपलब्ध गराएको थियो। क्रमश विद्यालयको स्तर बृद्धी हुँदै जाँदा संरचना निर्माणमा जग्गा अपुग भएपछि नाम परिवर्तन गर्ने शर्तमा थप जग्गा उपलब्ध गराएको जग्गादाताका छोरा शंकरबहादुर थापाले बताए।
उनले भने, ‘पास गरिदिएको एक रोपनी वाहेक विद्यालयले अस्थायीरुपमा उपभोग गरेको जग्गा थापा परिवारकै नाममा रहेकाले विपन्न परिवारको शिक्षा क्षेत्रमा सुनिश्चित गर्न सबै दान गरिएको हो।’ थपे, ‘खासगरी कोप्चे क्षेत्रमा गरिव, विपन्न परिवारको बस्ने गरेकाले त्यस्ता बालबालिका आर्थिक अवस्थाका कारण अध्ययनका लागि वाहिर पठाउने अवस्था नरहेकाले उनीहरुको उज्वल भविष्यका लागि शिक्षा क्षेत्रमा लगानी गरेका हौ।’
स्वर्गिय थापा विद्यालयका संस्थापक सदस्य हुन्। २०४१ सालमा स्थापना भएको उक्त विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले २०४५ फागुन २ गते सम्बन्धन दिएको थियो। प्राथामिक तहबाट सुरु भएको उक्त विद्यालयलाई २०६४ सालमा निम्न माध्यमिक तह सञ्चालन गर्ने अनुमति लिइएको अध्यक्ष रामबहादुर लायो मगर बताउँछन्। थापा परिवारले विद्यालय परिषरमा स्वर्गिय थापाको शालिकसमेत निर्माण गरेको छ।